चिसोबाट कसरी बच्ने?

चिसोबाट कसरी बच्ने?

पछिल्ला केही दिनयता राजधानी काठमाडौंसहित देशैभर अत्याधिक चिसो बढेको छ। काठमाडौंमा वायु प्रदुषणसहित चिसो बढेको छ। तराईका जिल्लाहरुमा शितलहर चलेको छ। उच्च पहाडी र हिमाली जिल्लाहरूमा हिमपात भइरहेको छ। चिसोसँगै भाइरल ज्वरोका विरामी बढेका छन्। यस्तो अवस्थामा चिसोबाट कसरी स्वस्थ रहन सकिन्छ त?

यसै विषयमा जानकारी लिन म विशेषज्ञ डाक्टरहरूबको खोजी गर्न थालेँ। चिनेको कोही थिएन। दृष्टिविहिन भएकाले पनि मलाई त्यही थाहा थिएन। म नयाँ बानेश्वरमा बस्ने भएकाले मिनभवनस्थित सिभिल अस्ताल गएँ।

गेटमा बस्ने दाइले हस्पिटलको प्रसासन माथिल्लो तल्लामा भएको जानकारी गराउनु भयो। आँखा नदेख्ने भएकाले उहाँलेनै मलाई अस्पतालको प्रशासनको ढोकासम्म लिएर जानु भयो।

मैले त्यहाँ पुगेर बाहिरबाटै आफू मिडियाकर्मी भएको र चिसोको विषयमा कुनै फिजिसियन डाक्टरसँग कुरा गरेर स्टोरी गर्न लागेको जानकारी गराएँ।

सिसा पारी बसेका व्यक्तिले आज कुनै पनि फिजिसियन डाक्टर नभएको बताए। मैले उहाँको नाम र सम्पर्क नम्बर माग्दा दिन नमिल्ने भनेपछि म बाहिरिएँ।

यसपछि म वीर अस्पताल गएँ। त्यहाँको प्रशासनमा गएर आफ्नो बारेमा बताउँदै आफू आउनुको उद्धेश्य अवगत गराएँ।

त्यसपछि मलाई मेडिसिन डिपार्टमेन्टमा जान भनियो। स्टिकको सहारामा लिफ्ट् चढेर म दोस्रो तल्लामा रहेको मेडिसिन डिपार्टमेन्ट तिर लागेँ। त्यहाँ बसेका डाक्टरले आफूहरूले अन्तर्रवार्ता दिन नमिल्ने बताए।

त्यसपछि फेरि म निर्देशकलाई भेट्न चार तला माथि गएँ। त्यहाँ रिसेप्सनमा रहेको मान्छेले अन्तर्वार्ता लिनका लागि निवेदन दिनुपर्ने भने।

आजसम्म मैले जति पनि अन्तर्रवार्ता लिए त्यसका लागि कसैलाई पनि निवेदन दिनुपरेको थिएन। तर यहाँ कुनै फिजिसियन डाक्टरको अन्तर्वार्ता गर्न जाँदा निवेदन चाहिने रहेछ। थाहा थिएन। किनकी यसअघि आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको अन्तर्रवार्ता लिँदासमेत मलाई निवेदनको आवश्यकता परेको थिएन।।

मलाई वीर अस्पतालले गरेको व्यवहार सम्झिएर नरमाइलो लाग्यो। किन यस्तो भने थाहै भएन। दृष्टिविहिन भएकै कारण मेरो क्षमतामाथि गरिएको प्रश्न थियो वा बहानाबाजी।

यस्तो भएपछि मेरो एक मनले भन्यो- छाडिदे यो पेशा, पत्रकारिता तेरो लागि होइन। फेरि अर्को मनले भन्यो, 'तँ हरेक परिस्थितिसँग जुँधेर काम गर्नुपर्छ।'

छोडौं यी सब, अब लागौं प्रशंगतिर।

वीर अस्पतालकै सह-प्रध्यापक एवं फिजिसियन डाक्टर ध्रुब गैरेसँग भेट भयो। उनैसँग केहीबेर कुरा गरेँ।

जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ। र चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहनुपर्ने डाक्टर गैरेले सुझाव दिए।

उनले खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने भन्दै झोलपदार्थ खानेकुराका साथै हरियोसागतपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने बताए।

चिसो मौसमले रूघाखोकी, टन्सिल र दमका बिरामीको सङ्ख्या ह्वात्तै बढेको उनले बताए।

उनले दम, सुगर, निमोनिया किड्नीका बिरामीमा चिसोले निकै प्रभाव पार्ने भएकाले त्यस्ता बिरामिलाई चिसोबाट बच्न सुझाव दिए।

रूघाखोकी सरुवा रोग भएकाले मास्क लगाएर हिँड्नसमेत उनले अनुरोध गरेका छन्। त्यसैगरि ज्वरो आउनु, खकार बढ्नु, छाति घ्यार-घ्यार हुने व्यक्तिलाई अस्पताल गइ जचाउँनसमेत उनको आग्रह छ।

साना बालबालिकाहरूलाई न्यानो राख्नुपर्छ। उनीहरूले लुगा लगाउन नमान्ने भएकाले अभिभावकले विशेश हेरचाह गर्नुपर्ने उनले सुझाव दिए।

साँझ बिहान निरन्तर खोकि लागिरहने व्यक्तिलाई निमोनियाको लक्षण हुनसक्ने भन्दै  उनले तत्काल त्यस्ता विरामीले अस्पपताल गएर स्वास्थ्यकर्मीसँग भेट्न सुझाव दिए।

बिएल नेपाली सेवासँग छोटो कुराकानी गर्दै उनले चिसोबाट बच्न सुत्केरी तथा अशक्त महिलाहरू सकेकसम्म न्यानो लुगा लगाएर बस्नुपर्ने बताए।

'ग्रामिण भेगका सुत्केरी महिलाहरू जाडोबाट बच्न कोइला बालेर आगोको नजिक पनि बस्न सक्नुहुन्छ। यस्तै बिहानै मर्निङ्वाकमा निस्कने र कलेज जाने विद्यार्थिलाई कलेज जानुअघि तातो पानी अथवा सुप खाएर घर बाहिर निस्कन सुझाव दिए।

'तातो सुप र तातो पानीले शरीरलाई तताउने भएकाले जतिसक्यो धेरै तरल तातो पदार्थ पिउनुपर्छ। यो स्वास्थ्यको लागि राम्रो हो,' उनले भने।

साँझ बिहान अत्याधिक चिसो भएकाले मोटरसाइकल तथा स्कुटर चलाउने व्यक्तिलाई पुरै शरीर ढाक्ने-गरि लुगा लगाउन पनि आग्रह गरेका छन्।

चिसोबाट बच्न के-के गर्ने?

चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ। तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफि तथा केहीमात्रामा दुध चिया पनि खान सकिन्छ। लगातार तातो पानी पिउने र वाफ लिने गर्न सकेमा चिसोबाट केहीमात्रामा सुरक्षित हुन सकिन्छ ।

चिसोमा न्यानो कपडामा सकेसम्म सबैले जोड दिनुपर्छ। एकछिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ।

मिलेसम्म आगो ताप्दा पनि चिसोको असर कम हुन्छ। दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिले न्यानो कपडा लगाएर आगो ताप्दा स्वास्थ्यलाई असर गर्दैंन। र न्यानो हुन्छ।

प्रस्तुति जीवन बनिया

प्रकाशित मिति: Jan 19, 2020 17:11:18

प्रतिक्रिया दिनुहोस

सबै