दोलखामा भ्रमण वर्षको आकर्षण किवी महोत्सव 

दोलखामा पर्यटकलाई आकर्षित गर्न किवी महोत्सवको आयोजना गरिएको छ।

सरकारले मनाउँदै गरेको नेपाल भ्रमण वर्ष २०२० लाई थप आकर्षक बनाउन भन्दै नेपालमै पहिलोपटक किवी महोत्सव गरिएको हो।

किवी फल खेती गरिने दोलखा पनि पहिलो जिल्ला हो।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले किवीको विरुवामा मल र पानी हालेर महोत्सवको बिहिबार चरिकोटमा उद्घाटन गरे।

भीमेश्वर नगरपालिकाको आयोजनामा भएको महोत्सव एक सातासम्म चल्नेछ। महोत्सवमा जिल्लाभरिका किसानहरुले किवीफलका स्टलहरु राखेका छन्।

नेपाल मै पहिलो पटक दोलखा जिल्लामा व्यवसायिक रुपमा खेती गरिएको किवी फललाई पहिचान दिन किवी महोत्सवको आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

भ्रमण वर्षलाई स्वागत गर्न दोलखा सदरमुकाम चरिकोटमा किवी महोत्सवको आयोजना गरिएको हो। 

दोलखालाई पर्यटकीय जिल्लाको रुपमा चिनाउने उद्धेश्यले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर किवी महोत्सवको आयोजना गरिएको हो ।

दोलखा जिल्लाभरका किवी कृषकहरुले स्टलमा किवी फलका साथै किवीबाट बनेका जुस, जाम तथा लस्सीहरु राखेका छन्। 

महोत्सवमा आएका आगन्तुकहरुलाई उनीहरु किवी फल, जुस, जाम तथा लस्सी चखाउने गरेका छन् ।

किवी फलका साथै महोत्सवमा अन्य स्थानीय फलहरु पनि राखिएका छन्। 

दोलखा जिल्लामा पहिलोपटक २०४३ सालताका लामोसाँगु जिरी सडक निर्माणको क्रममा आएका स्विस नागरिक इन्जिनियर जेएफ मेस्सीले किवी फल ल्याएका थिए। 

सदरमुकाम चरिकोटस्थित श्याम खड्काको घरमा लगाइएको किवीको बोट नै नेपालको पहिलो हो। त्यही किवीबाट खड्काले २०५८ सालदेखि व्यवसायिक खेती गर्न थालेका हुन्। दोलखामा मुख्यगरी हेवार्ड, एलिसन तथा मोन्टी जातका किवी लगाउने गरिएको छ ।

अहिले दोलखा जिल्लामा करिब ४५० हेक्टरमा किवी खेती गरिएको छ । जिल्लामा यो वर्ष करिब ४५० मेट्रिकटन किवी उत्पादन भएको र ३०० मेट्रिकटन बढी किवी बजारीकरण भएको किवी जोन दोलखाका प्रमुख मोहनप्रसाद खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-03 06:53:43

प्रतिकृया दिनुहोस्