चिनपिङको नेपाल भ्रमण : महत्वपूर्ण हो तर सर्वश्व हैन

१२ वर्षपछि खोलो पनि फर्कन्छ भन्ने कुरामा विश्वास गर्ने नेपालमा २३ वर्षपछि चिनिया राष्ट्रपति फर्के । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

संसारकै एक शक्तिशाली राष्ट्रप्रमुख चिनिया राष्ट्रपति सी चिनपिङ यतिबेला मेरो देशमा सुतिरहेको छन् । म भने पाताल प्रवास अमेरिकामा उठेर भर्चुअल्ली उनको नेपाल भ्रमणलाई नियालिरहेको छु ।

मेरो देशका मूलधारका सञ्चारमाध्यम हुन् या सामाजिक सञ्जाल यतिबेला चिनपिङमय भएका छन् । सामाजिक सञ्जालका भित्तामा फाट्टफुट्ट अपवादलाई छोडेर धेरैले चिङपिङको यो भ्रमणको स्वागत नै गरेका छन् । सत्तारूढ दल र चिनिया लबिका राजनीतिक शक्तिले त यसको बढाइचढाइ गरेर महत्ता गाउँने नै भए, कुनै पनि लबीका नलागेका नेपालीका लागि पनि छिमेकी राष्ट्रका प्रमुखको २३ वर्षपछिको यो भ्रमणले खुशी नै बनाएको छ ।

हो, उनलाई गरिने स्वागतको तौरतरिकामा भने मत विभाजित देखिन्छ । केहीले काठमाडौलाई रातारात कस्मेटिक बनाएको मन पराएका छैनन्, केहीले छिमेकी पाहुना आउँदा यति गर्नु 'अतिथि देवो भव:' को हाम्रो संस्कारमै पर्छ भनेर कस्मेटिक काठमाडोंको वचाउ गरेका छन् ।

यो पनि हेर्नुहोला 

चिनियाँ राष्ट्रपति सी नेपाल आइपुगे 

केही भारतमुखी, चीन विरोधी र यो भ्रमणबाट सत्तारूढ दलले ठूलो क्रेडिट लैजाने भयो भनेर डराएका प्रतिपक्षी र जीवनभर कम्युनिष्ट फोविया बोकेर बाँच्नेका लागि भने यो भ्रमण त्यति जचेको छैन । तर, उनीहरू पनि खुलेर विरोध भने गर्न सकिरहेका छैनन् । 

मलाई लाग्छ, निश्चित पनि चिनिया राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण बहुप्रतिक्षित हो । नेपालबाट तारान्तर उच्चस्तरीय भ्रमण भए पनि चीनको तर्फबाट २३ वर्षयता यस्तो भ्रमण भएको थिएन । त्यस सन्दर्भमा पनि यो एक बहुप्रतिक्षित भ्रमण हुनु स्वभाविक हो ।

उता, भारतबाट पनि बाराम्बार उच्चस्तरीय भ्रमण भैरहेकै छ । त्यसैले पनि यो वा त्यो दुबै कोणबाट यो भ्रमणको ठूलो अर्थ र महत्व छ नै ।

तर, यो भ्रमण नै सर्वश्व हो र यसबाट नेपालले मृतसञ्जीवनी बुट्टी पायो भन्ने सोच पनि ठीक हैन । खासगरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा त्यो उत्साह अलि बढी नै देखिएको छ । अहिलेको उनको यो उत्साह देख्दा लाग्छ- उनले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलव्धीमा यो भ्रमण नै गनाउँने छन् । उनको किचेन क्याविनेट, क्याविनेट र गुटका मानिसहरू अलि बढी नै बढाइचढाइमा लागेको देखिन्छ । 

यो पनि हेर्नुहोला 
चिनियाँ राष्ट्रपति सी चिनफिङ कारगेट
अर्कोतिर यो भ्रमण केही नै हैन, आयाराम गयाराम ठान्ने प्रवृति पनि गलत हो । यो भ्रमण विश्वकै एक शक्तिशाली राष्ट्रप्रमुखको भ्रमण हो । उनी हाम्रो पारम्परिक मित्र शक्ति वा छिमेकी राष्ट्रका प्रमुख भएकै आधारमा यो भ्रमणको महत्वलाई सामान्यीकरण गरिन्छ भने त्यो पनि सही हैन । 

केहीले यो भ्रमणका क्रममा चिनपिङले  नेपाललाई के दिन्छन् भनेर पनि हेरिरहेका छन् । उनले धेरै दिने भए भने यो भ्रमण सफल ठान्ने र कम दिए भने यो भ्रमण असफल ठान्ने व्यापारिक सोचच भएका मानिसको धारणा हो यो । तर,  यो सोच पनि ठीक हैन । आफूलाई सार्वभौमसम्पन्न राष्ट्र भन्ने अनि झोलीमा धेरै पर्दा  सफल र कम पर्दा असफल भन्ने - यो आफैंमा लघुताभाषपूर्ण सोच हो ।

यो भ्रमणलाई अमेरिकी सरकारको कोणबाट हेर्दा पटक्कै सुखद मान्न सकिन्न । अमेरिका नेपाललाई जसरी भए पनि इन्डो-प्यासिफिक क्याम्पमा उभ्याउन चाहन्छ तर यो भ्रमणको सफलताले उसको त्यो अभीष्टलाई सघाउ पुर्याउँदैन, उल्टै असजिलो बनाइदिन्छ ।

यति हुँहाहुँदै पनि यो सत्य हो यो भ्रमणको साइज बढाउने र घटाउने दुबै पक्षले चिनपिङले के देलान् भनेर ठूलो आशा गरेर बसेका छन् । धेरैको आशा छ - नेपालमा रेल ल्याइदिने छन् । शायद यही नै चिनपिङ भ्रमणको सफलता/असफलता नाप्ने मूल कशी हुने छ । आइतबार चिनपिङ चीन फर्केपछि यो भ्रमणको 'पोष्ट इभ्यालुसन' त्यो कोणबाट नहोला भन्न सकिन्न । 

यो पनि हेर्नुहोला 
को हुन राष्ट्रपति सी चिङफिङ (जिवनी)
यो भ्रमणलाई अमेरिकी सरकारको कोणबाट हेर्दा पटक्कै सुखद मान्न सकिन्न । अमेरिका नेपाललाई जसरी भए पनि इन्डो-प्यासिफिक क्याम्पमा उभ्याउन चाहन्छ तर यो भ्रमणको सफलताले उसको त्यो अभीष्टलाई सघाउ पुर्याउँदैन, उल्टै असजिलो बनाइदिन्छ । यो भ्रमणकै पूर्वसन्ध्यामा काठमाडौंस्थित नेपालका लागि अमेरिकी राजदूत बेरीले इन्डो-प्यासिफिक क्याम्पका बारेमा दिएको बयानले एक हदसम्म त्यसैको छटपटी बुझाउँछ । अझ चिनपिङ फर्केलगत्तै अमेरिकी विदेशमन्त्री माइक पम्पेओले नेपाल भ्रमणको तयारी गरिरहेको एक अपुष्ट समाचार बाहिरिएको छ । त्यसले पनि अमेरिकाका लागि यो भ्रमण कति महत्वपूर्ण रहेछ भन्ने पुष्टी हुन्छ । 

जे होस् अन्तत: नेपालले २३ वर्षयताकै एक चीर प्रतिक्षित रात पाएको छ । यो रात  उसले संसारकै एक शक्तिशाली राष्ट्रप्रमुख चिनियाँ राष्ट्रपति सी चिनपिङलाई पाहुनाको रूपमा सुताएर पाएको हो । यो भ्रमणलाई लिएर यतिबेला छिटपुट अपवादलाई छोडेर नेपालमा स्वागतकै ठूलो स्वर र प्रदर्शनी देखिएको छ । यद्यपि, यो भ्रमण नै सर्वश्व हो भन्ने सोच पनि अतिवादी नै हो । अमेरिकाबाट हेर्दा यो एक महत्वपूर्ण भ्रमण हो । तर, यसलाई कसरी र कति महत्वपूर्ण बनाउने भन्ने कुरा सरकारको कूटनीतिक सीप र कौशलमै भर पर्ने देखिन्छ । 

प्रकाशित मिति: : 2019-10-13 01:47:05

प्रतिकृया दिनुहोस्