बलात्कारको आरोप लगेका 'सिद्धबाबा' अस्पताल भर्ना, नियन्त्रणमा लिने प्रहरीको तयारी

फाइल तस्बिर: बिएल

सुनसरीको चतरा धाममा रहँदै आएका जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरी अस्पताल भर्ना भएका छन्। शुक्रबार आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोग लागेपछि गिरीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियो।

तर,स्वास्थ्यमा समस्या देखाउँदै शुक्रबार नै उनी अस्पताल भर्ना भएका हुन्। गिरी विराटनगरस्थित विराट नर्सिङ होमको गाइनो वार्डको पाँच नम्वर बेडमा भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

जिल्ला अदालत सुनसरीका तहसिलदार ईश्वर भण्डारीले गिरीलाई पक्राउ गर्न अनुमति दिएको जानकारी दिए। अनुमति पाएसँगै जिल्ला प्रहरी कार्यालय, सुनसरीले गिरीलाई नियन्त्रणमा लिने तयारी गरेको छ।तर अस्पताल भर्ना भएका गिरीलाई नियन्त्रणमा नमिल्ने भएपछि निगरानीमा राखिएकाे छ।

याे पनि

चतरा आश्रमका सिद्धबाबा प्रहरीकाे निगरानीमा,बलात्कार गरेको उजुरी दर्ता

 प्रहरीकाअनुसार पीडित महिलाले ४ कात्तिकमा गिरीले आफूमाथि बलात्कार गरेको जाहेरी दर्ता गरेकी छिन्।

यसअघि प्रहरीले जाहेरी लिन मानेको थिएन। तर, पीडित महिला काठमाडौं प्रहरी परिसर, टेकु र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म पुगेकी थिइन्। सीआईबीले उनको स्वास्थ्य परीक्षण गराएर फाइल सुनसरी पठाइदिएको थियो।

त्यसपछि शुक्रबार गिरीविरुद्ध मुद्दा दर्ता भएको छ। गिरीको नागरिकताको प्रमाणपत्र समेत झुठो र दोहोरो भएको आरोप लाग्दै आएको छ।

प्रकाशित मिति: : 2019-11-29 21:05:43

प्रतिकृया दिनुहोस्