बराबरीमा रोकिएसँगै पीएसजीले आठ खेल अगावै उपाधि जित्ने मौका गुमायो

लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा स्टार्सवर्गसँग बराबरीमा रोकिएको छ।

लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजी आफ्नै घरेलु मैदानमा स्टार्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

चोटका कारण नेयमार र एडिन्सन कभानी बिना नयाँ युवा खेलाडी लिएर मैदान उत्रिएको पिएसजीले केलियन एमबाप्पे र एन्जल डि मारियालाई समेत आराम दिएको थियो।

यो बराबरीसँगै पिएसजीले लिग वानमा आठ खेल अगावै उपाधि जित्ने मौका गुमायो। पीएसजीको यो तेस्रो बराबरी हो।

अब पीएसजीले यो सिजनको उपाधिको लागि अर्को खेल कुर्नुपर्ने भएको छ।

घरेलु मैदान पार्क दि प्रिन्सेस पेरिसमा भएको खेलमा पीएसजीका लागि इरिक म्याक्सिम चुपो मोटिङ र थिलो केहररले गोल गरे। स्टार्सवर्गका नुनो डि कोस्टा र एन्थोनीले गोल गरे ।

खेलको १३ औं मिनेटमा इरिकको गोलबाट घरेलु टोलीले सुरूवाती अग्रता बनाएको थियो। तर, २६ औं मिनेटमा नुनोले बराबरी गोल फर्काए। ३८औं मिनेटमा एन्थोनीले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–१ ले पछि परेको थियो ।

खेलको अन्त्यतिर थिलो केहररले गोल गर्दै पीएसजीलाई २–२ गोलको बराबरीमा ल्याए। दोस्रो हाफमा पीएसजीले एमबाप्पेलाई मैदान उतारे पनि उनले गोल गर्न भने सकेनन्।

खेलभर स्टार्सवर्गलाई दवावमा राखेको पीएसजीको एउटा गोल गर्ने मौका गुमाएको थियो।

खेलको २७ औं मिनेटमा क्रिष्टोफर एनकुन्कुले पोस्टमा प्रहार गरेको बललाई चुपो–मोटिङ्गले अनावश्यक रुपमा टच गरेपछि गोल हुन सकेको थिए। उनले सो बललाई टच नगरेको भए बल गोल पोस्टमा छिर्ने निश्चित थियो।

प्रतिकृया दिनुहोस्