ओमानमा नेपाली दिदी–बहिनी बिचौलियाको मारमा, ९ महिनासम्म तलब बिहिन

 

नवलपरासीकी सावित्री कंडेलले साउदी अरेबियामा ६ वर्ष र दुबईमा २ वर्ष घरेलु कामदारका रुपमा काम गरिन्।

विदेश कहिल्यै नफर्किने गरी उनी केही वर्षअघि नेपाल फर्किइन्। तर, गाउँकै एक बिचौलियाले ओमानमा घरेलु कामदारका रुपमा काम गर्दा १ सय २० रियाल तलब हुने भन्दै खुब फकाए।

नरेश नाम गरेका ती व्यक्तिको कुरा पत्याएर उनी फेरि रोजगारीका लागि ओमान आइन्।

उनलाई नरेशले बुटवलबाट पहिले भारतको बनारस पुर्याए। यहाँबाट भारतको राजधानी नयाँ दिल्ली हुँदै संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट ओमान ल्याए।

ओमानमा उनले मन लगाएर काम गरिन्। तर, जब महिनाको तलब बुझ्ने बेला आयो। त्यतिबेला आकाशबाट खसेझैं भइन्। एजेन्टले साहुसँग महिनाको एक सय रियाल तलब ‘फिक्स’ गरेको रहेछ।

उनले साहुलाई पुरानो सम्झांैता याद दिलाउने कोशिस गरिन्। तर, साहुले सय रियालको सम्झौता पत्र देखाएपछि सावित्रीलाई पहिलो पल्ट थाहा भयो, आफू बिचौलियाको शिकार भए भनेर।

एक वर्ष उनले जेनतेन दुःख सहेर काम गरिन्। साहुले अन्य ठाउँमा काम गर्नुपर्ने दबाब दिन थालेपछि उनी भागेर ओमानस्थित नेपाली दुतावासको शरणमा पुगिन्।

सावित्री जस्तै बुटवलकी लक्ष्मी बिक पनि बिचौलियाको कुरा पत्याएर १ सय २० रियालमा काम गर्न चोर बाटो हुँदै ओमान आइन्।

उनलाई भारतको नयाँ दिल्लीको बाटो हुँदै ओमान ल्याउँदा गाउँकै एक बिचौलियाले ४ जनाको परिवार भएको घरमा काम गर्नुपर्ने बताएका थिए।

तर, ओमान आएपछि उनलाई ४ जनाको परिवार होइन, उनीहरूको दाजुभाई र आफन्तको घरमा पनि काम गर्न दबाब दिइयो।

केही दिन त उनले बाध्य भएर काम गरिन्। तर, थेग्न नसकेपछि उनी पनि भागेर दुतावास पुगिन्।

यो त प्रतिनिधि घटना मात्र हो। ओमानमा घरेलु कामदारका रूपमा आएका यस्ता थुप्रै नेपाली दिदी–बहिनी बिचौलियाको शिकार बनेका छन्।

ओमानस्थित नेपाली दुतावासमा अहिले यस्तै घटनाका ७ दिदी–बहिनीले शरण लिएका छन्।

उनीहरूलाई दुतावासले आफ्नो सेफ हाउसमा बसोबास गर्ने व्यवस्था मिलाएको छ। उनीहरूलाई नेपाल फर्काउन दुतावासले प्रक्रिया पनि अगाडि बढाएको छ।

ओमानस्थित नेपाली राजदुत शर्मिला पराजुली ढकाल बिचौलियाबाट ओमान आउने नेपालीहरूले प्रायः दुःख भोग्नु परेको बताउँछिन्।

उनी नेपाल सरकारको मातहत नआउँदा तथ्यांक पनि नहुने र उनीहरूलाई फर्काउन कानुनी जटिलता आउने दुःखेसो पोख्छिन्।

दुतावासकै श्रम सहचारी कृष्णकुमारी धौलीले बीएल मिडियासँग भन्छिन्, ‘दुःख पाएका दिदीबहिनीका कुरा सुन्दा मन पोल्छ। यहाँको समुदाय राम्रो छ। दुःख पाएको थाहा पायो भने समुदायले सहयोग गरेर हाम्रो सम्पर्कमा पठाइदिन्छन्।’

तर, नेपाली दिदी–बहिनी आफ्नो सम्पर्कमा आउँदा कुनै कानुनी कागजपत्र नहुने, जसका कारण आफूहरूलाई काम गर्न गाह्रो परेको उनको गुनासो छ।

भन्छिन्, ‘समस्या पर्यो भने दुतावास आउनु हुन्छ। तर, उहाँहरू आफ्नो कागजपत्र काम गर्ने ठाउँमै छोड्नु हुन्छ। यसले समस्या निम्त्याएको छ। फेरि साहुले उजुरी गर्छ र सबै ठाउँमा ‘ब्लक’ गरिदिन्छ। यस्ता कानुनी जटिलता छन्।’

उनी नेपाली दुतावासको सम्बन्ध ओमान सरकारसँग राम्रो भएका कारण खराब अवस्थामा पनि आफूहरूले सहयोग गरेको बताउँछिन्।

यस्तै, बिचौलियाको कुरा पत्याएर २ वर्षअघि ओमान आएकी धादिङकी गंगा बराल कागज पत्र नहुँदा ओमानमै थन्किएर बसेकी छिन्।

गंगा २ वर्षको सम्झौता पुरा भएपछि ९ महिनाअघि नेपाल फर्किन चाहन्थिन्। तर, साहुले भिषा थप नगरी उनलाई गैरकानुनी रुपमा काम गराउँदै आएका छन्। उनले काम गरेको ९ महिनाको तलब नपाएपछि घर जाने जिद्धी गरेकी थिइन्। तर, साहुले थुनेर पिटेपछि उनी पनि भागेर दुतावासको शरणमा पुगेकी छिन्।

‘सुरुमा ४ जनाको परिवार भनियो। तर, १६–१७ जनाको काम गर्नुपर्ने भयो। फेरि खान पनि राम्रोसँग दिँदैनन्। तलब भने जति पाइएको छैन,’ उनले पीडा सुनाइन्।

राजदुत ढकाल भन्छिन्, ‘यस्ता समस्या ओमानमा मात्र होइन। अन्त्र पनि छ। त्यसैले सरकारले समस्या बुझेर ठोष नीति बनाउनु जरुरी छ। यसले दुबै देशबीचको सम्बन्धलाई धुमिल बनाउँछ। बिचौलियाले नचाइने काम गर्ने र सरकारले उद्दार मात्र गरिरहने हो भने कहिलेसम्म सम्भव होला?’

प्रकाशित मिति: : 2019-07-24 14:35:25

प्रतिकृया दिनुहोस्