मङ्गलबार, १२ अगस्ट २०२५

काठमाडौंमा डेंगु सार्ने लामखुट्टे: बानेश्वर, तीनकुने, ताहचल क्षेत्र जोखिममा

News Image
तस्बिरः एजेन्सी
• • •

काठमाडौं उपत्यकाभित्र डेंगु रोग सार्ने लामखुट्टे देखा परेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बिगबिगी छ। यो लामखुट्टेले दिउँसो टोकेपछि मानिसमा डेंगुको संक्रमण हुन्छ।

पछिल्ला तीन महिनामा उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएका छन्।

‘असार, साउन र भदौमा गरी ११ वटा बिरामी भेटिएका छन्,’ महाशाखामा डेंगु रोग हेर्ने सम्पर्क व्यक्ति उत्तमराज प्याकुरेलले सेतोपाटीसँग भने, ‘उपत्यका डेंगुको उच्च जोखिममा छ।’

उपत्यकाभर नै डेंगु सार्ने लामखुट्टे भए पनि बानेश्वर, तीनकुने र ताहचल क्षेत्र उच्च जोखिममा रहेको प्याकुरेलले बताए।

‘डेंगु लागेका बिरामीलाई खुवाउने बेग्लै औषधी हुँदैन। अस्पताल जाने नर्सिङ केयरमा बस्ने हो,’ उनले भने।

डेंगु नियन्त्रणका लागि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहहरूबीच छलफल भएको थियो।

‘मन्त्रालय, विभाग, प्रदेश, काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहबीच अब कसरी अघि बढ्ने भन्ने छलफल भयो,’ प्याकुरेलले भने, ‘व्यापक रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भन्ने छ।’ 

डेंगु लागेपछि ज्वरो, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्ष्यण देखा पर्छन्।

डेंगु लागेपछि समयमै स्वास्थ्य संस्था नगए बिरामीको मृत्युसमेत हुन सक्छ।

दिउँसोपख लामखुट्टेले टोक्दा डेंगु लाग्ने हुँदा बाहुला भएको लुगा लगाउनुपर्छ भने घरमा झुलभित्र बस्नुपर्छ।

उपत्यकाबाहिर मकवानपुर, कास्की, सुनसरी, उदयपुरमा डेंगु देखिएको छ।

 यीमध्ये धरान उपमहानगरपालिकामा धेरै बिरामी छन्। दुई हजारभन्दा बढीमा डेंगु देखिए पनि कसैको मृत्यु नभएको महाशाखाले जनाएको छ। यहाँ लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काम नियमित रूपमा भइराखेको छ।

सोमबार, भाद्र ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)