शुक्रबार, १७ जुलाई २०२६

कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

सन् २०१७। जाडोको समय। रातको ८ बजे।

दावाको मोबाइलमा फोन बज्छ। फोन उठाउन नपाउँदै उताबाट आमाको अत्तालिएको स्वर सुनिन्छ।

‘बाबु, कहाँ छस्? छिट्टै घर आइज्। आज रक्सी नखानू है, मेरो मन धेरै डराइरहेको छ।’ 

दावाले आमालाई ढाडस दिँदै भने, ‘चिन्ता नगर्नू आमा। मैले रक्सी खाएको छैन। म काममै छु।’

छाेराकाे विश्वास गरेर आमाले फाेन राखिन्। तर साथीको जन्मदिन मनाउन ठमेल पुगेका दावाले रक्सी पिउन थाले। 

एक–दुई प्याकबाट सुरु भएको रक्सी यति धेरै भयो कि उनले आफ्नै शरीर सम्हाल्न सकेनन्। 

‘म यति धेरै मातिएको थिएँ कि एक जनालाई दुई जना देख्न थालेको थिएँ। अहिले पनि त्यो रात सम्झिँदा डर लाग्छ।’

करिब दुई घण्टा रमाइलो गरेपछि रातको १० बजेतिर उनीहरू घर फर्किन ठमेलबाट निस्किए। 

मोटरसाइकल दावाले चलाइरहेका थिए। पछाडि दुई जना साथी थिए। तीनै जना रक्सीले लठ्ठ थिए।

साथीहरूसँग हाँस्दै–ठट्टा गर्दै मोटरसाइकल गुडिरहेको थियो। तर केही क्षणमै दावाको आँखाअगाडि अचानक अन्धकार छायो।

त्यसपछि के भयो, उनलाई केही सम्झना छैन।

१८ दिनपछि...

दावाको आँखा ग्राण्डी अस्पतालको आईसीयूमा खुल्यो।

झन्डै तीन सातापछि कोमाबाट ब्युँझिएका उनलाई देखेर भाउजूको आँखामा खुसीका आँसु थिए। 

भाउजूले साेध्छिन्, ‘के खानुहुन्छ बाबु?’ दावाको पहिलो जवाफ थियो, ‘एक प्याक र एउटा चुरोट।’

त्यतिबेला रक्सी उनको बानी मात्र थिएन, जीवनको अभिन्न हिस्सा बनिसकेको थियो। मृत्युको मुखबाट फर्किएर पनि उनको मनले रक्सी नै खोजिरहेको थियो।

१८ दिनपछि कोमाबाट फर्किएका दावालाई आफू अस्पतालमा भर्ना भएको पनि थाहै थिएन। 

परिवारबाट उनले आफूहरूको दुर्घटना भएको र १८ दिनपछि आफू होशमा आएको कुरा थाहा पाए। ‘म अस्पतालमा रहेछु। मेराे अरू साथीहरू कहाँ छन्?’, परिवारसँग उनकाे पहिलाे प्रश्न थियाे त्याे। 

परिवार चुप लागिरह्यो। तर उनले बारम्बार सोधिरहे।

अन्ततः सत्य लुकाउन सकिएन।

दुर्घटनामा उनको बाल्यकालको सबैभन्दा मिल्ने साथीको मृत्यु भएको रहेछ।

‘मैले बाइक चलाइरहेको थिएँ। तर दुर्घटना कसरी भयो, आजसम्म थाहा छैन। म गम्भीर घाइते भएँ। एउटा साथी बाँचे, तर मेरो सबैभन्दा मिल्ने साथी त्यही रात सधैंका लागि बिदा भयो।’

साथीको मृत्यु भएको खबर सुन्दा दावालाई आफ्नै शरीर चिसिएको महसुस भयो।

उनी भन्छन्, ‘त्यो कुरा सुनेपछि केही सोच्न सकिनँ। कसैले मजाक गरिरहेको जस्तो लाग्यो। तर त्यो त कठोर सत्य रहेछ।’

आज पनि उनलाई लाग्छ,  ‘म मरेको भए हुन्थ्यो, मेरो साथी बाँचेको भए।’

साथी एक्लो छोरा थिए। दावाले कहिलेकाहीँ सोच्छन्, ‘मेरी आमाका चार छोरा हुनुहुन्थ्यो, मेरो कारण उहाँ दुई पटक बेहोस हुनुभयो। साथीकाे आमाको अवस्था कस्तो भयो होला? म कल्पना पनि गर्न सक्दिनँ।’

दुर्घटनापछि उनको अवस्था अत्यन्तै गम्भीर थियो। दुई अस्पतालले उपचार गर्न नसक्ने भन्दै फर्काइदिएका थिए रे!

अन्ततः ग्राण्डी अस्पतालमा भर्ना गरियो।

डाक्टरले परिवारलाई पहिले नै भनेका थिए, ‘हामी सक्दो प्रयास गर्छौं, तर केही भन्न सकिँदैन।’

दावाको दिमागमा रगत जमेको थियो। शल्यक्रिया गर्नुपर्ने सम्भावना थियो। तर औषधिबाटै अवस्था सुधारियो।

तीन महिना अस्पताल बसेपछि उनी शारीरिक रूपमा निको भए।

तर मनको घाउ भने कहिल्यै निको भएन।

000

साथीको मृत्युले दुई परिवारबीच सम्बन्ध टुट्यो। साथीको परिवारले दावाविरुद्ध मुद्दा दायर गर्‍यो।

उनी जेल परे।

उनको सवारी चालक अनुमतिपत्र पनि रद्द भयो।

केही वर्ष जेल बसेपछि उनी भारत काम गर्न गए। एक वर्षपछि नेपाल फर्किए र त्यसपछि रोजगारीका लागि विदेश पुगे।

उनी भन्छन्, ‘सानै उमेरमा धेरै कुरा भोगें। अहिले आएर मात्रै आफ्ना गल्तीहरू बुझ्दैछु।’

रक्सीले खाेसेकाे सपना

सानो हुँदा दावाले बुबालाई सुटकेसभरि पैसा बोकेको देख्थे।

उत्सुकता हुँदै उनले बुबासँग साेध्थे, ‘यत्रो पैसा कहाँबाट आउँछ?’  

बुबाको जवाफ हुन्थ्यो,  ‘व्यापार हो छोरा।’ 

त्यही उत्तरले उनको मनमा व्यापारी बन्ने सपना रोपेको थियो।

उनले सानो पसल पनि खोले। तर त्यो टिकेन। किनकि उनी रक्सीकाे लतमा फसिसकेका थिए। रक्सीले नै तुहायाे उनकाे व्यापारी बन्ने सपना। 

000

दावाले १५ वर्षको उमेरमा पहिलो पटक चुरोट ताने। त्यसपछि साथीहरूको संगतमा रक्सी पनि पिउन थाले।

बिस्तारै रक्सी यस्तो लत बन्यो कि अरूले बिहान चिया पिउँदा उनी बिहानै रक्सी पिउँथे।

‘हाम्रो समुदायमा रक्सी संस्कृतिको हिस्सा हो। तर मैले त्यसको दुरुपयोग गरेँ।’

रक्सी नखाँदा उनी शान्त स्वभावका थिए।

तर रक्सी पिएपछि झगडा गर्थे, साथीहरूलाई कुट्थे, घरमा तोडफोड गर्थे।

‘रक्सीले मेरो उग्र रुप देखाउँथ्यो। रक्सी नखाँदा नबोल्ने म रक्सी खाएपछि निहुँ खोजेर झगडा गथें’, दावाको अनुभव छ, ‘रक्सीले मान्छेलाई नकारात्मक बनाउँछ।’

उनले केही समय ड्रग्स पनि प्रयोग गरे।

तर ड्रग्सको असरबारे पहिले नै सुनेका कारण त्यसलाई कहिल्यै लत बन्न दिएनन्। तर रक्सी छोड्न सकेनन्। 

सात वर्षसम्म रक्सीमा रमाएका उनलाई अहिले त्यो जीवन ‘नर्क’ जस्तो लाग्छ। पढाइ छुट्यो, साथी गुम्यो अनि समाजले धिक्कार्यो।

‘समाजले हामीलाई ट्वाके भन्थ्याे। राम्रो कहिल्यै सोचेन। यसको पीडा मलाई भन्दा धेरै परिवारलाई हुन्थ्यो’, दावाले आफ्नो विगत सुनाए। 

सानै उमेरमा सबथोक भोगिसकेका दावालाई अहिले जीवन ‘खाली पाना’जस्तो लाग्छ। 

‘जिन्दगी भनेको खाली पाना रहेछ, जहाँ आफूले अक्षरले लेखेर भर्नुपर्ने रहिछ। त्यो खाली पानी भरिएपछि आफूले गरेको गल्तीहरू थाहा हुँदो रहिछ’, उनी भन्छन्, ‘त्यसैले हाम्रो हातमा छ, हामीले हाम्रो जीवनलाई कस्तो बनाउने।’

रक्सीकाे साथीलाई गुमाएपछि उनले अन्ततः रक्सी छोड्ने निर्णय गरे।

अहिले चार वर्षदेखि उनले रक्सी छाेएका पनि छैनन्। 

हाल उनी बूढानीलकण्ठस्थित जीवनदीप सुधार केन्द्रमा कार्यरत छन्।

त्यहाँ उनी आफैंजस्ता लतमा फसेका मानिसहरूलाई नयाँ जीवनतर्फ डोर्याइरहेका छन्।

‘उहाँहरूलाई देख्दा आफ्नो विगत सम्झन्छु। त्यसैले उहाँहरूलाई सुधार्ने प्रयास गर्छु। म फेरि त्यो पुरानो जीवनमा फर्किन चाहन्नँ’, उनी भन्छन्, ‘अब म मेराे सपना पूरा गर्न अगाडि बढ्नेछु।’ 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!