बिहिबार, ०९ जुलाई २०२६

अर्जेन्टिना–इजिप्ट खेल विवादबारे फिफा रेफ्री प्रमुखले खोले मुखः रेफ्रीको निष्ठामा प्रश्न उठाउनु गलत

News Image
• • •

फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले सन् २०२६ को विश्वकपमा म्याच अफिसियलहरूको स्वतन्त्रताको बचाउ गरेका छन्।

प्रतियोगिताका केही निर्णयहरूलाई लिएर विवाद बढिरहेका बेला कोलिनाले रेफ्रीहरू कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका हुन्। विशेष गरी अर्जेन्टिना र इजिप्टबीचको ‘राउन्ड अफ १६’ को खेलमा भएका केही निर्णयहरूलाई लिएर विवाद उत्पन्न भएको थियो।

उक्त खेलपछि फिफासँग कुरा गर्दै कोलिनाले रेफ्री टोलीको निर्णयको समर्थन गरे। उनले भने, ‘समग्रमा हामी खुसी छौं। छोटो समयमा धेरै खेलहरू हुँदा केही कुराहरू सोचेजस्तो नहुनु सामान्य हो। तर हाम्रा रेफ्रीहरू अर्को खेलका लागि अझ कडा परिश्रम गर्न तयार छन्।’

इजिप्ट र अर्जेन्टिनाबीचको खेलमा इजिप्टले २–० को अग्रता लिने अवसर पाएको थियो, तर भीएआरको सहयोगमा रेफ्रीले उक्त गोललाई रद्द गरिदिएका थिए। रिभ्युमा इजिप्टका मिडफिल्डर मरवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएको देखिएको थियो।

यसबारे स्पष्ट पार्दै कोलिनाले भने, ‘खुट्टामा कुल्चिनु फाउल हो। यदि रेफ्रीले मैदानमा त्यो देखेनन् भने भीएआरले हस्तक्षेप गर्न सक्छ। हामीले खेलका नियमहरूलाई एकरूपताका साथ लागू गरेका छौं।’

कोलिनाले रेफ्रीहरूको निष्ठामा प्रश्न उठाउनु गलत भएको बताए। उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत रेफ्रीको काममा कुनै हस्तक्षेप नगर्ने दाबी गरे। ‘कसैले पनि फिफा रेफ्रीहरू प्रभावित हुन्छन् भन्न सक्दैन, फिफा अध्यक्षले समेत हामीलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न विश्वास गर्नुभएको छ,‘ उनले थपे।

अमेरिकी खेलाडी फोलारिन बालोगुनको रेड कार्ड पछिको निलम्बन फिफाले फिर्ता लिएको र त्यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो राखेको भन्ने चर्चाका बीच कोलिनाले रेफ्री विभाग पूर्ण रूपमा स्वतन्त्र रहेको दोहोर्‍याए।

रोमाञ्चक खेल र विवाद

इजिप्टका प्रशिक्षक होसाम हसनले फिफाले ‘फेयर प्ले’ को पालना नगरेको र अर्जेन्टिनालाई पक्षपोषण गरेको आरोप लगाएका थिए। उक्त खेलमा इजिप्ट २–० ले अगाडि रहे पनि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो। अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरो, लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याएका थिए।

कोलिनाले रेफ्रीहरू विरुद्ध लगाइने आधारहीन आरोपले उनीहरू र उनीहरूको परिवारलाई मानसिक तनाव र खतरा पैदा गर्ने भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेका छन्।

४८ टोली सहभागी यस बृहत् विश्वकपमा रेफ्रीको स्तर र निष्पक्षता कायम राख्न फिफा प्रतिबद्ध रहेको उनले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!