बुधबार, २० अगस्ट २०२५

बाराको महागढीमाई मन्दिरको सञ्चालन तथा विकास समितिको नेतृत्व चयनको निर्वाचन सम्पन्न, मतपरिणाम आज बेलुकासम्म आउने

News Image
तस्बिरः बिएल
• • •

बलिका लागि विश्वप्रसिद्ध बाराको महागढीमाई मन्दिरको सञ्चालन तथा विकास समितिको नेतृत्व चयनका लागि हुने निर्वाचन बिहिबार सम्पन्न भएको छ।

गए राति १२ बजेदेखि सुरू भएको मतगणनाको परिणाम शुक्रबार बेलुकासम्म आउने निर्वाचन प्रमुखले जनाएका छन्।

राजनीतिक निर्वाचनको झल्को दिने गरी मन्दिर सञ्चालन गर्ने बोर्डको नेतृत्व छान्न मतदान भएको हो। बिहिबार बिहान ८ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो।

निर्वाचनमा आठ हजार तीन सय मतदाता रहेकोमा साँझ ५ बजेसम्म ७ हजार ८६ भोट खसेको थियो। कुल मतदाता संख्याको ८५ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले बताए।

नेतृत्व चयनको चुनावमा राजनीतिक दलहरुको छुट्टा छुट्टै प्यानल खडा भएका छन्। दलका उम्मेदवार महिनौ दिनदेखि घरदैलो र चुनावी प्रचारमा व्यस्त भएका थिए। निर्वाचनबाट विजयी हुनेले आगामी मंसिरमा हुने गढीमाई मेला सञ्चालन गर्ने जनाईएको छ।

दक्षिण एशियामै बलिका लागि प्रसिद्ध मेलामा लाखौं भक्तजनको उपस्थिति रहने गर्छ। चुनावमा अध्यक्षका लागि चार जना बिच तिव्र प्रतिस्पर्धा छ। नेकपा, कांग्रेस र फोरम–राजपाबाट छुटाछुटै प्यानल तयार भई निर्वाचनमा उत्रिएका छन्।

नेकपाबाट अध्यक्ष पदमा दुई जना उम्मेदवार उत्रिएका छन्। नेकपाले जितेन्द्रप्रसाद गुप्तालाई अध्यक्ष बनाउने निर्णय गरे पनि असन्तुष्ट केही नेताले महानन्दप्रसाद यादवलाई उम्मेदवार बनाएपछि दुवै उम्मेदवार छुटाछुट्टै प्यानलबाट चुनावमा सहभागी भएका थिए। नेपाली कांग्रेसले मोतीलाल प्रसादको नेतत्वमा प्यानल बनाएको छ।

मधेसवादी दल फोरम र राजपाको संयुक्त प्यानलबाट रामचन्द्र साह तेली अध्यक्षमा उभिएका छन्। चुनावका लागि अध्यक्ष र उपाध्यक्षमा चार/चार, सचिव र सहसचिवमा तीन/तीन जनाको उम्मेदवारी परेको छ भने चार सदस्यको लागि १८ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले जानकारी दिए।

निर्वाचन सम्पन्न भएसँगै मतगणना भने सर्वदलिय सहमति जुटाएर शुरु गरिने प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले बताएका छन्।

शुक्रबार, भाद्र २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)