प्रहरीलाई गृहमन्त्रीको निर्देशन- महिला तथा बालिका उपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउनु

फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापा बादलले महिला तथा बालिका उपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अनपाइ त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६४औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नभएकाले बिना हिचकिचावट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यौन दुर्व्यवहार आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे पनि प्रधानमन्त्री ओलीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबार प्रधानमन्त्रीद्वारा व्यक्त भनाइ त्यसैतर्फ लक्षित रहेको देखाएको छ ।

‘आर्थिक अनियमितता, महिला तथा बालबालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाइ आपराधिक तत्व निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु’, गृहमन्त्री थापाले भने, ‘जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लंघन भएको र आर्थिक अनियमितता गरेको कार्य कदापि क्षम्य हुँदैन । त्यस्तालाई कारवाही गर्न हुनै हिच्किचावट हुनेछैन ।’

आफ्नो कुशल कार्यसम्पादनमार्फत प्रहरी संगठन अन्तर्राष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै मन्त्री थापाले जनताको सेवामा खरो उत्र्न प्रहरीलाई आग्रह गरे।

कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओली,प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतले पनि प्रहरी अनुसन्धान र यसका गतिविधिबारे आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति: : 2019-10-11 11:17:52

प्रतिकृया दिनुहोस्