दुई दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता,केके भए १९ घण्टामा ?

बिएल

२३ वर्षपछि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमण सकेर आइतबार अपरान्ह स्वदेश फर्किएका छन्।

सोल्टी होटेलमा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रका हस्ताक्षर कार्यकम सकिएपछि सी २ बजे विमानस्थल पुगेका थिए। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्‍त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्तित्वहरुले भव्य विदाइ गरेका थिए ।

शनिबार अपरान्ह पौनै पाँच बजे विशेष विमानमा सी काठमाडौं ओर्लिएका थिए । शनिबार अपरान्ह विमानस्थलबाट सोल्टी पुगेका सी होटलमा एकछिन आराम गरेर राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि शितलनिवास पुगेका थिए। त्यसपछि उनी सोल्टीमा फर्केका थिए। सोल्टीमा सीको सम्मानमा राष्ट्रपति भण्डारीले विशेष रात्रभोज आयोजना गरेकी थिइन्। त्यसमा दुवै देशका प्रमुखहरुले सम्बोधन गरेका थिए।

शनिबार बेलुका नै राष्ट्रपति सीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। आइतबार बिहानदेखि नै राष्ट्रपति सी उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए।

राष्ट्रपति सी र प्रधानमन्‍त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता गरेका थिए। दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्‍त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका थिए। वार्तापछि १८ बुँदे समझदारी पत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरमा हस्ताक्षर भएको थियो।

प्रकाशित मिति: : 2019-10-13 14:25:14

प्रतिकृया दिनुहोस्