जब पहिलो पटक जुगल हिमशृंखलाको ग्याल्चेन पिक सफल आरोहण भयो (तस्बिरहरू)

तस्बिरः बिएल

गत चैत २६ गते ३ जना आरोहण दलका सदस्यसहित ४ गाईडले जुगल हिमशृंखलाको ग्याल्चेन पिक (६१५१ मिटर) सफल आरोहण गरेका छन्।

काठमाडौंबाट हिँडेको टोलीलाई पिक समिट पुग्न ११ दिन लागेको थियो ।

हाई क्याम्प (४७२०मि.) पुग्दा मौसम खराबले ४ दिन रोकिन परेको आरोहण दलका सदस्य मिलन तामाङले जानकारी दिए।  सिन्धु पर्यटन परिषदका महासचिवसमेत रहेका तामाङका अनुसार बेसक्याम्प (४४००मि.) र हाईक्याम्प बिचमा सबै भन्दा गाह्रो थियो।

१५० मि. जति पहरा डोरीको सहायताले पार गर्नु परेको तामाङले जानकारी गराए।

‘३२-३३ घण्टासम्म निरन्तर हिमपातले यात्रा कठिन भयो, नयाँ रूट भएकोले कैयौं ठाउँमा रूट पत्ता लगाउन घण्टौंसम्म लागेको थियो,’ उनले स्मरण गरे।

हाईक्याम्पबाट समिट पुगेर फर्किन मात्रै २३ घण्टा लागेको उनले बताए।

‘समिट पुग्दा अलि ढिलो भएकाले हुरि बतास र हिमपातसँग जुध्नु परेको आरोहिले बताए। दसौं वर्षदेखिको निरन्तर प्रयास सफल भएकोमा समिट चुम्दा हर्ष र खुसीको सीमा नरहेको उनले बताए।
‘टुप्पोमा पुग्दा उत्तर तिर तिब्बतको हिमश्रृंखला, जुगल हिमश्रृंखलाका चुचुराहरू, गौरीशंकर हिमाल तथा लाङटाङ हिमालको लामो लर्कन देखिएको उनले अनुभव सुनाए।

अन्तर्राष्ट्रिय तालिम प्राप्त गाईड तथा आरोहण दलका मुख्य गाईड तुल सिंह गुरूङले नेपालमा सबैभन्दा सम्भावना बोकेको जुगल पिकको खुलेर प्रसंशा गरे।
‘नेपालको इतिहासमा पहिलो पटक नेपाली आरोहण दलले सफलतापूर्वक पिक चुम्न सफल भएकोमा गौरवान्वित महश्स गरेका छौ,’ आरोहण दलका टिम लिडर माया गुरूङले भनिन्।

सम्भावना र चुनौति

काठमाडौंदेखि करिब १४६ किमी दूरीमा रहेको पिक निकट भविष्यमा आरोहीका लागि उपयोगि हुनेछ। तामाङ, शेर्पा, नेवार, क्षेत्री र बाहुनको मिश्रित बसोवास रहेको क्षेत्र धार्मिक र सांस्कृतिक हिसाबले पनि धनि छ।

धार्मिक महत्व बोकेको नेपेमासाल हिन्दु र बौद्ध धर्मावलम्भीको लागि प्रख्यात छ। यहाँ वर्षेनी सयौंको संख्यामा भक्तालु जाने गरेका छन्।

यो रुटको प्रमुख विषेशता याङखर्क बेसक्याम्प (४७०० मि.) बाट ६ हजार माथिमा ६ वटा हिमाल आरोहण गर्न सकिन्छ।

अहिलको मुख्य चुनौति बेसक्याम्पदेखि हाईक्याम्पसम्मको पदमार्ग मर्मत तथा सुधार गर्नुपर्नेछ।
यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग र प्रचारप्रसार  गर्न सके जुगल हिमाल पिक व्यवसायिक रूपमा छिट्टै सञ्चालनमा आउने छ।

प्रथम जुगल हिमाल आरोण कार्यक्रमलाई प्रदेश-३ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जुगल गाउँपालिकाले आयोजना गरेको संयुक्त आयोजना भएको थियो।

कार्यक्रममा सहजकर्ता सिन्धु पर्यटन परिषदले गरेको थियो। संस्थाले फोटो बुक, ट्रेकिङ तथा क्लाईम्बिङ म्याप हिमालयन म्यापको सहकार्यमा छिट्टै प्रकाशनमा ल्याउँदैछ। साथै डकुमेन्टरी पनि निर्माण हुँदैछ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2019-06-04 15:56:54

प्रतिकृया दिनुहोस्