कालिञ्चोक, चरिकोट अनि जिरी पर्यटनको पर्याय

काठमाडौंबाट भक्तपुरहुँदै धुलिखेलबाट दायाँ मोडिएपछि देखिएको हरियाली फाँट।

काभ्रेभञ्याङ भकुण्डेबेसी, मङ्गलटार, नेपालथोक हुँदै अगाडि बढ्दा बाटो किनारमा देखिएका रमणीय बस्ती र प्रकृतिमा रूमल्लिँदै सिन्धुलीको खुर्कोट कटेको पत्तै भएन। मन्थली तिर मौडिदैँ जन्मथलो जिरीको यात्रा गर्दा मन त्यसै पनि फुरूङ्ग थियो।

यात्राभर मित्रहरू अमृत भादगाउले, घुमफिरे सुरेन्द्र र चन्द्र काफ्लेलाई मिस भइरह्यो। सँगै यात्रा गर्ने तयारी गरेका हामीले केही परिस्थितिले संयोग यो पटक पनि जुरेन।

अरनिको राजमार्ग अन्तर्गत जिरी-लामोसाँघु सडक निर्माणाधिन भएकाले अधिकांश दोलखा जाने यात्रुहरू बिपी राजमार्गको खुर्कोटसम्म र मन्थली हुँदै तामाकोशी किनारै किनार गन्तव्यमा पुग्छन्।

जापान सरकारले बनाइदिएको बिपी राजमार्ग नेपालको पूर्वी तराईका लागि काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक हो।

अत्याधुनिक जापानिज प्रविधिबाट बनाइएको यो बाटो नेपालकै नमूना बाटो हो।

सुनकोशीको तिरैतिर हरियाली फाँटमा झुलेका धानबारी र हरियाली डाँडाकाडा अनि राताम्मे डाँडा नियाल्दै धुलिखेबाट ८२ कि.मीको यात्रापछि खुर्कोट पुग्यौँ।  त्यसपछि बाँया मोड्दै रामेछापको सदरमुकाम मन्थली पुगियो।

तामाकोशीको किनारै किनार भिरालो बाटोहुँदै नर्वे सरकारद्धारा निर्मित खिम्ती हाइड्रोपावरहुँदै र सुन्दर बस्ती किर्नेटार, देवीटार हुदैँ दोलखाको माझीगाउँ भएर तामाकोशी पुगियो।

तामाकोशीको कलकल आवाजले गाडीमा बजेको गीतलाई संगीत भरेझै सुनिन्थ्यो।

तामाकोशी पुगेपछि त्यहाँको लोकल माछा र चिसो बियरको चुस्कीले थकान र गर्मी मेटियो।

यात्रामा थप जोश आइरहेको थियो।

वर्षायाममा कालिन्चोक भगवतीको दर्शन साथै कालिन्चोक भगवती मन्दिरबाट खुला आकाशमा हरियाली र उत्तरी भेगमा सेता दाँत झैँ मिलेर बसेको हिमालहरु हेर्न पाउने भएकाले हाम्रो यात्रा तामाकोशीबाट कालिन्चोकतर्फ मोडियो।

चरिकोटमा दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्कीसँग भेट भयो। दोलखा पर्यटन सम्बन्धी केही कुरा गरेर दिउँसो करिब ३  बजे तिर हामी कालिन्चोकतर्फ अगाडि बढ्यौ।

चरिकोटबाट कालिन्चोकसम्म बाटो राम्रो बनाइसकेको रहेछ। वर्षामा पनि साना चार पाङग्रे गाडी सहज आवातजावत गर्नसक्ने गरी बाटो बनाइएको रहेछ।

चरिकोटबाट करिब १८ कि.मीको दुरी पछि कुरी उपत्यका पुग्यौं। माता कालिन्चको दर्शनको बेसक्याम्प रहेको कुरी बजारमा त्यो रात बिताइयो।

दिकी होटल एण्ड गेष्ट हाउसका सञ्चालक डम्बर लामाले कालिञ्चोकमा पर्यटनको प्रसस्त सम्भावना रहे पनि सरोकारवालाको कमजोरीले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको गुनासो गरे।

कालिन्चोक पर्यटनको सम्भावना र तत्कालको अवस्थाबारे केही भलाकुसारी गरेर भोलिपल्ट बिहानै कालिन्चोक दर्शनमा गयौं।

अघिल्लो दिन पानी परेकोले त्यो दिन बिहानैदेखि आकाश खुलेको थियो। त्यसपछि केबलकारमा ५ सयको टिकट काटेर कालिन्चोक भगवती मन्दिर पुगी दर्शन गरियो।

समुन्द सतहदेखि करिब ३८४२ मि. उचाईमा रहेको यो मन्दिरबाट देखिने दृश्यले मनमा छुट्टै आनन्द ल्याएको थियो।

वरिपरि टल्कने हिमालहरूले हामीलाई जिस्काइरेको थियो। विगतका वर्षायाममा सुनसान जस्तै हुने कालिन्चोक यसपाली दर्शनार्थीहरु बढेका रहेछन्।

यस्तै हो भने यसपालि हिउँदमा हिउँको समयमा पर्यटकलाई थाम्न कुरी बजारलाई ठूलै चुनौती हुनेछ।

कालिन्चोकलाई बिदा माग्दै भिमेश्वर मन्दिरको दर्शनका लागि पुनः चरिकोट हिँड्यौ।

चरिकोटबाट उत्तरतर्फ रहेको किराँतको पालादेखि छुट्टै ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचान भएको भिमेश्वर मन्दिरमा भैरव, शिव र भिमको पूजा गर्न पाइन्छ।

नेवार जातको बाहुल्यता रहेको यस मन्दिरमा बडादशैँ, चैते दशैँ अन्य चाडपर्वमा मेला लाग्ने गर्छ।

भिमेश्वरको दर्शनपछि हामी जिरी यात्रामा अगाडि बढ्यौं।

चरिकोटबाट ५७ कि.मी. दुरीमा रहेको जिरी एक सानो उपत्यका हो। एसियाको स्वीजरल्याण्डको उपनामलेसमेत चिनिने जिरी विशेषत मौसमको हावापानीको दृष्टिकोणबाट एकदम राम्रो छ।

स्वीजरल्याण्डको जुरिच शहरसँग भौगोलिक दृष्टिले उस्तै रहेको जिरी गेटवे टु एभरेष्टको नामले समेत चर्चित छ।

सगरमाथाको शिखर पहिलो पटक चुम्न सफल एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरीहुँदै सगरमाथा गएकाले यसलाई सगरमाथाको प्रवेशद्वारसमेत भनिदै आएको छ। तर, अहिले सगरमाथा आरोहणको लागि सिधै लुक्लाको उडान पाइने भएकाले विदेशी पर्यटकको आगमन कम भए पनि आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्यस्थलको रुपमा परिचित छ जिरी।

तामाकोशीबाट हरियो लोकल काँक्रो र खुर्सानीको स्वादमा जिब्रो टोक्दै जिरी जाने उकालो घुम्ती बाटो चढ्दा चिसो हावाको स्पर्शले शरीर हलुका बनाएको थियो।

रमणीय सल्लाघारीको बीचबाट नाम्दु, मैनापोखरी हुँदै रामायणको कथामा हनुमानले उचालेको डाँडा हनुमन्ते डाँडाका काखमा रहेको खावामा प्रवेश हुँदै गर्दा स्वर्गीय अनुभूति हुनेगर्छ।

चारैतिर हनुमन्ते, चेर्ढुङ्ग, तामे जस्ता डाँडाका काखमा लुटुपुटु गर्दै समुन्द्र सतहीबाट १९०५ मिटरदेखि माथि रहेको जिरी आन्तरिक पर्यटनको लागि गतिलो गन्तव्य  बनेको छ।

जिरेश्वरी, हलोसी, सेतीदेवी, रम्बोले जस्ता प्रख्यात मन्दिरहरुले धार्मिक महत्व बढाएको छ। जिरी बजार वरिपरि रहेका गाइ फार्म (पशु विकास फर्म), जिरी प्राविधिक शिक्षालय, गुम्बा, पथसम्भबहरू घुमफिर गरी चेर्ढुङ्ग, गुँरास पार्क, ठूलोनागी, हनुमन्ते डाँडा शेर्पाहरुको यलुङ बस्ती, जिरेलहरुको सिक्रीबस्ती, सुनुवार र तामाङको  ठूलो पातल बस्तीहरु घुम्न सकिन्छ।

घुमघाम गरी थकाइ मेट्न जिरीको साँझपाख विभिन्न स्थानीय लोकल खानाको परिकारमा रमाउन सकिन्छ।

बेलुका गुम्बाको अवलोकन गरी चौंरीको चिज उत्पादन केन्द्रको उकालोतिर हेर्दा कहिल्यै चढौं त्यो उकालो भन्ने सोचिरहेको थिएँ। तर, साँझ परिसकेछ।

कुडारका लावती झरना वाह! कति राम्रो, चियाबगानको काखमा, रेन्वो ट्रावट माछाहरु हेर्दै झरनाको छङछङ आवाज वाह!

भोलिपल्ट जिरेश्वरी दर्शन गरि मनको कामना पूरा होस् भनी कामना गरी तेस्रो दिन काठमाडौं फर्किएँ।

जिरी नगरपालिकाले पर्यटनलाई केन्द्रमा राखेर विकासमा जोड दिइरहेको छ। विभिन्न रमणीयस्थलमा पार्क निर्माण गरिरहेको छ।

गुँरास पार्क जहाँ विभिन्न थरीका,  विभिन्न रङ्गीचङ्गी गुँरास हेर्न पाइन्छ। त्यहाँ पोखरी निर्माण गरिँदै छ। हनुमन्ते डाँडामा एसियाकै ठूलो हनुमानको मूर्ति निर्माण गरिने योजना बनाएको छ। जिरीको एयरपोर्ट फाँटमा ताल निर्माण गरि नेपालको नै उत्कृष्ट पर्यटकीय गन्तब्यस्थल बनाउने योजना साथ अघि बढेको छ जिरी नगरपालिका।

प्रकाशित मिति: : 2020-01-02 03:50:17

प्रतिकृया दिनुहोस्