बुधबार, २० अगस्ट २०२५

जहाँबाट अपाङ्गता भएका व्यक्ति आत्मनिर्भर बन्छन्

News Image
तस्बिरः बिएल नेपाली सेवा
• • •

जीवनको अर्को नाम यात्रा हो। राजमार्ग पनि हो। म त्यहीँ भित्रको एउटा यात्री हुँ। यात्राको क्रममा निस्किकरहन्छु। मलाई एनआरडीएस नामक संस्थाको स्टोरी गर्नुपर्ने भएकाले नयाँ बानेश्वरबाट अनामनगर तिर निस्किएँ, सेतो छडि टेक्दै।

फुटपातको पेटीमा ठड्याइएका पोलहरु र मैले सुन्ने गाडीका आवाजहरू मेरा सहकर्मी बनेका थिए। त्यो पनि एकछिनको लागि। फुटपातमा म दाहिने साइडबाट हिँडिरहेको थिएँ। यो संसार विभिन्न रंगको मिश्रणले रंगिन छ भन्छन्। यद्यपि मैले देखेको छैन। बाटोमा विभिन्न व्यक्ति भेटिरहन्छन्। कहाँ जाने भाइ भन्दै सोधिरहन्छन्। मेरो एउटै उत्तर हुन्छ-अनामनगर।

म हिँडेको केही समयमै अनामनगर जाने बाटो आइसकेको रहेछ। चारैतिर हिँडेका गाडीले म अलमलमा परिरहेको थिएँ। बाटोमा मान्छे पनि थिएनन्। अगाडि जाउँ कि? दायाँ वा बाँया, कता जाउँ? दिमागले सोच्नै भ्याएन। साँझको समय थियो। त्यसैले सबै मान्छेहरू सायद हतारमा नै थिए। काम सकिएपछि घर फर्किने चटारो कसलाई पो हुन्न होला र?

बाटोमा हुँदा म पेटीमा हिँडिरहेका मान्छेलाई ‘अनामनगर जाने बाटो कता?’ भन्दै सोधिरहन्थेँ। बाटोमा हिँडिरहेका चार जना जतिलाई यही प्रश्न दोहोर्‍याएँ, तर कोही बोलेनन्। सायद उनीहरु पनि हतारमै थिए होला।

‘कता जाने?,अलमल भइरहेकै थियो। हातमा सेतो छडी समाएर उभिरहेको थिएँ। त्यसको केही समयपछि एकजना अपरिचित आवाज सुनियो, ‘दाइ हजुर कता जाने?’ मैले ‘अनामनगर जाने एनआरएसडीमा’ भनिसकेपछि अपरिचित उनी परिचित भए। उनी आयुश रहेछन्।

आयुशले अनामनगर तिर मेरो हात समाएर लैजान थाले। बाटो कच्ची भएकाले ठाउँठाउँमा मेरो खुट्टा ठोक्किरहन्थ्यो। ठोक्किएको थाहा हुन्थ्यो, तर दुख्दैनथ्यो। आज भोलि मलाई दुख्न छोडिसकेको छ, सायद बानी परेर होला। उनले हात समाएर हिँडाएकाले १५ मिनेट पछि हामी एनआरएसडीमा पुग्यौं।

जहाँ म जस्तै दृष्टिविहीनलाई कम्प्युटर सिकाएर आत्मनिर्भर गराइन्छ। शारीरिक अपाङ्गलाई ह्विलचेयर वितरण गरिन्छ। त्यसका साथै शारीरिक रुपले अपाङ्ग र बहिराको लागि तालिमको पनि व्यवस्था गरिएको छ।

एनआरएसडी अर्थात राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज। सन् २००६ मा  स्थापना भएको समाजका अध्यक्ष राकेश हमाल हुन् भने उपाध्यक्ष सुगम भट्टराई।

अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको संस्थाका उपाध्यक्ष भट्टराईले बिएल नेपाली सेवालाई जानकारी दिए।

एनआरएसडीले सन् २००६ बाट अमेरिकन Latter-day Saint Charities  को आर्थिक सहयोगले देशका विभिन्न जिल्लाका विभिन्न ठाउँमा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने ह्विल्चियर, वैशाखी, वाकर, सेतो छडीलगायत अन्य सहायक सामग्रीहरू वितरण गर्दै आएको छ।

भृकुटीमण्डपको सहायताकोष र जन्मजात दृष्टिविहीनको क्षेत्रमा लामो समयसम्म अहोरात्र खटिरहेका सुगम भन्छन्, ‘हालसम्म हाम्रो संस्थाले ह्विलचियर चौध हजार र दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी एक हजार वटा बाँडिसकेको छ।’

यो संस्थामा सिलाई बुनाई, दृष्टिविहीनलाई कम्प्युटर सिकाउनेलगायत विभिन्न सीपमुलक तालिम पनि दिने गरिन्छ। छ–छ महिनामा तालिम सञ्चालन गरिरहेको उनी बताउँछन्।

संस्थाकी ह्विल्चेयर टेक्निसियन सुनिता रिजाल भन्छिन्, ‘सिलाइका लागि ५ र बुनाइका लागि ५ वटा कोटा छन्। सिलाई तर्फ एकल महिला र शारीरिक अपाङ्गता भएका छन्’, उनी थप्छिन्,‘भर्खर पढाइ छोडेका केही सीप नभएका महिला पनि तालिम लिइरहेका छन्। त्यसैगरि बुनाइमा एकल दृष्टिविहीन महिला र पिछडिएका महिला पनि छन्।’

उक्त संस्थाको समितिमा नौ जना सदस्य रहेको रिजालले बताइन्। यहाँ फुल टाइम र पार्ट टाइम गरि नौ जना कर्मचारीहरू छन्। त्यसमध्ये दृष्टिविहीन प्रशिक्षकले कम्प्युटरको तालिम दिने गर्न्। सिलाई बुनाइको तालिम दिनेमा साङ्ग व्यक्तिछन्।

मलाई अपाङ्गता भएकालाई किन प्राथमिकता दिइएन होला भन्ने जिज्ञासा लागेर सोधेँ पनि। सुगमले त्यसको मिठो जवाफ दिदै भने, ‘साङ्गको पनि सहभागिता हुनुपर्छ। सबैको सहभागिताले संगठनलाई समावेशी र बलियो बनाउँछ। समावेशीता भयो भने काम गर्न मज्जा पनि आउँछ। सकारात्मक सन्देश पनि जान्छ।’

राज्य समेतले अपाङ्गता भएकालाई नराम्ररी हेपेको बेला स्वयम अपाङ्गता भएकाहरुको चौडा छाति हुनु आफैंमा उदाहरणीय कार्य हो।

एनआरएसडीमा फिजिकल कम्प्युटर कक्षा कोठा छ। त्यहाँ शारीरिक रुपले अपाङ्गता भएका व्यक्ति कम्प्युटर तालिम लिने गर्छन् भने सिलाई बुनाइका लागि छुट्टाछुट्टै रुम भएको एनआरएसडीले बताएको छ।

यसै गरि ब्लाइन्ड कम्प्युटर कक्षामा दश जना विद्यार्थीले तालिम लिइरहेका छन्। सो कक्षामा ६ पुरुष र चार महिला भएको दृष्टिविहीन प्रशिक्षक छवि आलेले जानकारी दिए। ‘आफू जस्तै साथीलाई कम्प्युटर सिकाउँदा मलाई नौलो लाग्दैन। किनभने मलाई पनि आँखा नदेख्ने सरले नै सिकाउनुभएको थियो’, एक्सल सिकाउनमा व्यस्त उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘सरकारले अहिले पनि सबै ठाउँमा कम्प्युटर पुर्‍याउन सकेको छैन। अहिलेको प्रविधिको युगमा देशका सबै ठाउँहरुमा कम्प्युटर पुर्‍याउन सके राम्रो हुन्थ्यो कि?’

कम्प्युटर सिक्दै गरेका रुपन्देहीका नवराज थारु भन्छन्, ‘कतिपय कुराहरु नेटमा पढ्नुपर्ने हुन्छ। मैले त्यही भएर कम्प्युटर सिकिरहेको छु। म दिदीको माध्यमबाट यहाँसम्म आइपुगेको हुँ।’

यस्तै सिमा तामाङलेआफू भाइ आदित्यको माध्यमबाट यहाँ आइपुगेकी बताउँछिन्।

सुर्खेतबाट आएकी बिमला रावतले ‘कम्प्युटर अतिआवश्यक कुरा हो। यो सिकेर अवसर पाएमा संघसंस्थामा काम गर्न सजिलो हुन्छ।’ भन्दै आफ्नो काम गर्ने योजना सुनाइन्। दृष्टिविहीन उनी हाल पशुपति क्याम्पसमा अध्ययनरत छिन्।

कम्प्युटर तालिम लिएबापत सो संस्थाले खाजा खर्च र गाडीभाडा स्वरुप दिनको सय रुपियाँ अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको छ।

‘संस्था चलाउनु चानचुने कुरा होइन। बिकट ठाउँमा ह्विलचेयर बोकेर जान अलि चुनौति हुन्छ। तर, पनि पुगिरहेका छौं। विभिन्न ठाउँहरुमा देशका ७७ वटै जिल्लामा पुग्ने लक्ष्य छ।संस्था सञ्चालन गर्दा महिनाको २५ हजार अफिस भाडा तिरिरहेका छौं,’ भट्टराई भन्छन्, ‘जब दृष्टिविहीनलाई सेतो छडी उपलब्ध गराउन जान्छौं, जब शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल्चियर दिन जान्छौं, अनि उहाँहरू मुस्कुराउनु हुन्छ। त्यही खुसी नै हाम्रो खुसी हो।’

कुराकानी सकुन्जेल त्यहाँ कल घुमेको खटखट आवाज आइरहेको थियो। साथीका हात कम्प्युटरको किबोर्डमा दौडिरहेका थिए। अनि म अनामनगर चोकमा सेतो छडीको डोरीसँग खेल्दै नेपाल यातायातलाई कुरिरहेँ। 

मंगलबार, मंसिर १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)