आइतबार, ०७ जुन २०२६

सडकले हुर्काएको विकास...

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

रात छिपिँदै थियो। ठमेलको चहलपहल उस्तै। दिनभन्दा रातमा झुम्ने ठमेल विकासकाे लागि सुनसान भइदियाे। 

दिदीको साथबाट छुटेका सात वर्षका विकासले घर जाने बाटो ठम्याउन सकेनन्। उनी अलपत्र परे। मनमा डर पलायो। 

दुई दिदीको साथमा व्यापार गर्न ठमेल निस्किएका विकास त्यतै हराए। कहाँ जाने? विकल्प केही थिएन। 

जता आगो बलिरहेको देखे, उनी त्यतैतिर लम्किए। 

‘रातमा ट्याक्सी र रिक्सा चलाउनेहरूले आगो बाल्नुहुन्थ्यो। मपनि त्यतै भुलिएँ’, उनी भन्छन्, ‘धन्न! ठमेलमा मान्छे चाहिँ भइरहन्छ।’

दिनभरि सडकमा भौतारिने अनि रात आगो तापेर बिताउने उनको दैनिकीजस्तै बन्यो। उनका लागि घर बन्यो, ठमेल सडक। 

सडकमा रुमलिन थालेको चार–पाँच दिन हुँदैथियो। विकासको दोस्ती सडक बालबालिकाहरूसँग भयो। 

तीनै बालबालिकाहरूसँग दिनभरि गुच्चा खेलेर रातमा सँगै सुत्ने उनको आदत भइदियो। 

आफूभन्दा साना र ठुलालाई साथी बनाएका थिए विकासले। उनीभन्दा विल्कुलै फरक थियो बानी–व्यवहार पनि। 

साथीहरू गाँजा तानेर हिँड्थे। उनी तिनीहरूलाई पछ्याएर हिँड्थे। उनीहरू साथी बनेको महिनौं दिन बित्यो। विकासले चुरोट तान्न थाले।

त्यो हुँदाहुँदै उनले पनि गाँजा खाइदिन सुरु भए। नयाँ साथी बनाएपछि उनको दिनचर्या पनि बदलियो। 

दिनभरि पौडी खेल्ने, बोरा बोकेर हिँड्ने र रातमा त्यही बोरा ओढेर सुत्ने उनकोे दैनिकी बन्यो। त्यसैमा खुसी थिए, विकास पनि। 

सडकमा साथीहरू भेटिएपछि उनले घर–परिवारै बिर्सिए। उनलाई घर फर्किने मनै भएन। ‘घर पनि घरजस्तो थिएन’, उनले भने, ‘आमा नभएको घर खल्लो हुँदो रहिछ।’

सानैमा आमाले छोडेपछि भाइ र विकासलाई दुई दिदीहरूले हुर्काइन्। बुबा दिनभरि रक्सीमा भुल्लिन्थे। दुई भाइलाई दिदीहरूले नै स्याहारिन्। 

दुई दिदीहरूले ठमेलमा काम गर्थे। ‘लकेट’को व्यापार थियो उनीहरूको। 

‘दिदीहरूले विदेशीहरूले लगाउने माला बेच्नुहुन्थ्यो। त्यसैले पसलमा मान्छे भइरहनुहुन्थ्यो’, उनी सम्झन्छन्, ‘दुई छाकको लागि समस्या थिएन।’

कलिलो उमेरमै जिम्मेवारी उठाएका दिदीहरूले जसोतसो घरको खर्च धानिरहेका थिए। 

कामका लागि बिहान घरबाट निस्किने उनीहरू बेलुका मात्र घर फर्किन्थे, दुई भाइलाई साथैमा बोकेर। 

पिउने बानी परिसकेका बुबाको लागि रक्सी सबथोक थियो। उनी दिनभरि घर बाहिर–बाहिरै रक्सी पिएर हिँड्थे। छोराहरूलाई स्याहार्ने त कुरै थिएन। 

बुबाको कुनै भर नभएपछि दिदीहरूले नै दुई भाइहरूलाई आफैंसित बोकेर ठमेल पुग्थे, ललितपुरको पाटनबाट। 

बिहान काममा जाने अनि बेलुका घर फर्किने रुटिन बनेको थियो विकासको पनि, दुई दिदीहरूसँगै।

ठमेलबाट घर फर्किनेक्रममा नै उनी अलगिएका थिए दिदीहरूको साथबाट। 

समाइरहेको दिदीको हात कसरी फुस्कियो उसैलाई पत्तो भएन। तर, जेहनतेहन उनी नयाँ साथीहरूसँग रमाउन थालिसकेका थिए। 

विकास घरबाट हराएको तीन महिना भइसकेको थियो। उनको खोजीमा दिदीहरू भने भौतारिरहेका थिए। 

एकदिन विकास ‘लैनचौर’को मैदानमा गुच्चा लेखिरहेका थिए। त्यही उनलाई दिदीहरूले भेटे। अनि समातेर घरमा ल्याए। 

महिनौंपछि हराएको भाइलाई भेटेर खुसी थिए दिदीहरू तर उत्तिकै दुःखी थिए विकास। 

घरमा पुगेपछि उनलाई साथीहरूको याद आयो। सडकमा डुलेर चुरोट तानेको हिँडेको कुराले झनै पिरल्यो। 

चुरोट तान्ने बानी भइसकेका विकासले घरमा पनि खान छोडेनन्। उनी लुकेरै भएपनि चुरोट सल्काउँथे। तर, सडकमा खुलेआम हिँड्ने आदत भएका विकासलाई घरमा बस्दा निस्सासिएको महसुस भयो। 

उनमा सडकमा फर्किने रहर जाग्यो। ‘घरमा बस्नै मन लागेन। एकदमै गाह्रो महसुस भयो’, उनले सुनाए, ‘साथीहरूसँग रमाइलो मानेर चुरोट खाँदै हिँडेको कुरा धेरै सम्झिएँ।’

सडकमा फर्किने सोचिरहेका विकासलाई ठमेल जाने बाटो थाह थिएन। तर, यति थाह थियो, ‘लगनखेलबाट गाडी चेढेपछि रत्नपार्क पुगिन्छ–त्यहाँबाट रानीपोखरी अनि रानी पोखरीबाट त ठमेल पुगिहालिन्छ’। 

त्यही सोचले उनलाई घरबाट भाग्न हौसला दियो। 

एकदिन उनले दिदीलाई घर नजिकै खेल्न जान्छु भन्दै २० रुपैयाँ मागे। दिदी उनलाई पैसा दिइन्। त्यो पैसा बोकेर विकास ठमेल हानिए। 

उनी ठमेलतिरै रुमलिन थाले। 

तीन वर्ष बितिसकेको थियो। उनलाई दिदीहरूले भेटेका थिएनन्। तर, उनले भने दिदी र बुबालाई देखिरहन्थे। 

जब उनले आफ्नो परिवारलाई देख्थे, उनी कतै न कतै लुकिहाल्थे। उनलाई घर फर्किनु नै थिएन। 

‘मैले दिदी र बुबालाई देखिरहेको हुन्थें तर कहिल्यै बोलाइनँ। उहाँहरू घर फर्किएपछि मात्र बाहिर निस्किन्थें’, उनी भन्छिन्, ‘त्यतिबेला मलाई सडक नै प्यारो भइदियो।’

उनी दिनभरि बोरा बोकेर हिँड्ने अनि रातमा त्यही च्यापेर सुत्थे। पौषको कठ्यारिँदो जाडोमा थरथरी काँपेर सडकमा सुतेका बालबालिका देख्दा व्यापारीहरूले ओढ्ने कम्मल पनि दिन्थे। तर, उनीहरूले त्यसलाई बेचिदिन्थे। अनि बोरा ओढेरै उज्यालो पारिदिन्थे। 

‘हामीलाई दिएको कम्मल ड्राइभरहरूलाई बेचेर कमाएको पैसाले चुरोट किनेर खान्थ्यौं’, उनी भन्छन्, ‘हामी बोरा ओढेर सुत्थ्यौं। कतिधेरै चिसो हुन्थ्यो। त्यस्तो कसैलाई नहोस्।’
 
चुरोट र गाँजा तान्दै सडकमा बितिरहेको थियो विकासको जीवन। तर, एकदिन उनी दरबार मार्गको एक ‘क्लब’ बाहिरै बसिरहेका थिए। 

उनको अगाडि पाँच जना युवा–युवती आए। र, गाँजा छ भन्दै सोध्न थाले। त्यतिबेला विकाससँग गाँजा मात्र होइन चरेश पनि हुन्थ्यो। 

११ वर्षका विकासलाई माया गरेर मान्छेले दुई चार पैसा दिन्थे। उनी त्यही पैसाले गाँजा र चरेश किनेर राख्थे। र, अरू कसैलाई बेचिदिन्थे। 

त्यतिबेलासम्म विकासलाई चरेश र ड्रग्सको कुनै लत थिएन। 

एकदिन उनी दरबारमार्गको एक ‘क्लब’ बाहिरै बसिरहेका थिए। त्यतिनै बेला उनको नजिक पाँच जना युवायुवती आइपुगे। र, गाँजा छ भन्दै सोध्न थाले। 

दाइ–दिदीहरूको कुरा सुनेर उनले आफूसँग गाँजा भएको भन्दै दुई सय रुपैयाँमा बेच्ने बताए। तर, उनीहरूले विकासलाई पाँच सय रुपैयाँ दिए। 

विकास खुसी भए। उनी रमाएको देखेर ती अपरिचित युवायुवतीले विकासलाई ‘चाउचाउ अण्डा खाने’ भनेर सोधे। उनले पनि सहजै स्वीकारे।

त्यसपछि विकासलाई ती मानिसहरूले वीर अस्पताल अगाडि राखे। र, बेलुकापख उनलाई चाउचाउ र अण्डा पनि खुवाए। 

उनीहरूले खाजा खुवाएपछि छोडेनन् विकासलाई। आफूहरूसँगै बालाजुको एक ‘गेस्ट हाउस’मा लगे। त्यहाँ उनलाई ती दिदीहरूले नुहाइदिए। अनि नयाँ कपडा पनि किनिदिए। 

त्यसपछि उनीहरूले विकासलाई आफूहरूसँगसँगै लैजाउन थाले। उनीहरू विकासलाई लगेरै नक्शाल गए। त्यहाँबाट उनीहरूले ड्रग्स किनेर ल्याए। त्यो ड्रग्स बोकेर उनीहरू फेरि ट्याक्सी चढेर गेस्ट हाउस फर्किए। 

र, विकासको आँखा अगाडि नै ती दाइ–दिदीहरूले शरीरमा सुइँले घोच्न थाले। त्यो देख्दा विकासको मुटु काँप्यो। त

तर, विवश विकास। केही बोल्न सकेनन्। 

‘पहिलोपटक मलाई धेरै डर लाग्यो। तर केही बोल्न सकिनँ। किन त्यस्तो गरेको होला भन्ने प्रश्न चाहिँ मन लागेको थियो’, उनी भन्छन्, ‘त्यहीपनि कसैलाई केही भनिनँ।’

ती दाइ–दिदीहरूले आफूलाई किन जतासुकै लगेको होलान् भन्ने प्रश्न उनको मनमा थियो। तर, सोध्ने आँट थिएन। 

समय बित्दै जाँदा विकासले जवाफ पाए, उनको प्रयोग गर्नका लागि राखिएको रहिछ। 

मान्छेलाई खुकुरी देखाएर लुट्ने र ठग्ने उनीहरूको काम थियो। त्यहीँबाट लुटेर ल्याएको गरगहना र पैसा विकासलाई बोक्न दिइन्थ्यो। त्यसो गर्दा प्रहरीलाई शंकै हुँदैनथियो। 

‘उनीहरूले मान्छेलाई लुटेर पैसा चोथ्यो त्यही पैसा मलाई राख्न दिन्थ्यो। म सानै थिएँ, त्यसैले पुलिसले ममाथि शंका गर्दैन्थ्यो। उनीहरूले लुटेको सबै सामान सुरक्षित हुन्थ्यो’, उनले भने, ‘त्यसरी मलाई ती दाइ–दिदीहरूले प्रयोग गर्नुभएको रहिछ।’

सुरु–सुरुमा दाइ–दिदीहरूसँग हिँड्न नमान्ने विकासलाई पछ्याउने बानी पर्यो। उनीहरूको पछि लाग्दालाग्दै उनले पनि ड्रग्स प्रयोग गर्न थाले। 

‘त्यो दाइदिदीको संगतमा लागेर म कहिलेदेखि ड्रग्समा फसें पत्तै पाइनँ। मैले त्यो बुझ्दा म एडिग भइसकेको थिएँ’, उनले सुनाए। 

कुनैबेला पैसाबिनै बस्न सक्ने विकासलाई ड्रग्स खान थालेपछि पैसा चाहिन थाल्यो। नशा गर्नेको लागि उनले कहिल्यै नगरेको काम गर्न थाले। बाटोमा हिँडिरहेको मान्छेको पैसा चोर्ने र कुटपिट गर्ने उनको आदत भइदियो। 

‘ड्रग्स खान थालेपछि एक–दुई सयले पुग्दैनथियो। तर साथमा पैसा हुन्थेन। त्यसैले चोरी गरें’, अहिले उनलाई लाग्छ, ‘सबै गलत काम गरें।’

‘ड्रग्स एडिग’ भइसकेका विकासले घर त्यागिसकेका थिए। परिवारसँग कुनै भेटघाट थिएन। तर, प्रहरी चौकी पुग्ला उनलाई भेट्न बुबा र दिदीहरू आइपुग्थे। 

‘म घर त्यति जान्न थिएँ तर चौकी पुग्दा धरौटीमा निकाल्न बुबा र दिदीहरूलाई बोलाउँथे। उहाँहरूले आफूसँग भएको पैसा राखेर मलाई छुट्याएर लैजानुहुन्थ्यो’, परिवारलाई दिएको दुःख सम्झदै उनले भने, ‘म जेलमा हुँदा मात्र मलाई परिवारको याद आउँथ्यो।’

जेलबाट छुट्दा मात्र उनी घर जान्थे। नभए त उनलाई सडक नै रमाइलो। 

१४ वर्षदेखि ड्रग्स खान थालेका विकासले १५ वर्षमा बुबा गुमाए। त्योबेला पनि उनी ड्रग्स खानको लागि भौतारिरहेका थिए। 

नशाको मातमा लठ्ठ परेर सडकमा डुलिरहेका विकासलाई टोलका दाइहरूले समातेर ट्याक्सीमा हाल्दै भनेका थिए, ‘तेरो बुबा बित्नुभयो।’ तर विकासलाई कुनै मतलबै थिएन। 

टोले दाइहरूले उनलाई जसोतसो पाटन अस्पतालमा ल्याए। त्यहाँ पुग्दा उनको दुई वटै दिदी रोइरहेका थिए। 

उनी अस्पतालभित्र पसे, दिदीहरू रोएको पनि देखे। बिडम्बना, उनले बुबालाई भेटेनन्। अन्तिमपटक बुबालाई नहेरीकनै विकास अस्पतालबाट भागे। 

उनको लागि बुबाका लागि बुबाभन्दा ठुलो ड्रग्स भइदियो। ‘मेरो छिमेकी दाइहरूले मलाई सडकबाट खोजेर अस्पतालसम्म पुर्याउनुभयो। म अस्पताल पुगें पनि तर बुबाको अनुहार नहेरीकनै ड्रग्सको खोजीमा भागें’, उनलाई अहिलेपनि आत्मग्लानी हुन्छ, ‘मैले बुबाको शवलाई बोक्न पाइनँ। त्यो कुरा सम्झदा धेरै दुःख लाग्छ।’

बिहानदेखि बेलुकासम्म उनी नशाकै ट्रीपमा हुन्थे। उनका लागि प्रहरी चौकी त पानी पँधेरोजस्तै थियो। महिनाको १५ पटक उनी प्रहरी चौकीमै हुन्थे। 

जब उनी पुलिस चौकीमा हुन्थे, उनलाई छुट्याउन दिदीहरू नै पुग्थे। भाइलाई चौकीबाट छुट्याउन दिदीहरूले आफ्नो मंगलसूत्र पनि बेचिदिए। 

तर, सुध्रिने छाँटकाँट थिएन उनमा। उनी चौकीमा दोहोरिरहे। एकपटक त उनी तीन महिना जेलभित्रै बसे। त्योपनि आफ्नै खुसी। 

‘दिदीले मलाई जेलबाट छुट्याउने भन्दै हुनुहुन्थ्यो तर म मानिनँ। मेरै खुसीले जेलभित्र बसें। किनकि त्यहाँ मेरो साथीहरू थिए, जोसँग म सडकमा बसेको थिएँ’, उनी सुनाउँछन्, ‘साथी भएपछि जेलमा बस्नु पनि रमाइलो नै भयो तर सुध्रिने सोच पलाएन।’

तीन महिनापछि उनी जेल बाहिर निस्किए। तर उनमा लागुऔषध खान छोड्छु भन्ने सोच्नै थिएन। बरू, उनले परिवारकै अगाडि पनि खान छाडेनन्। 

उनको खाने बानी दिदी–भिनाजुले पनि थाह पाइसकेका थिए। उनलाई कयौं पटक नशा छोडन् अनुरोध गरे। तर, विकासले टेरेनन्। 

पैसा नुहँदा ड्रग्स नपाएर तड्पिँदा विकासलाई भिनाजुले आफूले चलाइरहेको फोन बेचेर खान दिन्थे, उनको कहलीलाग्दो अवस्था देखेर। 

‘मलाई दिदीहरूले मात्र होइन, भिनाजुहरूले पनि उत्तिकै साथ दिनुभयो। मलाई सधैं सम्झाउनुभयो। ड्रग्स खान नपाएर तड्पिँदा आफ्नै बेचेर खान समेत भन्नुभयो’, उनी भन्छन्, ‘मलाई सधैं माया गर्नुभयो।’

०००

२५ वर्षको उमेरमा उनले काठमाडौं छाडे। र, दिदीहरूसँगै पाटनमा बस्न थाले। 

१८ वर्षसम्म घरबाट टाढिएका उनले सडक छाडे तर, ड्रग्स खान छाडेनन्। ‘मैले १८ वर्ष सडक जीवन बिताएँ। अहिले सम्झदा आफैं अच्चम लाग्छ’, उनी सझन्छन्, ‘सडकमा खाना खान पाइन्थ्यो तर कसैको माया पाइनँ।’

भलै, उनलाई सडकमा खाली पेट सुत्न परेन। तर उनी परिवारको मायाबाट वञ्चित भए। सानैमा आमाले छोडेपछि बुबाको माया पाएनन् विकासले। दिदीहरूले हुर्काए। तर, उनीहरूले पनि विवाह गरिहाले। सधैं काममा व्यस्त भइदिए। 

परिवारको स्नेहबाट टाढिएका विकासले पढ्न पाएनन्। अहिले उनलाई लाग्छ, ‘आमा भइदिएको भए, सडकमा बस्नुपर्ने थिएन होला।’ 

कलिलै उमेरमा दुव्र्यसनी बनेका विकासले ड्रग्सको कारण धेरै दुःख पाए। असह्य पीडादेखि समाजको तिरंस्कारसम्म भोगे। 

‘मैले ड्रग्स खाएको कारण छिमेकीले मलाई राम्रो सोच्थेनन्। उनीहरूको अगाडि मैले आँखा जुधाउन समेत सक्दिन थिएँ। म त्यतिधेरै लाचार भइसकेको थिएँ’, विकास भन्छन्, ‘मेरो शरीरले पनि धेरै पीडा पायो। तीन पटक त अप्रेशन नै गर्नुपर्यो।’

सुइँको प्रयोग गरेर थलिएको थियो विकासको खुट्टा। सुन्निएको खुट्टाबाट रगत बग्न थालिसकेको थियो। असह्य थियो पीडा। उनले छुटकारा पाउन आत्महत्याको प्रयास पनि गरे।

तर, कालले पनि छुन सकेन विकासलाई। पाँसो लागेर आत्महत्या गर्ने उनको योजना विफल भयो। 

‘म झुन्डिएर मर्न खोजेको थिएँ तर भगवानले बचाउनुभयो। म मरिनँ’, लामो श्वास फेर्दै उनले भने, ‘सायद, आजको दिन देख्नको लागि रहिछ।’

ड्रग्सको कारण खिइँदै गइसकेका थिए विकास। उनी आफ्नै अनुहार देखेर तर्सिन्थे। 

एकदिन घरबाहिरै बङ्बङ्ती गाँजा उडाएर बसिरहेका थिए उनी। अचानक मनमा साचे आयो, ‘ड्रग्स खाएर मैले धेरै काम बिगारें। अब सुध्रिनुपर्छ।’

आफूले ड्रग्स छोड्न चाहेको उनले दिदीलाई सुनाए। र, दिदीले नै विकासलाई गोदावरीको ‘सृष्टी नेपाल’ सुधार केन्द्रमा राखिदिइन्। 

सुधार केन्द्रमा तीन महिना बसेर फर्किने योजना थियो विकासको। तर उनले सोचेजस्तो भएन। 

सुरुवाती दिनमा सुधार केन्द्र बस्दा उनलाई धेरै गाह्रो भयो। तर, जसातसो उनले एक महिना हुँदै तीन महिना बिताए। त्यहीपनि उनी रिह्याबमै बसे। 

‘तीन महिना बसेर फर्किन्छु भनेर सोचेको थिएँ तर रिह्याबको वातावरणको कारण म यहीँ अडिन सफल भएँ’, उनले भने, ‘तीन महिनामा बाहिर निस्किएको भए म अझै ड्रग्स नै खाइरहेको हुन्थें होला।’

अहिले विकास रिह्याबमा बसेको ६ वर्ष भयो। उनी त्यहाँका कर्मचारी भएका छन्। 

कुनैबेला सुध्रिनका लागि सुधार केन्द्र पसेका विकास अहिले कुलतको बाटो पछ्याइरहेकाहरूलाई जिन्दगीको बाटो देखाइरहेका छन्। 

सुधार केन्द्र बसेर सुध्रिका विकास भन्छन्, ‘म रिह्याबमा नभइदिएको भए, कि मरिसक्थे कि त अपांग हुन्थें।’

ड्रग्सको कारण तीन पटक अप्रेशन गरेको खुट्टाको घाउ रिह्याबमा पनि बल्झियो। उनले सुधार केन्द्र बसेको साढे दुई वर्षपछि २ पटक खुट्टाको अप्रेशन गरे। विकासले एउटै खुट्टाको अप्रेशन पाँच पटकसम्म गर्नुपर्यो। 

‘अब यो खुट्टा कहिल्यै निको हुँदैन तर हिँडडुल गर्न भइरहेको छ’, उनी भन्छन्, ‘जतिबेला पनि बल्झिन सक्छ।’

विगतमा आफैंले पनि ड्रग्स खाएर हिँडेका विकासको अब भने कुलतमा लागेका युवाहरूलाई सधार्ने लक्ष्य छ।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!