मङ्गलबार, ०५ अगस्ट २०२५

फिनल्याण्डका नेपाली रेष्टुरेन्टमा नेपालीकै चरम श्रम-शोषण

News Image
तस्वीर सौजन्य: एओपी
• • •

फिनल्याण्डको दैनिक पत्रिका हेल्सिँगिन सानोम्याटले छापेको एक समाचारले नेपाल र नेपाली बेइज्जत भएको छ। बेइज्जतको कारण हो- यहाँका नेपाली रेष्टुरेन्टमा नेपालीकै चरम श्रम-शोषण गरिएको दाबी। रिपोर्टमा दैनिक १६ घण्टा काममा खटिन बाध्य पारिएका उनीहरुलाई न्यूनतम पारिश्रमिकसमेत नदिएर दासको जस्तो व्यवहार गरिएको उल्लेख छ।

नेपाललाई असाध्यै माया गर्ने देश फिनल्याण्डमा राम्रैसँग ब्यापार गरिरहेका नेपाली रेष्टुरेन्टमा प्रकृयागत रुपमा कानून उल्लङ्घन गर्दै कामदारलाई दासको जस्तो व्यवहार गरिएको दैनिक पत्रिका हेल्सिँगिन सानोम्याटका खोज पत्रकारको टोलीले तयार पारेको खबरमा उल्लेख गरिएको छ।

पत्रिकाको रिपोर्टमा बन्धकजस्तै अवस्थामा रहेका नेपालीहरु दैनिक १६ घण्टा काममा खटिन बाध्य त छँदैछन् उनीहरुलाई न्यूनतम पारिश्रमिकसमेत नदिएर कज्याइएको बताइएको छ।

फिनल्याण्डको अनुसन्धान ब्यूरो एनबिआई अनुसन्धान अधिकृत तुइजा हिएतानिएमीका अनुसार कामदारहरु बसेको आवासमा छापा मार्दा उनीहरुको अवस्था वर्णन गर्नै नसकिने दयनीय रहेको थियो।सानो कोठामा धेरैजना बसेको देखियो।उनीहरु आफ्नो सत्य कुरा बोल्न डराइरहेका थिए।

सरकारलाई छल्नको लागि बैँकमा रेष्टुरेन्ट साहूहरुले महिनावारी तलब हालिदिए पनि साहूहरुले नै निकालेर फेरि थोरै तलब दिने गरेको पाइयो।कतिपय कामदारको बैँकको कार्ड, पासपोर्ट, आवश्यक सबै कागजात साहूहरुले राख्ने गरेको पाइयो।

रेष्टुरेन्टहरुलाई घर भाडामा दिने संस्थाका कार्यकारी निर्देशक टिमो लाप्पीले आफूसँग नेपालीहरुको साह्रै दुरुस्त र राम्रो कामको अनुभव भएको सुनाउँदै यसो भने, 'उनीहरुको व्यवसाय राम्रो चलिरहेको छ।बेलाबखत म आफैँ पनि खाना खान जान्छु।उनीहरु दयालु, नरम, मीठो बोल्ने र कागजात दुरुस्त राख्ने स्वभावका छन्।अब यसरी कम पैसा दिएर कामदारको शोषण गरेको भए त कारवाही हुनुपर्छ।'

पत्रकारहरुको खोजीमा नेपालबाट १० लाखसम्म तिरेर कूकको भिसामा फिनल्याण्ड आएको पत्ता लागेको पाइएको छ।नेपालमा रहेका फिनिश अधिकारीको सहयोग र पीडितहरुसँगको कुराकानीको आधारमा उल्टो पैसा लिएर निकै सस्तोमा काम गर्न नेपालबाट कामदारहरु आउने गरेको पाइएको हो।

फिनल्याण्डको मानव तस्कर विरोधी सँस्था ०रिकु,का कानूनी सल्लाहकार पिया मार्तिलाका अनुसार सँस्थाले झण्डै मानव तस्करबाट ठगिएका सयजति नेपालीहरुलाई सहयोग गरिरहेको छ।

संस्थाले कतिपय नेपालीहरु काम सकेर रेष्टुरेन्टकै सानो कोठामा सुत्न बाध्य पारिएको समेत प्रमाण रहेको बताएको छ।

हेल्सिन्कीमा मात्रै दर्जन नेपाली रेष्टुरेन्टले राम्रै आम्दानी गरिरहेका छन्।कामदारहरुले कहिल्यै उजुरी नगर्ने हुँदा मानवतस्कर विरोधी संस्था रिकुले छानविन गरेर प्रहरीलाई खबर गर्ने गरेको खबरमा बताइएको छ।

आइतबार, बैशाख ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)