अमेरिकामा घण्टाको १५ डलर नहुने भयो : रिपब्लिकनको 'रेड लाइट', सिनेट बन्यो तगारो

सिनेटमा बहुमतका रिपब्लिकन नेता मिच म्याककोनेल : रिपब्लिकनको 'रेड लाइट', सिनेट बन्यो तगारो

अमेरिकामा सन् २०२५ सम्ममा न्युनतम प्रतिघण्टा ज्याला १५ डलर पुर्याउने अभियानमा रिपब्लिकन पार्टी तगारो तेर्स्याएको छ । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले पारित गरेको विधेयक रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटले छलफलमै नल्याउने भएपछि यो अभियान दुर्घटनामा पर्ने संकेत देखिएको हो । 

सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले तल्लो सदनबाट पारित भएको विधेयक अस्वीकार्य छ भन्दै त्यसलाई सिनेटमा छलफलसमेत नगरिने बताएका छन् । उनले अनुसन्धानहरुले न्यूनतम ज्यालालाई १५ डलर पुर्‍याउँदा रोजगारी गुम्ने र सुधारोन्मुख अमेरिकी अर्थतन्त्रमा ठूलो क्षति पुग्ने देखाएको बताउँदै ट्विटमा भनेका  छन्- 'हामी यो विधेयकलाई सिनेटमा छलफल गर्ने स्थितिमा पनि छैनौं ।'

यस महिनाको सुरूमा कङ्ग्रेस बजेट कार्यालयले सन् २०२५ सम्ममा न्यूनतम ज्याला १५ डलर पुर्‍याइए यसबाट एक करोड ७० लाख कामदारले थप भुक्तानी पाउने तर १३ लाख रोजगारी गुम्ने एक प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यही प्रतिवेदनको आधारमा रोजगारी घट्ने कारण देखाउँदै रिपब्लिकनहरू ज्याला नबढाउने पक्षमा देखिएका हुन् ।

यसअघि  डेमोक्र्याटिक बर्चश्व रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्समा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक 'रेज द वेज एक्ट' २३१–१९९ मतले पारित भएको थियो । विधेयकको पक्षमा डेमोक्र्याट र विपक्षमा रिपब्लिकनले सांसदले मतदान गरेका थिए ।

अमेरिकामा तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

रेज द वेज विधेयक स्वीकृत भई लागू भएमा अमेरिकाको न्यूनतम ज्याला दोब्बर हुनेछ ।  अमेरिकामा सन् २००९ मा कायम भएको न्यूनतम ज्याला प्रतिघण्टा ७.२५ डलर नै अहिलेसम्म पनि कायमै छ । 

 
प्रकाशित मिति: : 2019-07-19 23:04:07

प्रतिकृया दिनुहोस्