टोटनह्यामलाई पन्छाउँदै लिभरपुलले जारी राख्यो अपराजित यात्रा

इङलिश प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। गएराति टोटनह्याममाथि १-० गोलको जित निकाल्दै जारी लिगको २१औं खेलमा अपराजित रहेको हो।

लिभरपुलको जितमा ब्राजिलियन स्ट्राइकर रोबेर्टो फिर्मिनोले निर्णायक गोल गरेका थिए। उनले खेलको ३७औ मिनटमा मोहमद सलाहको पासमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।

लिभरपुलले यो जितसहित यस सिजनमा २१ खेलमा २० खेलमा जित हासिल गरेको हो भने एक खेल बराबरी खेलेको छ।

सन् २०१९ को जनवरीमा म्यानचेस्टर सिटीसँग पराजित भएयता अहिलेसम्म लिभरपुलले खेलेका ३८ खेलमा अपराजित रहँदै आएको छ ।

यो जितपछि लिभरपुलको अंक तालिकामा ६१ अंक जोड्दै उपाधि होडमा निकै अगाडि छ। दोस्रो स्थानमा रहेको लेस्टर सिटी एक खेल बढी खेले पनि लिभरपुलभन्दा १६ अंकले पछाडि छ। यस्तै तेस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीले ४४ अंक जोड्दा चौथो स्थानमा रहेको चेल्सीको ३९ अंक छ। यस्तै २२ खेलबाट ३४ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तालिकाको पाँचौ स्थानमा छ।

लिभरपुलसँग पराजित टोटनह्याम भने २२ खेलमा ३० अंक हासिल गर्दै आठौं स्थानमा झरेको छ ।

लिगमा २१ औं खेलसम्म अपराजित लिभरपुलले क्लवको एक सय ३१ बर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमानसमेत बनायो।

प्रकाशित मिति: : 2020-01-12 20:49:16

प्रतिकृया दिनुहोस्