शनिबार, १३ जुन २०२६

फिफा विश्वकपः मध्यरातमा स्विट्जरल्यान्ड र कतार आमने–सामने

News Image
• • •

शनिबार मध्यराति सान्ता क्लारा शहरस्थित लिभाइज रंगशालामा कतार र स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’को खेलमा एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समयअनुसार राती १२ः४५ बजे हुनेछ।

विश्वकपको दोस्रो अनुभव लिइरहेको कतारले यसअघि सन् २०२२ मा आयोजक भएर विश्वकप खेल्ने सौभाग्य प्राप्त गरेको थियो। जतिबेला कतार पहिलो चरणमै सीमित भएको थियो।

दी मरुन्सका रुपमा परिचित कतारले गत अक्टोबरमा संयुक्त अरब इमिरेट्स (युएई)माथि २–१ को जित हासिल गरेसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो। त्यसयता कतारले ६ अन्तर्राष्ट्रिय खेल खेलेको छ। तर, टोलीले जित निकाल्न सकेको छैन।

गत मेमा कतारले मैत्रीपूर्ण खेलमा रिपब्लिक अफ आयरल्यान्डसँग १–० को पराजय बेहोर्यो। त्यसपछि युलियन लोप्तेजीको नेतृत्वमा रहेको कतारले विश्वकपअघिको अन्तिम वार्मअप खेलमा एल साल्भाडोरसँग पनि १–१ को बराबरीमा चित्त बुझाउनु पर्यो। त्यसैले कतार विश्वकपका लागि पूर्ण रुपमा तयार छ भनेर अहिले नै भनिहाल्न हतार हुनेछ। यसका लागि स्विट्जरल्यान्डसँगको खेल कुर्नैपर्ने हुन्छ।

समूह ‘बी’ त्यति सजिलो छैन। यो समूहका अन्य टोलीहरु हुन् सह–आयोजक क्यानाडा र बोस्निया हर्जोगोभिना। त्यसैले पहिलो खेलमा जसरी पनि जित निकाल्दै कतार नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवित राख्न चाहन्छ। किनभने यसपली तेस्रो स्थानमा रहने टोलीलाई पनि ‘उत्कृष्ट सेकेन्ड रनर्स–अप’का आधारमा नकआउट चरण पुग्ने अवसर छ।

फेरि स्विट्जरल्यान्डविरुद्ध कतार ‘हेड टु हेड’मा पनि अगाडि छ। यी दुई एकैपटक मात्र अन्तर्राष्ट्रिय मञ्चमा आमने–सामने भएका छन्। सन् २०१८ मा कतारले मैत्रीपूर्ण खेलमा स्विट्जरल्यान्डमाथि १–० को साँघूरो जित हासिल गरेको थियो।

फिफा वरीयताको १९औं स्थानमा रहेको स्विट्जरल्यान्ड विश्वकपको ‘रेगुलर’ टोली हो। अमेरिका विश्वकप स्विट्जरल्यान्डको १३औं अनुभव हो। स्विट्जरल्यान्ड पछिल्लो तीन संस्करण अन्तिम १६ बाट बाहिरिएको थियो। यसपाली समूह चरणबाटै बाहिरिने हो भने यो फुटबल सरोकारवालाहरूका लागि आश्चर्यको विषय हुनेछ।

स्विट्जरल्यान्डले आफ्नो विश्वकप इतिहासमा बढीमा अन्तिम आठसम्मको यात्रा गरेको छ। सन् १९३४, १९३८ र १९५४ मा स्विट्जरल्यान्ड क्वार्टरफाइनलसम्म पुगेको थियो। अनि सन् २०१० पछि टोली समूह चरणबाट बाहिरिएको छैन। जसको मतलब स्विट्जरल्यान्डलाई केही ‘साइकोलोजिकल’ दबाब अवश्य छ।

मुरात याकिनको नेतृत्वमा रहेको स्विट्जरल्यान्डले विश्वकपअघि अस्ट्रेलियासँग १–१ को बराबरी खेलेको थियो। त्यसअघि मे अन्तिममा टोलीले कतारको एसियाली प्रतिद्वन्द्वी जोर्डनलाई ४–१ ले हराएको थियो।

पछिल्ला १४ खेलमा टोलीले एकै खेलमा मात्र पराजय बेहोर्नु परेको छ। त्यो पनि बलियो जर्मनीसँग। यसको मतलब स्विट्जरल्यान्ड आफ्नो बलियो लयका साथ अमेरिका आएको छ। टोली कतारको चुनौतीपछि बोस्निया र क्यानडालाई हराउँदै आफ्नो यात्रालाई अगाडि बढाउन चाहन्छ।

अक्राम अफिफ, युसुफ अब्दुरिसाग र एड्मिल्सन जुनियर कतारको ‘फ्रन्ट लाइन अट्याकर’ हुन् । एल साल्भाडोरविरुद्ध पनि लोप्तेगीले ४–३–३ फर्मेशनमा यिनै फरवार्डलाई पहिलो रोजाईमा खेलाएका थिए। स्विट्जरल्यान्डविरुद्ध पनि कतार यही लाइनअपमा उत्रिने अनुमान गर्न सकिन्छ।

अफिफले आफ्नो राष्ट्रका लागि ३९ गोल गरेका छन्। एड्मिल्सन भने पहिलो गोलको खोजीमा छन्।

स्विट्जरल्यान्डको कुरा गर्ने हो भने मुख्य प्रशिक्षक याकिनसँग फरवार्ड लाइनमा विकल्पहरु धेरै छन्। ब्रील एम्बोलोले राष्ट्रिय जर्सीमा २४ गोल गरेका छन्। यस विश्वकपमा सेन्ट्रल फरवार्डको जिम्मेवारी एम्बोलोमा हुनेछ। यद्यपि बर्नलीका जेकी आमदौनीले दोस्रो हाफको मध्यतिर एम्बोलोलाई प्रतिस्थापन गर्ने पनि अनुमान गरिएको छ।

मानुवेल अकान्जी, रिकार्डो रोड्रिगेज अनि ग्रानिट जाकाजस्ता खेलाडीको उपस्थितिले स्विट्जरल्यान्डको पहिलो रोजाई एकदमै बलियो छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!