सूर्य थपलिया
एउटा शहरको जीवनचक्रमा खेलकुदले जोश र उमगं भर्छ। भव्य र सानदार खेल आयोजनाले शहरको सम्बृद्धिलाई चियाउने आँखीझ्याल तयार पारिदिन्छ।
लगभग ३००० हजार वर्षको लिखित इतिहास बोकेको छ खेलकुदले। युद्धको तयारी र शिकारी कला विकास गर्नका लागि खेलकुदलाई अभ्यासका लागि प्रयोग गरिन्थ्यो। मानव सभ्यताको जग शिकार, वस्ती विकास तथा विस्तार र गुटबीचको टकराव र लडाइँको पृष्ठभूमिमा उभिएको छ।
मानव समाज आधारभूत अवस्थामा रहदा खेल सीमिततामा थियो। शारीरिक परिश्रम र बल प्रयोग हुने किसिमका खेलहरू दौड, ज्याभलिन, ढुङ्गा फयाँक्ने, तारो हान्ने र तीर हान्ने खेलहरू मानव समाजको विकाससँगैं दैनिक जीवनयाँपनको अभिन्न भागको रुपमा विकास भए। मानिसमा एनिमल इन्सटिङ्क हाबी हुन्छ र समाजमा सफल छवि निर्माणका लागि पनि खेललाई मानिसले आफूलाई प्रमाणित गर्ने उद्दमशिलताको रुपमा प्रयोग र विकास गर्दै गयो।
इसापूर्व ७७६ मा ग्रीसको एथेन्समा सुरु भएको ओलम्पिक खेल आधुनिक विश्वमा अहिले एउटा बलियो ग्लोबल आर्थिक शक्ति र वैभवको प्रतिकको रुपमा स्थापित भइसक्यो। ओलम्पिक अभियान आफैमा विश्वब्यापि स्वतन्त्र शक्तिको रुपमा रहेको छ।
संस्कृत्ति र सम्पदाले पर्यटन गन्तव्यको विकासमा सहयोग पुर्याउछ। खेल र खेल आयोजना हुने शहरले गन्तव्यको विशेष सांस्कृतिक परिचय व्यक्त गर्दछ। क्रिकेटका लागि लर्डस, टेनिसका लागि विम्बल्डन, फुटबलका लाथि वेम्ली, बेसबलका लागि अमेरिका, सुमो रेसलिङ्गका लागि जापान, किकबक्सिङ्गका लागि थाइल्याण्ड र क्रिकेटका लागि भारत पर्यटकका लागि खेल पर्यटनका लागि विशेष गन्तव्य रहन्छन्।
बेलायतको पर्यटन अथोरिटीले सन् २००० मा खेल पर्यटन विभाग नैं स्थापना गरि डेभिड ब्याकम र इयान बोथामलाई खेल पर्यटनको प्रचारका लागि प्रयोग गर्दे आएको छ। बेलायतको पर्यटनको चारवटा स्तम्भ–इतिहास, ग्रामिण जीवन, शहर र खेल हुन्। समग्र पर्यटनको २५ देखि ३० प्रतिशत हिस्सा खेलसँग जोडिएको छ।
नेपालगन्जको कुरा गरौं। नेपालको पश्चिम तराइको महत्वपूर्ण शहर। भारतीय सीमासँग जोडिएको शहर। सीमासँग जोडिनुको बलियो काइदा व्यापारले ल्याउने आर्थिक अवसर हुन्छ। तर यो शहर उतिनैं हिन्दु र मुस्लिम समाजको बलियो भावनात्मक एकताको प्रतिकको रुपमा देशमा चिनिएको छ।
सन्दर्भ खेलसँग जोडौं। नेपालगन्जले यो देशलाई महिला क्रिकेट उपहार दिएको छ। महिला क्रिकेटलाई जन्माएर देशलाई अन्तर्राष्ट्रिय मञ्चमा अवार्ड लिन सफल बनाउने चेलीहरू यो शहरले दियो। ओलम्पियनहरूको शहर पनि हो नेपालगन्ज। पछिल्लो ५ वर्षमा पर्यटन क्षेत्रमा भएको लगानीले नयाँ सम्भावना बढाएको छ। कैलाशको गेटवे र राराको गेटवेको रुपमा नेपालगन्जलाई अघि बढाउने प्रशस्त आधार तयार भएको छ।
बर्दिया राष्ट्रिय निकुन्ज र कान्छो बाँके राष्ट्रिय निकुन्जको सामिप्यतामा नेपालगन्जले हबको रुपमा पर्यटनको सम्भावना उजागर गरेको छ। आतिथ्यताको पूर्वाधारसगैं खेलको पूर्वाधार विकासमा नेपालगन्ज अब्बल देखिएको छ।
यसको सेरोफेरो आठौं राष्ट्रिय खेल प्रतियोगिताले रच्यो। मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुदको अध्यक्ष थिए, जुझारु युवा भीम वली। राष्ट्रिय खेल प्रतियोगिता आयोजना हुने नहुने अन्यौल थियो। पूर्वाधार निर्माणमा हुने सुस्तताले यो शंका स्वभाविक थियो। तर वलीको नेत्तृत्वमा यो काम सम्पन्न्न भयो। अबको चुनौति त्यो पूर्वाधारको विरासत अर्थात लिगेसीलाई खेलकुदको विकास र पूर्वाधार संरक्षण तर्फ रुपान्तरण गर्नु हो।
२०७० बाट सुरु भएको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताले नेपालको महिला भलिबललाई अझ सम्भावनाको दिशातर्फ उन्मुख गरायो। महिला भलिबलको आजको दिनको लोभलाग्दो लोकप्रियताको पछाडि यो प्रतियोगिताको निरन्तरताले गतिलो योगदान गरेको छ।
शहरको चिनारी म्याराथनसँग गाँसिएको छ, विश्वका धेरैं देशहरूमा। म्याराथन पर्यटन प्रवर्द्धनका लागि राम्रो साधन हो। शहरको ऐतिहासिकतालाई जिवन्त राख्छ। २०७२ सालबाट नेपालगन्ज म्याराथन आयोजना भएपछि नेपालगन्जको ब्रान्डिङ्गमा टेवा पुगेको छ।
तर एक पटक फेरि महिला क्रिकेटको साखलाई पुरानो उचाँइमा पुर्याउने चुनौति यो शहरले अहिले सामना गर्न हिचकिचाएको त होइन?
खेलकुदको विकासका लागि परिवर्तित राजनैतिक आर्थिक सन्दर्भमा लिगेसी फन्ड अर्थात विरासत कोषको अवधारणामा स्थानीय सरकारलाई सशक्तिकरण गर्न सकिन्छ।
यो अवधारणा अन्तर्राष्ट्रिय ओलम्पिक परिषदले आयोजक राष्ट्रहरूले ओलम्पिक आयोजना गरिसकेपछि निर्माण भएका विशाल भौतिक पूर्वाधारलाई खेल तथा सामाजिक, आर्थिक, वातावरणीय विकास तथा प्रवर्द्धन सहित शहरको विकासका लागि उपयोग गर्नुपर्छ भन्ने सोच सहित अघि बढाएको हो।
आठौं राष्ट्रिय खेल प्रतियोगिताको पृष्ठभूमिमा तयार भएको पूर्वाधार नेपालगन्जको लागि उपहार हो। खेलको सामाजिक सांस्कृतिक रुपान्तरणका लागि पूर्वाधार अनिवार्य शर्त हो। संरक्षणका लागि स्थानीय सरकारको स्वामित्वमा सामाजिक अभियान चलाउन सकिन्छ।
अमेरिकी न्यायमूर्ति अर्ल वारेन भन्ने गर्थे, ‘म जहिले पनि अखबारको खेलकुदको पाना पहिले पल्टाउथे किनकि यसले मानिसका उपलब्धिको कुरा गर्छ, पहिलो पानाले त मान्छेका असफलताको कुरा गर्छ।’ खेलकुदलाई दर्शनको रुपमा बुझ्ने प्रयास गर्नुपर्छ। यसबाट जीवन जिउने कला र सिप विकास हुन्छ। राम्रो खेलाडी असल नागरिक हुने सम्भावना नै बढी हुन्छ। देशको नेत्तृत्वमा पुगेको प्रशस्त उदाहरण छन।
राष्ट्र निर्माणमा खेल विशेषले भूमिका खेलेको गज्जबको उदाहरण यहाँ पेश गर्न उपयुक्त लाग्यो। सन् २००८ मा ब्रिटिश लेखक जोन कार्लिनले महान दक्षिण अफ्रिकी राजनेता नेल्सन मन्डेला माथि एक पुस्तक लेखे, Playing the enemy: Nelson Mandela and the game that made a Nation.
यसमा आधारित भएर क्लिन्ट इस्टवुडले चलचित्र Invictus निर्देशन गरे सन २००९ मा। १९९० मा नेल्सन मन्डेला २७ वर्षको कठोर जेल जीवन बाट रिहा भएपछि १९९४ मा राष्ट्रपतिमा निर्वाचित भए। रङ्गभेदको दलदलमा फसेको दक्षिण अफ्रिकी समाजलाई न्याय, समानता, राष्ट्रिय एकीकरण र सम्बृद्धितर्फ अघि बढाउने विशाल चुनौति थियो मन्डेलासामु।
एक बिहान उनले राष्ट्रिय रग्बी टिमका कप्तान फ्रान्सेस पियेनरलाई आफनो कार्यकक्षमा बोलाउछन् र भन्छन्, ‘कप्तान पियेनर, मलाई लाग्छ यो देश अब बन्नुपर्छ र त्यसका लागि हामी सबैले आफनो अपेक्षालाई दोब्बर बनाउनु छ र सारा जनतालाई प्रेरित गर्नुपर्छ।’
कप्तानले बुझे मन्डेला आसन्न रग्बी विश्वकप हामीले जित्नुपर्छ भन्न खोजिरहेका छन्। १९९५ को रग्बी विश्वकप दक्षिण अफ्रिकाले जित्यो। यहाँ खेल केवल खेल मात्र रहेन। राष्ट्रिय मेलमिलापको साधन बन्यो।
चर्चित बोस्टन म्याराथन सन् १८९७ मा पहिलो पटक आयोजना भयो। दिन थियो, १९ अप्रिल। सन १७७५ मा अमेरिकामा ब्रिटिश साम्राज्यवाद विरुद्ध क्रान्ति सुरु भएको दिन पनि १९ अप्रिल थियो। बोस्टन म्याराथन अमेरिकी इतिहास प्रतिको सानदार सम्मान थियो। आज पनि बोस्टन म्याराथनको आयोजनाका समयमा अमेरिकीहरू आफनो इतिहास सम्झेर भावुक हुन्छन्। खेलको रोमान्चको रुझानमा समयको घडीलाई फर्काएर नयाँ पुस्ता आफनो इतिहासको गौरवमा रमाउछन्।
नेपालगन्ज म्याराथन शहरको इतिहासमा कसरी समयको गतिसँगै हुर्कन सक्ला? इतिहास खोजौं। इतिहास लेखौं। डिजिटल पुस्तालाई जोडौं। यो शहरले लाखौंलाई आश्रय दिएको छ। सपना देखाएको छ। सपना पुरा पनि गरिदिएको छ। ती सफल सपनाहरूलाई खेलको माध्यमबाट शहरसँग जोडौं। असम्भव केही पनि छैन। आदरणीय नयनराज पाण्डेले घामकिरीको पछाडी दौडेर एउटा घामकिरी समातेर त्यसको पुच्छरमा धागो बाधेर चङ्गा जसरी उडाए झैं अब नेपालगन्ज पनि उडनु पर्छ।
खेलले शहरलाई जुरुक्कैं उठाउछ। सन २००६ को हलिवुड फिल्म We are Marshall वेस्ट भर्जिनियाको हन्टिङ्गटन शहरको मार्शल युनिभर्सिटीको फुटबल टिमका ३७ सदस्यहरू १४ नोभेम्बर, १९७० मा विमान दुर्घटनामा निधन भएपछि त्यो शहरले कसरी फुटबललाई ब्युँताएर आफना प्रिय खेलाडीलाई श्रद्धाञ्जली दियो भन्ने मार्मिक कथालाई प्रस्तुत गरेको छ।
दुर्घटनापछि फुटबलका सबैं कार्यक्रम युनिभर्सिटीले निलम्बन गर्छ। केही खेलाडी र कोचले खेल पुनः सुरु गर्न पहल गर्छन। तर जब त्यो शहरका मानिसहरू जाग्छन् खेलले निरन्तरता पाउछ। शहरले भन्छ, ‘यो शहर मार्शलहरूको शहर हो र हामी त्यो परिचयका लागि साथ छौं।’
नयनराज पाण्डे लेख्नुहुन्छ, ‘सबैले भने प्रेम नगर, मैले टेरिनँ।’
हो अब नेपालगन्जले टेर्दैन।
जय होस।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया