विप्लवकाे दबदवा रहेको थबाङमा कांग्रेसले २६ मत मात्रै पायो !

फाइल तस्बिर: बिएल

रोल्पाको थबाङ–१ मा वडाध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनकबहादुर बुढा मगर विजयी भएका छन्।

मगर १७४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाए। थबाङमा २ सय ९ मत खसेको थियो भने ९ मत बदर भएको थियो।

११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गर्न आएको मुख्य निर्वाचन अधिकृत ऋषिराम सुबेदीले जानकारी दिए। सो वडामा १ हजार २ सय ८८ मतदाता छन्। तर कुल १६ प्रतिशत मात्रै मतदान भएको थियो।

२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नं.१ बाट स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढा, नेकपा माओवादी केन्द्रबाट ग्रिस पुन र नेकपा एमालेबाट तीर पुनले प्रतिस्पर्धा गरेको थिए। उक्त प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार फर्कवहादुर बुढाले ३ सय ५९ मत प्राप्त गरी विजयी भए।

वडाध्यक्ष फर्कवहादुर बुढाको २०७६ आषाढ ६ गते मस्तिष्कघातका कारण मृत्यु भएपछि रिक्त सो स्थानमा ‍उपनिर्वाचन भएको हो। यो त्यही वडा हो, जहाँ वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए।

फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए। मनोनयनको बेला उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिए पनि फिर्ता लिएका छन्।

प्रकाशित मिति: : 2019-11-30 20:56:18

प्रतिकृया दिनुहोस्