‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

तस्बिरः बिएल

‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आज बिहीबादेखि काठमाडौंमा सुरू हुँदैछ।

नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघटबाट मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचित गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यका अनुसार

सोल्टी क्राउन प्लाजामा आगामी जेठ २६ गतेसम्म चल्ने मार्टमा ४३ देशका करीब ७०० ले सहभागिता जनाउनेछन्।

मार्टअन्तर्गत यस पटक व्यवसायीसँग व्यवसायी (बीटुबी) मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने शाक्यले जानकारी दिए।

नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्ने उपयुक्त थलोका रुपमा ट्राभल मार्ट स्थापित भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

मार्टमा सहभागिता जनाउने सबै विदेशी पाहुना बुधबारसम्म नेपाल आइसकेका छन्।

मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कट रहनेछन् । यस्तै अन्य दुई दर्जन राष्ट्रिय वक्ता तथा पर्यटनसम्बद्ध सरोकारवालाबीच पर्यटनका विविध पक्षबारे चर्चा हुने जनाइएको छ ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि यो मार्टले महत्वपूर्ण भूमिका खेल्ने पनि आयोजकले बताएको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउन मार्टको भूमिका महत्वपूर्ण रहने छ ।

विभिन्न देशका ट्राभल ब्लगर, पत्रकार तथा क्रेता र विक्रेताहरु सहभागी हुनेछन् । यस वर्ष विभिन्न देशका ३८ जना ट्राभल ब्लगर तथा मिडिया प्रतिनिधिलाई मार्टमा सहभागी गराई नेपालबारे प्रचारप्रसार गर्न लगाइएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गर्न लागेको हो।

 

प्रकाशित मिति: : 2019-06-06 10:36:39

प्रतिकृया दिनुहोस्