बुधबार, १२ अगस्ट २०२६

जवानीमा ठेकेदार! बुढेशकालमा आश्रमको बास

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
• • •

आजभन्दा करिब ५० वर्षअघि विपुललाई लाग्थ्यो—जिन्दगी सुन्दर छ। साथमा श्रीमती थिइन्, चार छोराछोरी थिए।

उनी निर्माण व्यवसायमा थिए। घरमा कुनै कुराको कमी थिएन। आवश्यकता पूरा गर्न पुग्ने सबैथोक थियो। उनलाई लाग्थ्यो, जिन्दगी अब यसैगरी चलिरहनेछ।

तर, जिन्दगी सधैं आफूले सोचेझैं कहाँ चल्दोरहेछ र?

२०६२–६३ को जनयुद्धले उनको जीवनमा पनि ठूलो उथलपुथल ल्यायो। वर्षौं लगाएर बनाएको संसार विस्तारै भत्किँदै गयो। परिवारको सुरक्षाका लागि उनले श्रीमती र छोराछोरीलाई साथमा लिएर काठमाडौं पसे। 

यहीँ बसेर फेरि काम सुरु गरे। दुःख गरे, पसिना बगाए र छोराछोरीको भविष्य बनाउन आफूलाई समर्पित गरे। उनीहरूलाई पढाए, हुर्काए र आफ्नो जिम्मेवारी पूरा गरे।

समय बित्दै गयो। छोराछोरी आ–आफ्नो बाटो लागे। कसैको आफ्नै संसार बन्यो, कोही टाढिए। 

कुनै समय चार छोराछोरी र श्रीमतीले भरिएको उनको घर विस्तारै सुनसान हुँदै गयो। अन्ततः बुढ्यौलीमा विपुल र उनकी श्रीमती मात्र एकअर्काको सहारा बने।

उमेरले शरीर कमजोर बनाउँदै लगेको थियो, तर मनमा एउटा भरोसा थियो—‘जीवनको अन्तिम यात्रामा श्रीमती त साथमा छिन्।’

तर नियतिले त्यो सहारा पनि खोस्यो। श्रीमतीले पनि उनलाई छोडेर गइन्।

झन्डै आठ दशकको उमेरमा पुगेका विपुलले श्रीमती मात्र गुमाएका छैनन्, आफ्ना सन्तानको विछोडको पीडा पनि बोकेर हिँडिरहेका छन्। 

केही वर्षअघि मात्रै उनले जेठो छोरालाई पनि गुमाए। एउटा बुबाका लागि आफ्नै सन्तानको मृत्युजत्तिको पीडा सायद अर्को के नै हुन सक्छ र?

एकपछि अर्को गर्दै आफन्त गुमाउँदै जाँदा विपुल जीवनसँगै थाक्दै गए। त्यही थाकेकाे मन लिएर अहिले विपुल मानव सेवा आश्रममा पुगेका छन्। 

कुनै समय आफ्नै घर थियो, आफ्नै व्यवसाय थियाे। साथमा श्रीमती थिइन्। तर आज उनै विपुल आश्रममा बस्न बाध्य छन्। उनी भन्छन्, ‘जिन्दगी यस्तै रहेछ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!