रोहित अब घरेलु मैदानमा हुने विश्वकप छनोट खेल्न नेपाल आउनेछन्

दीप सुवेदी

काठमाडाै‌ं

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द अष्ट्रेलिया लागेका छन्। रोहित बिहीबार नेपालबाट एक कार्यक्रममा सरिक हुन अष्ट्रेलिया प्रस्थान गरेका हुन्। उनलाई तामाङ रिक्रियसन क्लबको आयोजनामा हुने छैटौं एक्स्पर्ट एजुकेसन कप २०२० को लागि विशेष निम्तो दिइएको छ। 

इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्दै आएका रोहित त्यहाँको सिजन सकिएसँगै नेपाल आएका थिए। हाल ‘फ्री एजेन्ट’मा रहेका रोहितले नेपालमा झन्डै २ साता समय बिताएका थिए। रोहितनिकट स्रोतका अनुसार उनलाई पर्सिजाले नयाँ सम्झौताको प्रस्ताव राखिसकेको छ। अघिल्लो सिजन पनि पर्सिजाले रोहितलाई अनुबन्ध गरेको थियो। 

रोहितले जाकार्ताबाट इन्डोनेसियाको यू-२२ टिमसँगको खेलमा खेलेका थिए। सन् २०१३ देखि २०१५ सम्म पनि रोहितले सो क्लबमा खेलेका थिए। त्यसपछि रोहित मलेसियाली क्लब टी टीम एफसीसँग अनुबन्ध भए।गत सिजन पर्सिजामा आबद्ध हुनुअघि रोहित चोटका कारण करिब एक वर्ष मैदान बाहिर रहेका हुन् । उनी सन् २०१६ को सुरुआतमा मलेसियाली क्लब टी–टिम एफसीसँग आबद्ध रहँदा घाइते भएका थिए ।

उनकाे घोडाको चोटका कारण उनको अनुबन्धन तोडिएको थियो। त्यसपछि रोहित घोडाको शल्यक्रिया गरेर चोटमुक्त नभएसम्म फुटबलबाट टाढिएका थिए। करिब एक वर्षको रेस्टमा उनले घरेलु नकआउट टुर्नामेन्ट मार्फत फुटबलमा कमब्याक गरे। चोटबाट मुक्त हुँने  क्रममा उनले  मनाङ मर्स्यांदि क्लबबाट खेलेका थिए।

बंगलादेशमा भएको शेख कमल इन्टरनेशनल क्लब च्याम्पियनसिपमा पनि रोहितले मनाङका लागि खेलेका थिए। यस्तै उनले सन् २०१७ मार्च २८ मा एएफसी एसिया कप क्वालिफायर्स अन्तर्गत फिलिपिन्स विरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए।

सन् २०१८ को सिजनमा पर्सिजाले पहिलो पटक लिग उपाधि जित्दा रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए। रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका ब्राजिलियन फरवार्ड डेबिड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम रहेका थिए। तर उनीहरूलाई पछि पार्दै रोहितले बाजी मारेका थिए।

अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलर समेत हुन्।

यस्तै रोहितले स्पेनको चर्चित क्लब इस्पान्योलविरुद्ध पनि मैत्रीपूर्ण खेल खेलिसकेका छन्। बार्सिलोनाको छिमेकी क्लबको रुपमा रहेको यो क्लबले ४ पल्ट कोपा डेल रेको उपाधि जितिसकेको छ। पछिल्लो पल्ट उसले २००६ मा सफलता पाएको थियो।

स्प्यान्योल १९८८ र २००७ मा युरोपा लिगको फाइनलमा पनि पुगेको थियो। रोहितले यसअघि डच क्लब आयाक्सविरुद्ध पनि मैत्रीपूर्ण खेल खेलिसकेका छन्।

रोहित अब घरेलु मैदानमा हुने विश्वकप छनोटको खेलका लागि नेपाल आउनेछन्। नेपालले विश्वकप छनोट अन्तर्गत ५ खेल खेल्दै १ जित र ४ हार बेहोरेको छ। नेपालले अब घरेलु मैदानमा अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्न बाँकी रहेको छ। 

को हुन् रोहित?

भारतीय लाहुरे बाबुका छोराको रूपमा रोहितको जन्म सुर्खेतमा भएको थियो। उनले आठ वर्षको उमेरदेखि आफ्ना दाजु रविन्द्र ठकुरीसँग फुटबल खेल्न थालेका थिए। उक्त समयमा उनका दाजु रविन्द्र एक व्यवसायिक खेलाडी थिए। १२ बर्षको उमेरमा रोहित एन्फा एकेडमीमा छनिए।

रोहितले २३ मार्च २००९ मा प्यालेस्टाइनविरूद्व खेल्दै अन्तर्राष्ट्रिय खेल जीवन सुरूवाट गरेका थिए। त्यतिबेला उनी मात्र १६ वर्ष १२ दिनका मात्र थिए। साथै उनले नेपाली राष्ट्रिय फुटबल टिमका सम्पुर्ण उमेर समुहका टिमहरूमा सहभागी जनाइसकेका थिए।

नेपाली राष्ट्रिय टिमबाट उनलाई २०१३ साफ च्याम्पियनसिप एक तितो क्षण हुन पुगेको थियो। घरेलुु मैदनमा भएको प्रतियोगितामा नेपालले फाइनल पुग्ने अवसर गुमाउदा सबैभन्दा ठूलो दोषी रोहित साबित भए। किनभने अफगानिस्थान विरूद्वको सेमिफाइनल खेलमा नेपाल ०–१ ले पछाडि परेको अवस्थामा खेलको अन्तिम समयमा नेपालले पेनाल्टीको अवसर पाएको थियो। तर उक्त पेनाल्टी रोहितले गोल प्रहार गर्न सकेका थिएनन्। लगत्तै प्राप्त गरेको पेनाल्टी पनि रोहितले गोल गर्न सकेनन्। 

यसरी लगातार दुई पेनाल्टी पाउँदा पनि गोल गर्न नसक्दा नेपाल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको थियो। पछि उक्त घटनालाई लिएर उनले सम्पुर्ण नेपाली तथा नेपाली फुटबल समर्थकहरूसँग सामाजिक सञ्जाल तथा विभिन्न अन्तरवार्ता मार्फत माफि मागेका थिए।

रोहितको पहिलो व्यवसायिक सहभगिता मच्छिन्द्र फुटबल क्लबसँग रह्यो । त्यहाँ उनको प्रदर्शन निकै राम्रो रह्यो र ए डिभिजन लिगमा उनको निकै प्रशंसा हुन थाल्यो। सन् २०१०/११ लिग सिजनमै उनी उत्कृष्ट रक्षात्मक खेलाडी (डिफेन्डर) घोषित भए। मच्छिन्द्र फुटबल क्लब त्यो सिजनमा ब्रिटिश गोर्खा कपको सेमिफाइनलसम्म पनि पुगेको थियो।

पुनः मछिन्द्रमा मासिक १ लाख ५० हजार रुपैयाँमा आबद्ध रोहित सर्वाधिक पारिश्रमिक पाउने नेपाली फुटबलरका रूपमा स्थापित भएका थिए। चार महिनाको मछिन्द्र बसाइपछि उनी विदेशी क्लबतीर लागेका थिए।

त्यसपछि उनी हिन्दुस्तान एरोनोटिक्स् लिमिटेड एससीमा अनुबन्धित भए। त्यतिबेला एचएएलले रोहितलाई मासिक १ लाख २८ हजार रूपैयाँमा अनुबन्ध गरेको थियो।त्यसपछि रोहित एफसी भेस्ट्स्जेल्याण्डमा आवद्ध भए। यस क्लबमा रोहित आधा वर्ष बसे। २५ डिसेम्बर २०१३ मा उनले यो क्लब छाडेका थिए।

२०१५ साफ च्याम्पियनसिपमा रोहितले नेपाली राष्ट्रिय टिमको उपकप्तान समेत सम्हाले। नेपाल उक्त प्रतियोगिताको समूह चरणबाटै बाहिरियो। तर रोहितको प्रदर्शनी भने अब्बल थियो। माल्दिभ्सविरूद्वको पहिलो खेलमा उनले निकै उत्कृष्ट खेल प्रदर्शनी गर्दै पुनः एक पटक नेपाली फुटबल समर्थकहरूको मन जित्न सफल भए। रोहितले सम्हालेको नेपाली टिमको उत्कृष्ट प्रदर्शनी हुँदाहुँदै पनि नेपाल उक्त खेलमा माल्दिभससँग अन्तिम मिनेटमा ०–१ ले पराजित हुन पुगेको थियो।

प्रकाशित मिति: : 2020-01-16 23:48:34

प्रतिकृया दिनुहोस्