बुधबार, १३ अगस्ट २०२५

श्रीमतिको श्रम कार्यालयलाई आग्रह, ‘मेरा श्रीमानलाई विदेश जानबाट रोक लगाइयोस्’

News Image
बिएल
• • •

आफू र नाबालक छोराको बिचल्ली बनाएर श्रीमान वैदेशिक रोजगारीमा जान लागेको भन्दै एक विवाहित युवतीले त्यसमा रोक लगाइदिन आग्रह गरेकी छन्।

मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ का २४ वर्षीय सचिन दाहाल पारिवारिक सल्लाह बिना दुबई जान लागेको भन्दै उनकी श्रीमतीले उजुरी हालेकी हुन्। २३ वर्षीय दिप्ती सिलवाल (दाहाल) ले श्रम तथा रोजगार कार्यालय विराटनगर पुगेर यस्तो आग्रह गरेकी हुन्।

श्रीमानलाई विमानस्थलमा रोक लगाउन माग गरिएको निवेदनमा उल्लेख गरिएको छ, ‘मेरा श्रीमानलाई विदेश जानबाट रोकिदिनू।’

पारिवारिक सरसल्लाह बिना नै श्रीमान विदेश जान लागेकाले आफू र तीन वर्षको नाबालक छोराको विचल्ली हुने निवेदनमा खुलाइएको छ।

आफूलाई सासु, ससुरालगायत परिवारका अन्य सदस्यसँग मिलेर श्रीमानले पछिल्लो समय अनेक यातना र तनाव दिन थालेको उनको गुनासो छ।

दिप्ती र सचिनबीच पाँच वर्षअघि प्रेम विवाह भएको थियो। उनीहरूका तीन वर्षीय छोरा पनि छन्। श्रम कार्यालयमा भेटिएकी दिप्तीले भनिन्, ‘पछिल्लो समय मलाई अनेक यातना दिइरहनु भएको थियो। उहाँ (श्रीमान) पारिवारिक सल्लाह नगरिकन विदेश जान लाग्नु भएको छ । राहदानी बनाएर पेस गरेको छ भन्ने कुरा आफन्तबाट सुनेर यहाँ आएकी हुँ।’

श्रीमान, सासु र ससुराले खान लाउन समेत नदिइकन अनेकौ यातना दिँदै दुरव्यवहार गर्न थालेपछि पारिवारिक तनाव खप्न नसकेर छोरासहित सात महिनादेखि उनी माइतीमा बस्दै आइरहेकी छिन्।

‘यस अघि कुराकानी हुँदा हामीलाई व्यवस्थापन गरेर मात्रै जान्छु भन्नु हुन्थ्यो,’ उनले भनिन्, ‘तर थाहै नदिइकन दुबई जानलाई काठमाडौं पुगेपछि चाल पाएँ।’
परिवारका अन्य सदस्यले नराम्रो गरिरहेका बेला श्रीमान विदेश गए आफू र नाबालक छोराले थप तनाव बेहोर्नु पर्ने उनको भनाइ छ।

उनले आफूमाथि भइरहेको हिंसाका बारेमा इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी पनि हालेकी थिइन। माइतीबाट ल्याएको १२ लाख रुपैयाँले दुवै जना मिलेर काठमाडौंको मित्रनगरमा तीन वर्षअघि कपडा पसल सञ्चालन गरेको दिप्तीको भनाइ छ। ‘दुवै जनाको सल्लाहले ३४ लाख रुपैयाँमा पसल बिक्री गरेपनि १२ लाखको मात्रै हिसाव मलाई देखाउनु भयो,’ दिप्तीले भनिन्, ‘अरु पैसा ऋण छ भन्दै सकेपछि पारिवारिक तनाव सुरु भएको हो।’

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले विवाहित युवतीले दिएको निवेदनका आधारमा विदेश जान रोक लगाउँदै उनका श्रीमानलाई विमानस्थलमा रोक्का गरिएको बताए। दुवै मिलेर आएमा र श्रीमती राजी भएका खण्डमा मात्रै सचिनलाई विदेश जान खुल्ला गर्न सकिने उनको भनाइ छ।

 

बिहिबार, कार्तिक २८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)