कोपा अमेरिकामा कतारले रोक्यो दुई पल्टको च्याम्पियन पाराग्वेलाई

Agency

अतिथी टोलीको रुपमा दक्षिण अमेरिकाको ठूलो प्रतियोगिता कोपा अमेरिका खेलिरहेको कतारले दुई पल्टको च्याम्पयन पराग्वेलाई २–२ गोलको बराबरीमा रोकेको छ।

ब्राजिलमा आयोजना भइरहेको ४६ औं संस्करणको प्रतियोगितामा कतार पहिलो पल्ट समावेश भएको हो। यसै बर्ष एसियन च्याम्पियनसिपको फाइनलमा जापानलाई ३–१ गोलले पराजित गरेको कतारका लागि ७७ मिनेटमा बाउलेम खोखीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

कतारले ४ मिनेटमै कार्डोजोको पेनाल्टी सुटआउटबाट पहिलो गोल खाएको थियो। ब्राजिलको सान्तोष क्लबबाट ऋण–सम्झौतामा खेलिरहेका स्ट्राइकर अल्बेर्टो गोन्जालेसको गोलमा ५६ मिनेटमा अर्को गोल खाएपछि कतार सुरुवातमै २–० ले पछि परेको थियो।

तर, एसियन च्याम्पियनसिपको उपाधि कतारलाई दिलाउन सर्वाधिक ९ गोल गरेका अलमोएज अलीले ६८ मिनेटमा हानेको गोलका कारण कतार खेलमा फर्किएको थियो। बराबरी गोल अल्जेरियाली मूलका खोखीले गरे।

कतार समूह ‘बी’ मा अर्जेन्टिना, कोलम्बिया र पाराग्वे समावेश टिममा छ। कतारको अघिल्लो खेल १९ जुनमा कोलम्बियासँग हुनेछ। कोलम्बियाले पहिलो खेलमा पूर्व विश्व च्याम्पियन अर्जेन्टिनालाई २–० ले पराजित गरेको थियो।

कतार सन् २०२२ को विश्व कप आयोजक देश हो। पराग्वेले सन् १९५३ र १९७९ मा कोपा अमेरिका कप जितेका थिए।

 

प्रकाशित मिति: : 2019-06-17 14:57:03

प्रतिकृया दिनुहोस्