मनपरेको मान्छे !

सेप्टेम्बर महिना थियो। अलिअलि चिसो थियो। मेरो मन जस्तै। जर्मनीमा प्रायःकोठामा हिटर थिए नै, ता पनि हिटरले कोठा मात्र तातो बनाउँछ, मन बनाउँदो रहेनछ। 

जतिनै रफ्तारमा यो देश चलेको छ, उतिनै बिस्तारै चलेको छ मेरो जीवन, त्यस्तो लाग्छ मलाई।आफ़्नॊ पढाइको लामो बिदा भएकोले नेपाल जाने योजना बनाएँ।

बर्लिन एरपोर्ट हुँदै नेपाल पुगेँ। घर जाने खुसीले मन यति धेरै प्रफुलित थियो कि त्यति धेरै त माइत जाने विवाहीत नारी पनि सायदै होलिन्। निर्धारित समयमै पुगेकी थिएँ नेपाल। एरपोर्टबाट बाहिरी कक्षमा हिँड्दा हिँड्दै अनुहारमा स्वतःमुस्कान छाएको थियो। बाआमा अनि भाइहरू देख्ने बितिकै नौ मिलियन डलर बराबरको खुसी छायो मनमा।

सिनामंगलदेखि भक्तपुरसम्म आइपुग्दात ५ वर्ष अघि छोडेको‘ काठमाडौँले त धेरै नै रूप फेरिसकेको थियो बाई! बाटोभरि मोटरमा भीडभाड,होहल्ला, धपेडी ,धुलो अनि त्यसमाथि ट्राफिक जाम। आधाघण्टामा पुग्नेबाटोमा पनि सवा घण्टा लाग्यो। जम्मा पन्ध्र किलो मीटर त्यो पनि।

जर्मनीमा त एकघण्टामा १५०किलो मीटर पुग्थेँ। घर पुगेपछि सुरुमै आफ़्नो कोठा हेरेँ, अहो! जस्तो मैलेँ ५ बर्ष अघि छाडेकी थिएँ; उस्तै रहेछ,एउटा पन्ना पनि यता उति भएको रहेनछ। बरू भित्तामा टागिएका ती पेन्टिङका कागजमा किराहरुले तिकतिक प्वालहरू चाहीँ बनाउन भ्याए। एकछिनपछि आमाले मिठो खानाको स्वाद चखाई हाल्नुभयो।

आफ्ना छोराछोरीहरु विदेशमा सुखसयलमै भएपनि,बाआमाको मन नहो , लामो समयसम्म पनि सन्तान भेट्न नपाउँदा को छटपटी, घरमा मिठोमसिनो पकाउँदा सन्तानको याद अनि चाँडवाडमा टाढा हुँदा हुने पीडा मैले नभोगे पनि सहजै अनुमान गर्न सक्थेँ।

दशैंको माहोल भएकोले पर्यावरण पनि रमाइलो नै थियो। विशेसत: आफ़्नो पढाईको केही काम नेपालमा नै गर्ने उदेश्यले आएकाले केही दिनमै उक्त कार्यालयमा हाजिरी गर्न गएँ।

गेटमा आफ़्नो परिचयपत्र छोडेर म उक्त कार्यालयको बगैंचा हुँदै सोधपुछतिर जादै गर्दा मेरो नजर एक हरियो साइकल डोर्‍याउँदै गएको एउटा अग्लो केटामा गएर अडियो। कालो गगल्स लगाएको अनि कालै मान्छे पनि सोधपुछतिर जादै थियो। कस्तो ' ह्यान्सम' मान्छे रहेछ, मनमनै सोचेँ।

सोधपुछतिर लागेपछि आफ्नोसम्पूर्ण विवरण दिएर त्यहीँ कुरिरहेँ। एकछिनपछि एकजना मान्छेले आएर आफ़्नो परिचय दिएर मलाई पुरै कार्यालयको जानकारी दियो।

दशैंको समय भएकोले खासै अफिसमा कर्मचारीको उपस्थिति थिएन। पहिलो दिन भएकोले म पनि थोरै समय बसेर फर्केँ। मन भित्रभित्रै गदगद थियो। मलाई मैले काम गर्ने कार्यालय रमाइलो लागेको थियो।

घर पुगेपछि पनि एकछिन सोची रहेँ, को होला त्यो मान्छे भनेर! निलो टिसर्ट, निलो जिन्स, कालो कपाल, आँखामा कालो चश्मा, करिब ६ फीट उचाई, ठिक्कको मोटोपन कालै वर्णको, अझै भन्नुपर्दा  'ब्लैक बिउटी'। मैले उसको हुलिया यसरि नै सम्झेँ।

मनमा अनेक प्रस्नहरु उठे। के त्यो मान्छे त्यही कार्यालयमा नै काम गर्थ्यो? उमेरको हिसाबले अलिपाको नै थियो। एक आधुनिक पढे लेखेकी म जस्ती नारीले कोही राम्रो मान्छेलाई राम्रो भन्न पाउनु त आफ़्नो अधिकार नै होनि भन्दै मनमनै तर्क गरेँ।

यदि यस्तै कुरा कुनै पुरूषले गरेकोभए, सायद त्यसलाई अर्कै तवरले बिश्लेशण गरिन्थ्यो होला। तर,सबैको आ-आफ्नै दुई पाटा हुन्छन्। कार्यालयमा धेरै कामहरु भएकोले म प्रायः त्यसमै व्यस्त रहेँ। नयाँ भएकोले अरू सहकर्मीसँग त्यति घुलमिल भएको थिइन्।

आफ़्नो काम गर्यो अनि बस्यो। बेलाबेलामा लाग्थ्यो,को होला त्यो मान्छे! कार्यालयमा पनि खाजाखाने समय र कफीखाने समयमा मेरा आँखाहरू त्यही मान्छेलाई नै खोजिरहेका हुन्थे।

कहिलेकाही त लाग्थ्यो कि कतै मसँग भेटाउन भगवानले पठाएको मेरो सपनाको राजकुमार त होइन ऊ? म भित्रको भगवान प्रतिको विश्वासप्रकट हुन्थ्यो। ऊसँग पहिलो दिनमा नै परिचय नगरेकोमा पश्चताप हुन थाल्यो।

कार्यालयको बसमा जाँदा पनि वरिपरि हेर्ने गर्थें ता कि ऊ पनि छ कि,भनेर तर कतै पनि देख्दिन्नथेँ उसलाई। सोचेँ,सायद ऊ साइकलमा आउने भएकोले नदेखेकी पो होकि भनेर एक दुईदिन त म पनि साइकल चढेर कार्यालय पुगेकी थिएँ तापनि देखिएन कतै।

अब बसमा अरू सहकर्मीलाई सोध्नेकुरा पनि आउँदैन। किनकि नाम, काम केही पनि त थाहा थिएन मलाई। दिनहरु यसरी नै बित्दै थिए। सोधपत्रका विविध पक्षका कामले धेरै व्यस्त थियो समय।

एक त आफ़्नो सुपरभईजरले भने अनुसार नतिजा ल्याउनु थियो त अर्कोतिर फील्डको कामहरु धेरै थिए। विस्तारै शिशिर याम सकेर बसन्तऋतुको आगमन हुँदै थियो।

केहि सेमिनार अनि छलफलको काम पनि बाँकी थियो। लगभग ६ महिना बितिसकेको थियो अनि फेरि रिपोर्ट लेख्ने तयारीमा पनि थिएँ। कार्यालय खोज अनि अनुसन्धानमा आधारित भएकोले बेलाबेलामा विविध कार्यक्रमको आयोजना हुन्थ्यो र विद्यार्थी भएकोले प्राय:मा आफू पनि सहभागी भईरहनु पर्थ्यो।

थुप्रै खालका प्रेरणादायी कार्यक्रम हुँदा आफूलाई पनि रमाइलो नै लागि रहेको थियो। कति रमाइला थिए ती दिनहरू! अब त सहकर्मीहरु पनि धेरै नाजिकि सकेका थिए। मार्च महिना थियो। अन्तर्राष्ट्रिय महिला दिवसको दिन कार्यालयले ब्लग लेखाई प्रतियोगिता गरेको थियो। आफ़्नो काम पनि त्यससँग अलिकति मिल्ने भएकोले मैले पनि आफ़्नो समूहबाट ब्लग लेखेकी थिएँ। 

साथमा हप्तौ दिनदेखि खेलकुद पनि भईरहेको थियो। आफू त्यति खेलकूदमा नलाग्ने भएकीले आफ़्नो सहभागीता जनाएकी थिइनँ। अरू सहकर्मीको दबाबले आफूले पनि केही खेलमा भने नाम लेखाइ दिएँ।

जर्मनीमा हुँदा होस्टेलमा कहिलेकाहीँ टेनिस र ब्याटमिन्टन खेल्ने भएकीले  यी दुईमा नाम लेखाएँ। टेनिसमा आफ़्नो पालोअगाडि नै रहेछ। कस्तो होला खोइ? मनमा डर थियो तै पनि खेल त होनि, रमाइलो गर्न खेल्ने त होनि भनेर गएँ साथीलाई लिएर। हामीलाई खेलाउने मान्छे तिर लागेँ। मतझसङ्ग भएँ। हामीलाई खेलाउने मान्छे त उही मान्छे थिए जसलाई मैले कति खोजीनीति गर्दा पनि भेटेकी थिइनँ।

म हर्षले भुतुक्कै भएँ। आफूले खोजेको मान्छे एक्कासी आफूसामू पाउँदा त पहिला विश्वास गर्नै गार्ह्रो भयो। कतै सपना जस्तो पनि लाग्यो। अरे ! यो त बिपना नै हो! एकछिन त शीरदेखि पाउसम्म हेरि रहेँ। सपना नदेख्नेको पो छर ?

सपनाबिनाको जिन्दगी के जिन्दगी र! अत्यन्तै राम्रो मान्छे, सरल स्वभाव, अनि मिजासिलो, वर्णन गर्दा पनि कम हुन्थ्यो। उसले अरू टिमका सहकर्मीलाई खेलमा गाईड गर्दै थियो। टेनिस खेल्न गएकी म ,उसलाई एकटकले हेरिरहेँ। उसले मलाई चिनेको थिएन; चिन्नेतके , देखेको पनि थिएन। देख्न त मैले मात्र पो देखेकी थिएँ र एक देखाई मानै ऊ प्रति आसक्ती हुनु पनि आश्चर्य थियो। उसको बोली पनि पहिलो पटक सुनेँ।

हुन त राम्रा मान्छेको सबैथोक राम्रा नै लाग्छ भन्थे ; हो जस्तो पनि लाग्यो। उसको अनुहार एक झलकदेख्ने बितिकै अरु केही नसोचिकन राम्रो लागेको मान्छे थियो ऊ।

ऊ सित बोल्न मन लागिरहेको थियो ; बोलाउन मन लागि रहेको थियो तर कसरी बोलाउने , किन बोलाउने, यस्तै सोचि रहेँ। कठै! कसैसँग बोल्ने मन हुँदाहुँदै पनि बोल्न नसक्नुको पीडा कति गहिरो हुँदो रहेछ! मलाई आत्मग्लानीले पोल्यो।

फेरि ऊ कार्यालयमा कुन स्थानमा के काम गर्दो हो! या त अर्कै कार्यालयमा काम गर्दो होकि! अनि म कुन आधारले यति बेचैन हुँदैछु यसरी!ऊ त मात्र सामान्य मान्छे हो, आफूभन्दा नि अलिकति पाको उमेरको! अनि सोचेँ -'यो सब मैले एउटा साथीको नाताबाट सोचिरहेकी छु, बस त्यति हो।

साथी हुनत कुन उमेरले छेक्छ र?' यो दिमाग र मन पनि कति अस्थिर हुने रहेछ। पछि एक सहकर्मीलाई सोधेँ उसको बारेमा। अरे ! ऊ त कार्यालयको कुनै एकविभागको प्रमुख रहेछ। मत छक्क परेँ। त्यस्तो ठूलो पदमा रहेर पनि कति साधारण हुन सकेको बाई! अझ त लवाइखवाई त हाम्रै उमेरको जस्तो!

मेरो मनको बाँधले कत्ति खेर बोलौं जस्तो भयो। फेरि म बोल्ने कुरामा त्यतिपछि नपर्ने, जे पर्ला पर्ला, आफूलाई लागेको कुरा त बोल्नुपर्छ भन्ने लाग्छ मलाई। आफ्नो पालोमा टेनिस खेलिसकेपछि नजिक गएर सोधेँ -'तपाईँ कता काम गर्नुहुन्छ?' उसले हाम्रै कार्यालयको एक विभागमा गर्ने बताए।

मैले यो भन्दा अघि त कहिले पनि देखिनँ नि तपाईंलाई भनेर सोधेँ। अरे ! म पनि कस्ती! प्रमुख जस्तो मान्छे थोडीन हरेक विभागमा गएर गफगर्दा होर!आफूलाई थोरै भए पनि बोलेकोमा खुसी लाग्यो। पेशाले ऊ एक इञ्जिनियर रहेछ तर ब्यवहारले भने कति मिजासिलो! पछि फेसबुकमा पनि रिक्वेस्ट पठाएँ। उसले पनि स्वीकार्‍यो।

मैले मेरा सबै जिज्ञासा राखेँ। उसले कति सरल तरिकाले जवाफ दियो। अचम्मत के थियो भने त्यही कार्यालयमा हुँदाहुँदै पनि ६ महिनासम्म, त्यो पनि विभागीय प्रमुखलाई चिनेकी थिइन् ; मैले सिधै यो कुरा उसलाई पनि भनेकी थिएँ। उसले कति मिजासिलो रूपमा लियो ; मत यत्तिकै हुरुक्क थिएँ ; झन् त  मिजासिलो पाराकोअझ फ्यान भएँ।

उसले हाँस्दै भनेका थिए - ' तपाईँलाई त चिन्छु नि म ,तर नामले मात्र। ' किनकि हाम्रो सम्पूर्ण विवरण पहिला ऊ कहाँ जाने रहेछ। मैले पनि जिस्किँदै भनेँ -' उसो भए त अब हामीलाई केही काम पर्यो कि सिधै तपाईं कहाँ आउँछौँ नि !। ' उसले पनि भैहाल्छ नि भनेपछि त अरु के नै चाहियो र !

त्यसपछि त कार्यालय जानु जत्तिको रमाइलो अरू केही भएन। उसको एकझलक हेर्न भए नि म र मेरी साथी खाजाखान क्यान्टिन जान थाल्यौं। जबकि अरु बेला हामीघरबाट नै खाना ल्याएर कार्यालयको छतमा घाम तापीतापी खान्थ्यौं। अब त उसलाई हेर्न र ऊसँग हेल्लो भनेर बोल्न भए नि क्यान्टिन जाने भयौँ। क्यान्टिन बाहिर ठूलो बगैंचा थियो।

ऊ खाना खाइसकेपछि त्यही बगैंचा भित्र टेनिस खेल्थ्यो। म भने बगैंचामा ऊ टेनिसखेलेको हेरी रहन्थेँ। सुन्दर बगैंचाको वरिपरि विविध किसिमका चराहरु चिरविर गर्दै रमाई रहेका हुन्थे। बगैंचाको छेउमा आफ़्नो फरक लाली रूप रंग बोकेको गुलाब बोल्न खोजि रहे जस्तो ! मखमली, सूर्यमुखी फूलहरुले आफ़्नो शक्तिले भ्याएसम्मको यौवन छछल्काइ रहेको हुन्थे। सूर्यको चमक भन्दाफूलको चमकबढी भएको अनुभूति हुन्थ्यो।

ऊ अनलाइनमा हुँदा प्राय: म उसको बारेमा सोधिरहन्थेँ। हाम्रो कुराकानी अनलाइनमा भइरहन्थ्यो। हरेक दिन क्यान्टिनमा पनि हुन्थ्यो। कुनै दिनमात्र पनि ऊ नआउँदा नियास्रो लाग्थ्यो । यता मेरो सोधकार्यको काम पनि बिस्तारै सकिँदै थियो। बस दिनहरु रमाइलो तवरले बितिरहेको थियो।

उसलाई पनि प्राय: म विविध रमाइला केही लेख भेटाएँ भने इमेलमा पढ्नुस भनेर पठाउँथें। ऊ साइकलिङ्ग पनि गर्थ्यो। त्यही भएर केहि रोचक सामाग्री पाएँ भने पठाईहाल्थेँ। मलाई त ऊसँग बोल्ने बहाना चाहिएको थियो। ऊ बेलाबेलामा क्यान्टिनको बगैंचामा आएर कफी पिउँथ्यो।

म र मेरी साथी पनि क्यान्टिनमा आएर लस्सी पिउँथ्यौं। कहिले हाम्रो भेट हुन्थ्यो त कहिले हुँदैनथ्यो। प्राय: सेमिनारमा पनि म सधैं जान्थें , ऊ पनि आउँछ कि भनेर। कति कार्यक्रम हुँदाखेरी त हामीसँगै पनि काम गर्यौं। कस्तो रमाइलो हुन्थ्यो अनित! आफूले गरेको काममा पनि दिलो ज्यान लगाएर काम गर्ने प्रेरणा मिल्थ्यो उसलाई सम्झिन्दा मात्र पनि।

जब दिनभरी आफ्ना कामहरु सकाएर कोठामा पुग्थेँ, मनमस्तिष्कमा उसकै यादहरु आउँथे। साच्चैं, उसलाई देखेपछि, भेटेपछि अनि बोलेपछि मेरो दैनिकी धेरै रमाइलो भए जस्तो आभास हुन्थ्यो। मनलाई एउटा प्रश्न गरेँ - 'ऊ कोहो ? किन उसलाई यति धेरै प्रेमभावले हेर्दैछु म?। 'प्रेम गर्ने मान्छेहरु देख्दा रंगमंचमा नाटक प्रस्तुत गर्ने नाट्यकर्मी जस्तै लाग्ने गर्थ्यो , तर अहिले किन मेरो मनमा दीगोप्रेमको न्यानो अनूभूति भएको होला!

आफ्नै मनसंग कुरा गर्थेँ यसरी नै म । सायद समयलाई मैले चाहेर रोकिने भए, ऊसंगको त्यो पहिलो भेट, पहिलो हेराई अनि पहिलो मुस्कानलाई रोकीरहन्थेँ होला। ‍एकदिन फेरि कार्यालयमा एउटा कार्यक्रम थियो। वातावरण दिवसको अवसरमा सरसफाइको कार्यक्रम थियो गोदावरीको जंगलमा। ऊ त्यो कार्यक्रमको संयोजक थियो, त्यसैले म नजाने त कुरै थिएन। त्यो दिन बिहानै कार्यालय पुगेका थियौं हामी सहकर्मीहरु।

पानी पनि सिमसिम परिरहेको थियो ता पनि हामी रमाइलो गर्दै गयौं। ऊ साइकलमा आयो। त्यसपछि हामी कार्यक्रममा लाग्यौं। त्यो दिन हामी दिनभरीसंगै काम गर्यौं र धेरै कुरा गर्ने मौका पनि पायौं। अघिल्ला वर्षहरुमा साइकलिङ हुँदो रहेछ।तर,यो वर्ष भने सामान्य सरसफाईको मात्र कार्यक्रम भएको रहेछ। मैले उसलाई किन साईकलिङ कार्यक्रम न गर्नुभएको, नत्र हामी पनि साइकलिङ गर्न हुन्थ्यो नि भनेर जिस्किएँ। ऊ मुसुमुसु मात्र हाँसिरहयो। 

उसलाई मैले त्यो दिन धेरै नजिकबाट बुझ्ने मौका पाएँ। ऊ कति असल, कति राम्रो ! त्यो त वयान गरेर साध्य छैन। ऊ वास्तबमा मान्छे नै धेरै राम्रा! कार्यालयमा पनि धेरै केटीहरु ऊ भनेपछि भुतुक्कै हुने रहेछन्। एकदिन ऊ अनलाईनमा आउँदा मैले उसलाई जिस्क्याएँ कि उसलाई कार्यालयमा सबैले मनपराउँछन्, माया गर्छन् भनेर ! ऊ अलि भावुक हुँदै सोध्यो-' अनि तपाईंले नि? 'लौ किन भुतुक्क हुनु र नि हामी भनेर मैले हाँसेर टारि दिएँ।

मनमा त थियो नि ऊ प्रति अथाह प्रेम तर बाहिर प्रकट गरेर कहाँ आत्मा समर्पण गर्नु र! तर जतिनै अपारमाया गरे पनि जिन्दगीमा मायाले मात्र त कहाँ पुग्दॊ रहेछर नि! हामी बिचमा माया त छ नि धेरै तर त्यो भन्दा पनि अरु धेरै कुराहरु थिए। म नेवार समुदाएकी अनि ऊ क्षेत्रीको छोरा! हुनत आधुनिक समाज धेरै नै अघि बढिसकेको छ।हामी जस्ता नरनारीले कहाँ यस्ता कुरा गरेर हुन्छ जस्तो नि लाग्छ। तर,अर्को तिर हामीले समाज र परिवारको भावना पनि बुझ्नुपर्ने हुन्छ।

जर्मनीमा हुनत बिहे गर्दैन् प्राय : मान्छेले। आफूलाई मनपर्ने मान्छेसँग बस्ने अनि यदि बस्न मन लागेन भने छुट्टै बस्ने चलन छ। यस्तो कुरामा छोराछोरीको मात्र सहमति नभई परिवारकै सहमति हुन्छ र त प्राय: विकसित देशमा बिहे गर्ने र जातका कुरा त्यति हुँदैनन्। जस्तो सुकै वातावरणमा बसे पनि हामी नेपाली संस्कृतिको धरातल बोकेका मनोवृति बोकेकाले हामीलाई यस्ता कुराले यो आधुनिक २१ सौंशताब्दीमा पनि प्रभाब पार्दो रहेछ।

मलाई पनि यस्तै कुराले प्रभाव पार्‍यो। जर्मनीमा पढेर पनि म हाम्रो सामाजिक संस्कृतिबाट अछुतो रहिनँ। हुनत मैले साहसी भएर भन्नन खोजेकी पनि होइन।तर,आफ़्नो स्वार्थ मात्र हेर्दा, त्यसले समाज र परिवारमा पर्ने असर पनि हेर्नु पर्दो रहेछ।

एकदिन हामी सहकर्मीहरू मिलेर शनिबार चित्लाङ जाने कार्यक्रम बनायौं। मलाई कति डर थियो कि ऊ त्यो टूरमा न आउँला भनेर। बल्लबल्ल हामीले सबै कार्यक्रम मिलायौँ। शनिबार बिहान हामी शहिद गेटमा भेट्ने कुरा थियो। ऊ सातदोबाटोबाट आउने भएकोले लगनखेलबाट सँगै जाने कुरा भयो। हामी बसमा बस्यौं र बाटा भरि दोहोरी गाउँदै, नाच्दै गयौं।

ऊ बसेको सीटसँगै म पनि बसेकी थिएँ। मैले पनि ऊ सँग गफगर्दै, बाटामा देखेका रमाइला दृश्यहरु क्यामेरामा कैद गर्दै गएँ। मैले उसलाई एक्कासी भनें - ' म तपाईँलाई धेरै मन पराउँछु !' ऊ अक्कन बक्क पर्‍यो। अरू सहकर्मीहरु गीत गाउँदै ताली पिट्दै नाचिरहेका थिए। म पनि अगाडि सीटमा गीत गाउन गएँ।

आफूले बोलेको शब्दले आफैंलाई गिज्याए झैं लाग्यो। कुलेखानी तिर धेरै लामो जाम थियो। हाम्रो बस पनि सडकको एक्का पट्टि थियो। मैले पछाडि फर्केर उसको आँखामा पुलुक्क हेरेँ। कलेटी परेको उसको ओठले केही बोल्न खोज्दै थियो सायद। गोधुली सन्ध्या बिस्तारै ढल्किदै थियो। त्यति बेला लाग्यो; अनगिन्ती ताराहरु मध्ये एउटा तारा चमक्कचम्कि रहेको थियो; त्यो हो हाम्रो प्रेम ! 

बल्ल २ घण्टाको जामपछि खुलेको बाटोमा बिस्तारै बस गुड्न थाल्यो। हामी बेलुका तिर पुग्यौं चित्लाङ ,त्यो सुन्दरगाउँ। पुग्ने बितिकै मकै र चियाले स्वागत गरियो। झरीको समय भएकोले जुकाको बिगबिगी थियो त्यहाँ। हामी घरिघरि आफ्ना खुट्टातिर आँखा डुलाउँथ्यौं , कतै जुका छ कि भनेर।

हामी कटेजमा बस्यौं। हामी ससानो समूह बनेरआ-आफ़्नो कोठामा गयौं। साँझतिर अरूसहकर्मीहरु क्यामफ़ाईरिङ गर्ने भनेर बाहिर निस्किए। बाहिर सबैजना गोलो भएर बसीरहेका थिए। ऊ पनि त्यहीं रहेछ। मलाई अलि अपठ्यारो लाग्यो उसलाई देखेर।मैले ऊसँग आँखा जुधाउनै सकिन्नँ। म कस्ती स्वभावकि छु, राम्रोसँग आफूलाई पनि थाहा छैन। तर,मलाई नजिकबाट चिन्नेहरु भन्थे कि म हक्कीछु, बोलेको कुरा गरेरै छाड्छु। 

सहकर्मीहरु गीत गाउँदै नाच्न थाले। मलाई पनि नाच्न त कति मन थियो नि।तर,ऊ त्यहाँ भएकोले मैले राम्रोसँग कुरा पनि गर्न सकिनँ। हाय! यो कस्तो क्षण आईपरेको जिन्दगीमा, अगाडि नभए नि छटपटी, भए निछटपटी ! ऊ एकछिनपछि चुरोट सल्काउँदै अर्को टेबलनेर गयो। हातमा रक्सीको ग्लास समाउँदै। मलाई अलि कस्तो कस्तो लाग्यो। गितार बजाउँदै एक सहकर्मीले गीत गाउँदै थियो -'यो सम्झिने मन छ, म बिर्सू कसरी......' लाग्यो त्यो गीत मैले नै गाइरहेकी थिएँ मात्र उसको लागि।

अब लाग्यो उसले मलाई वास्तै गर्न छोडिसक्यो। किनकि,ऊ चुरोट सल्काउँदै रक्सी पिउँदै आफ्नै धूनमा थियो। बाहिरबाट राम्रो देखिने मान्छेहरू भित्रबाट साह्रै कपटी हुन्छ जस्तो लाग्यो। एक मनले त लाग्यो, आजकालको जमानामा नपिउने को हुन्छर? अरु को त के कुरा! जर्मनीमा हुँदा म आफैं पनि त कति बियर पिउँथेँ। हरेक साताको अन्त्यमा रातभरी पार्टी गर्दै हिद्थेँ।

अर्को मनले सोचें - ' अरे! त्यो त विदेश पो हो, त्यहाँ त स्वतन्त्रता छ। कसैलाई कसैको मतलब हुँदैन,तर यो त नेपाल पो हो अनि हामी नेपाली। आफ़्नो नेपाली संस्कार त बिर्सनुभएन नि! यस्तै भावनाहरुको अन्तरद्वन्दगीतको पृष्ठभूमिमा चलिरहे।

वास्तबमा जिन्दगीहरु शरीरभन्दा बढी भावनाहरुको नदी हो, जहाँ नदीले बाटो फेर्छ, त्यतिबेला धेरैको तहस नहस हुन्छ।अनि जब सपनाहरु भावनाको भंगालो बनेर निस्किन्छन; त्यसको क्षतिपूर्ति सधैं अपुरै हुन्छन्। हैट! रमाइलो टुरमा आउँदा नि नानाभाँतीका कुरा गरेर बसेकी होला भनेर अरु सहकर्मीसंगै नाच्न थालेँ।

अब पिउदिनँ त भनेकी थिएँ नि। तर,के छर जिन्दगीमा भनेर एक ग्लास वाईन पिएँ। सबैलाई मात लागेपछि बिस्तारै आफ्नो कोठामा लाग्यौं सबैजना। मोबाइल हेरेँ। मेसेंजेरमा उसकै मेसेजआएको रहेछ। निन्द्रा कै सूरमा हेरेँ। लेखेको थियो -' के तपाईँ मसँग बिहे गरेर मेरो घरबार सम्हाल्नुहुन्छ?'

अर्धनिन्द्रा मै पढेर हाँसो उठ्यो। अरे! मैले त उसलाई मनपर्छ पो भनेकी थिएँ, बिहे नै गरेर घर समाल्न त भनेकी छैन नि! एकतिर वाईनले टाउँको दुखिरहेको थियो भने अर्कोतिर उसका कुराले पारो ताति रहेको थियो। ठिकछ बाबा, मनपरेपछि माया गरिन्छ र बिहे पनि गरिन्छ अनि अन्तत : घरबार पनि हेरिन्छ तर यी सबकुरा भनेका त पछि आफसे आफ बहन गर्दै जाने कुरा हुन, सांसारिक नारीका जिम्मेवारीहरू हुन्, उसले सिधै यी उसका जिम्मेवारीहरु नारी माथि थोपार्नु त अन्याय हो।

म मनमनै मुर्मुरीएँ। पहिला पढ्थेँ किलोग्नेका निम्ति सबै सपनाहरु कसरी मनको चिहान घारीमा गाड्न सक्छ न्नारीहरु भनेर। अहिले आएर सोकुरा आफैंमा लागू हुँदाआफैं माथि दया जाग्यो। लाग्यो सायद नारी मनको चिहानघारी उत्खनन् गर्ने हो भने त , सपनाका कंकालहरु कति भेटिन सक्छन होला ! त्याग र तपश्याकी प्रतिमूर्ति नारीलाई पुरुष मनोविज्ञानले किन वुझ्न सक्दैनन् होला! उफ! कति साँघुरो छ नारी प्रति पुरुष मनको सोचाई! यस्तै कुराले दिमागमा कुस्ती खेल्दै थियो। 

भोलि बिहान सहकर्मीहरुको हल्ला सुनेपछि बल्ल निन्द्रा खुल्यो। टाउको भारी थियो, लाग्यो सपना देखेर मन मस्तिस्क सबै आलश्य भइरहेको छ। चिया खाने समय भएर हामी सबैजना बैठक तिर लाग्यौं। अरू सबैजना पनि हस्याङफश्याङ गर्दै आइरहेका थिए। मैले चियाको चुस्की मात्र के लिएकी थिएँ , ऊ पनि आयो चिया खान! पुलुक्क हेरेँ अनि अलि अलि रिस पनि उठ्यो हिजोको कुराले।

उसले पनि वरिपरि हेरेर केहि मन्द मुस्कान दियो। मनमा नपोखिएका रिस हुँदाहुँदै पनि ऊ नजिक हुँदा खेरि आभाष भने छुट्टै आनन्दको थियो। सायद यो उसकै प्रेमको प्रभाव थियो। हुनत मन पराएर मात्र त के नै हुन्छर! हामी बीच धेरै कुराहरुको भिन्नता थियो। हुन त यी यस्ता यावत कुराहरु भनेका हाम्रो समाजमा रहेका कुरा हुन्। यी सोच्दा त कहिलेकाँही उदेक लाग्छ।

यस्ता कुराहरु भनेका हाम्रो समाजमा बिधेमान पुराना सोचाईहरु हुन्; यसलाई अलि परिमार्जन गरेर लैजान सकिन्थ्यो यदि हामीले आफ़्नॊ सोंचलाई अलिमाथि उठेर सोच्यौं भने।तर,सोचे जति सजिलो भने पक्कै छैन। केही वर्ष विदेशमा बस्दा सोँचमा परिवर्तनन आएको पनि होइन।तर,त्यसलाई व्यवहारिकतामा लागू गर्न त्यतिनै मुस्किल हुँदो हो! जसरि अहिलेको अवस्थामा छ।

मैले उसलाई छड्के नजरले एकटकले हेरिरहेँ। धेरै माया लागेर आयो ।किनकि,आखिरमा मनपरेको मान्छे थियो ऊ। उसलाई हेरिरहेँ भने अझै सदियौं हेरिरहुँ जस्तो लाग्ने! उफ! यो छोरीको जात; अर्काको घर जानुपर्ने। सदियौं देखि चल्दै आएको चलन मैले मात्र त के फेर्न सक्थेँर! आधुनिक युगकी केटी भएर पनि उसको अगाडि कसरी झुक्न पुगेँ म!

अरू कसैले कुनै काम गर्न बाध्य बनाउन खोजेको भए ठाडै प्रतिकार गर्नलाई केही गाह्रो हुने थिएन।तर,आफूलाई मनपर्ने मान्छेसँग भिड्न धेरै गाह्रो हुँदो रहेछ ! बल्ल अनुभूती गरेँ। त्यसपछि हामी सबै जना चित्लाङको गाउँ अबलोकन गर्ने कार्यक्रम थियो। त्योभन्दा पहिला केही तस्बिर खिचाउने कुरा भयो। केही तस्बिरहरु खिच्यौं हामीले सम्झनाको लागि। ती तस्बिरहरू हेर्यौं पनि! कति राम्रो देखिएको थियो ऊ, समूहको तस्बिरमा! हेर्दै माया लाग्ने। उही निलो टिसर्ट र निलो जिन्समा अनि कालोचस्मा! मन त थियो नि ऊसँग मात्र पनि तस्बिर लिने। तर,डर थियो मनमा।

हामीले साउने झरीसंगै त्यो चित्लाङको हरियाली अनि जुकासँगै पैठेजोरी खेल्दै त्यहाँको सौन्दर्य अबलोकन गर्‍यौं। घरि उकालो त घरि ओरालो थियो बाटो। कति बाटो त खेतको गरागरा हुँदै जानुपर्ने! ऊ पनि हाम्रो पछिपछि थियो। ऊ साइकलिङ गर्नेभएकोले धेरै कुरा थाहा थियो उसलाई यस्ता गोरेटाहरुको बारेमा।

मानौं ऊ हाम्रो गाईड जस्तो भएर बयान गर्दै थियो। हिड्दा हिड्दै सानॊ ढुंगामा लागेर झन्डै म लडेकि,तर उसले अपझर्ट समाति हाल्यो। यस्तोमा पनि हिल जुत्ता लगाउनुपर्ने भनेर मेरो देब्रे हात समाती रहेको थियो उसले। उसको पहिलो स्पर्श र आत्मीय व्यवहारले म हुरुक्कै भएँ। बाटाभरि रमाइला गफगाफ भए।

एकदिन मेसेन्जेरमा उसले शनिबार भेट्ने कुरा गरे। मैले नि भोलि क्यान्टिनमा भेटौला नि भनेर हासि दिएँ। उसले बाहिरै भेट्ने कुरा गर्‍यो। मनमा खुल्दुली भयो किन होला भनेर। कुर्ता सुरुवाल लगाएर अलि सजिएर गएँ। एउटा कफी शपमा कुर्दै थियो ऊ। निलो सर्टर निलो जिन्समै थियो ऊ। सायद उसको ड्रेसको डनै थियो।

देख्ने बितिकै सिरदेखि पाउसम्म नियाल्दै थियो ऊ मलाई। कफी मगाएर आयो पनि। अनि चिनी हाल्दै उसले भन्यो -'हेर्नुस, तपाईं हामी भनेको धेरै फरक छौँ। ' उसको कुरालाई बिचमै काटेर मैले जे भन्नुछ सिधै भन्नुस भनेँ। उसको मोबाइलमा देखाउँदै यो केहो भने। मैले 'तपाईं ' भनें। उसले गम्भीर हुँदै मलाई ऊबाट टाढा हुनको लागि सम्झाई रहेको थियो।

उसले भन्दै थियो कि कसैलाई प्रेम गर्नु कुनै पाप होइन तर त्यो प्रेमले गन्तब्य पाउनु ठूलो कुरा हो। मैले भनिहालेँ - ' उसो भए तपाईँ किन यो कुराबाट मोड्न खोज्नुहुन्छ? स्वीकार किन गर्नुहुन्न?'  मेरो प्रश्नले ऊ चुपभयो र अतितका कुराले सायद उसलाई चिन्तित बनाएको हुनुपर्छ।

मैले आफूमात्र,आज र भोलिको सरोकार रहेको कुरा भनेँ। उसले लामो सुस्केरा तान्दै भन्यो -' सोचे जति जीवन सहज छैन, त्यही भएर प्लीज , मेरो कुरा स्वीकार गर्नुहोस , किन भनेर नसोध्नुस प्लीज। ' उसको एस्तो कुरा सुनेर छक्क परेँ म एकछिन। तर पनि उसको भावनालाई कदर गर्दै चुप बसेँ। मनमा त थियो नि हजार कुराहरु उसलाई सोध्न। तै पनि उसकोअनुरोधलाई टार्न सकिनँर भारि मन लिएर फर्केँ।

फर्किने बेलामा उसले एकटकले मलाई हेर्‍यो। त्यसै त्यसै आँखा भरिएर आए। अरे ! म कहाँ त्यस्ती रून्चेकेटी होर भन्दै आफूलाई सम्हालेँ उसको धेरै माया लाग्यो मलाई यति बेला। उसलाई दिल खोलेर भन्न मन थियो कि म तिमीलाई धेरै माया गर्छु, उषाको लाली जस्तै न्यानो अनि चोखो, तर भन्ने आँट आएन।

घर पुगेपछि मोबाइलमा मेसेज आयो। उसकै रहेछ। लेखेको थियो - 'तिम्रो मनपरेको मान्छेले तिमीलाईअथाह प्रेम गर्छ,तिम्रो त्यो पहिलो हेराई अनि मुस्कानलाई माया गर्छ किनकि मेरी मनपरेकी मान्छे तिमी!' मेसेज पढेर एकछिन अलमलिएँ- 'अखिरमा मनपरेको मान्छे ऊ कि म!'

प्रकाशित मिति: : 2021-10-24 15:20:00

प्रतिकृया दिनुहोस्