बिहिबार, १६ जुलाई २०२६

सेमिफाइनल जितेको अर्जेन्टिना ‘पर्न सक्छ’ फिफाको कारबाहीमा

News Image
• • •

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेका कारण अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सो र टोलीमाथि फिफाले कारबाही गर्न सक्ने सम्भावना देखिएको छ।

द एथलेटिकका अनुसार अमेरिकाको एटलान्टामा भएको खेलपछि लो सेल्सोले ‘माल्भिनास अर्थात फकल्याण्ड अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गरेको छ। जुन दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो।

लो सेल्सोले उक्त ब्यानर डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर केहीबेर समातेका थिए भने पछि मैदानमै राखेका थिए। उक्त टापुमाथिको सार्वभौमिकताको विषयमा अर्जेन्टिना र बेलायतबीच दशकौंदेखि विवाद रहँदै आएको छ।

अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड र फिफाको नियमअनुसार खेलका क्रममा वा त्यससँग सम्बन्धित गतिविधिमा राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश, नारा, झण्डा वा प्रतीक प्रदर्शन गर्न पाइँदैन। नियम उल्लङ्घन भएमा सम्बन्धित खेलाडी, टोली वा राष्ट्रिय फुटबल संघलाई प्रतियोगिता आयोजक वा फिफाले कारबाही गर्न सक्ने व्यवस्था छ।

सन् १९८२ मा फकल्याण्ड टापुको नियन्त्रणलाई लिएर बेलायत र अर्जेन्टिनाबीच युद्ध भएको थियो। करिब दुई महिनासम्म चलेको उक्त युद्धमा बेलायत विजयी भएको थियो भने दुवै पक्षका सयौं सैनिकको ज्यान गएको थियो।

यसैबीच अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समार्फत ‘फकल्याण्ड अर्जेन्टिनाकै हो। उनीहरूले ब्यानर स्टेडियममा लैजान रोक लगाए, तर त्यो हाम्रो रगत र हृदयमा छ’ भन्दै लो सेल्सोको समर्थन गरेकी छन्।

उता खेलमा भने अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले हराएर फाइनलमा स्थान सुरक्षित गरेको छ। 

अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।
— एएनआई

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!