गायिका राउतलाई आजै झिकाएर अनुसन्धान गर्ने तयारी, के छ मुलुकी अपराध संहिता ऐनमा सजाय?

विमानस्थलमा प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएपछि गायिका आस्था राउत चर्चामा छिन्। बिहीबार उनले प्रहरीको चर्को आलोचना गरेर त्रिभुवन विमानस्थलमा भएको प्रहरी चेकिङ र त्यहाँ भनिएको ‘दुर्व्यवहार’को भिडियो सार्वजनिक गरेकी थिइन्।

विमानस्थलमा एक महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन्। उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने ‘स्लोगन’ हटाउन भन्दै प्रहरीमाथि खरो टिप्पणी गरेकी थिइन्।

उनले भिडियोमा साना प्रहरीहरुलाई ‘म्यानर’ सिकाउन भन्दै ठूला प्रहरी अधिकारीलाई ‘सुझाव’ दिएकी थिइन्।

प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतको विमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएको के भएको हो भन्नेबारे स्पष्ट पारेकी छन्।

शुक्रबार फेसबुक लाइभमा आउँदै गायिका राउतले महिला प्रहरीले दुर्व्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको भन्दै आफूले कुनै दम्भ नदेखाएको र नडराएको बताएकी छिन्। राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनिन्,‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ। फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस्।’

‘भिडियो गर्नेबेला आफूले संयमितता अपनाउनुपर्थ्यो। तर, उजुरी त गर्थें गर्थें,’ गायिका राउतले भनेकी छन्, ‘मैले संयमित भएर बोल्न सकिन। त्यसको लागि माफी चाहन्छु।’

कसैको पनि मनोबल गिराउने उद्देश्य नरहेको गायिका राउतले दावी गरेकी छन्। ‘राम्रो कामको तपाईहरुले माया दिएको भए मैले पनि माया दिन्थे,’ राउतले फेसबुक लाइभमार्फत भनेकी छन्।

देखेको भरमा मलाई अनावश्यक गाली नगर्न आस्थाले आग्रह पनि गरेकी छन्। उनले भनिन्, ‘२, ४ शब्द गल्ती बोलेँ, त्यसको लागि क्षमा चाहन्छु। दुई हात जोडेर माफी माग्छु।’

विमानस्थलमा कार्यरत महिला प्रहरीले आफूलाई गन्धी पाराले बोलेको बताउँदै गायिका राउतले भनिन्, ‘जसले भोग्छ त्यो मान्छेलाई मात्र थाहा हुन्छ। कोही कसैले पनि मैले जस्तो भोग्न नपरोस्।’

तर गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी छिन्।

विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो।

महानगरिय प्रहरी परिसरका आयुक्त डीआइजी विश्वराज पोखरेलले राउत प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाउन काठमाडौं परिसरलाई लेखि पठाइएको जानकारी दिए।

उनले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउने बताए।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि राउतलाई आज नै नियन्त्रणमा लिने तयारी गरिएको छ।

भोलि जिल्ला प्रशासन कार्यालय खुलेपछि अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि राउतलाई नियन्त्रणमा लिनुपर्ने भएकाले पक्राउ पुर्जी जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने तयारी प्रहरीले गरेको छ।

राउत भने कार्यक्रमका लागि भारतको सिक्किम पुगेकी छिन्। उनी आज नेपाल फर्कने छिन्।

के छ कानुनमा 

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अनुसार गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ। अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार राउतमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ।

उक्त दफामा भनिएको छ,'कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।'

प्रकाशित मिति: : 2020-01-19 20:39:34

प्रतिकृया दिनुहोस्