मङ्गलबार, ०५ अगस्ट २०२५

उपनिर्वाचन: स्थानीय तहका ४८ पदमा २७३ उम्मेदवार, धरानमा सबैभन्दा धेरै

News Image
फाइल तस्बिर
• • •

मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा २७३ जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन्।

कुल २८२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका भए पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएका कारण २७३ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाको प्रमुख पद सबैभन्दा धेरै उम्मेदवारी परेको छ । धरान उपमहानगर प्रमुख पदमा २३ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा २० जनाको उम्मेदवारी कायम भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा ८ जना र संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा ७ जना उम्मेदवार प्रतिश्पर्धामा छन् ।

वडा तहमा भने सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर १२ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा सबैभन्दा धेरै प्रत्याशी छन् । उक्त वडाको वडाध्यक्षमा १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिकाको १० नम्बर वडाको वडाध्यक्ष र महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षका लागि १२–१२ जनाको उम्मेदवारी कायम भएको छ ।

यी हुन् उम्मेदवारी फिर्ता लिने ९ जना

उम्मेदवार मनोनयनपत्र दर्ता गराएर अन्तिम समयमा नाम फिर्ता लिने ९ जनामा मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा उम्मेदवारी दिएका चन्द्रनन्द मण्डल, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षमा उम्मेदवारी दिएका सकलदेव साह छन् ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–२ को वडाध्यक्ष पदका उम्मेदवार बुधिया नेसा, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षमा उम्मेदवारी दिएका प्रकाश श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी, प्युठानको ऐरावती गाउँपालिका–१ को वडाध्यक्षमा उम्मेदवारी दिएका अर्जुन थापा, रोल्पाको थवाङ गाउँपालिका–१ मा वडाध्यक्षको उम्मेदवारी दिएकी भद्रकुमारी झाँक्री, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष पदका उम्मेदवार धनबहादुर तामाङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षमा उम्मेदवारी दिएका दलविर बस्नेत र चित्रप्रकाश गिरीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

 

आइतबार, मंसिर ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)