तुङ्गनाथ अर्थात् लोकसाहित्यका माली 

भुइँमान्छेका कथा 

तुङ्गनाथ अर्थात् लोकसाहित्यका माली 

 तुङ्गनाथ शृ‌खला-१ 

इतिहासका पानाभित्र निकै ओजपूर्ण ढंगले कैद भएको पश्चिम नेपालको प्राकृतिक रमणीयताले सजिएको जिल्ला–जुम्ला। अझै जुम्लाको सिंञ्जा क्षेत्रको महत्व छुट्टै छ। जुम्ली अन्तिम राजा सुमन शाहीको दरवार नपुग्दै वरै देखिन्छ गुठीजीउलाको स्यानो चिटिक्क परेको बजार। त्यही बजार नजिकै छ भाषा, साहित्य र संस्कृतिका विषयमा लामो समयसम्म अनुसन्धानमा तल्लिन तुङ्गनाथ उपाध्यायको घर। तुङ्गनाथ तिनै हुन् जसको सहयोगले गर्दा मदन पुरस्कार पाउन सफल भए संस्कृतिविद् सत्यमोहन जोशीको समूह। 

जुम्ला सदरमुकामबाट गुठिजिउलासम्मको यात्रामा थियौं हामी। अपरान्ह करिव ४ बजेतिर गाडीबाट उत्रेर जुम्लाको अर्गानिक पाउडर टाँसिएका जीउका कपडा टक्टक्याउन थाल्यौं। होटलमा झोला राखेर बजारतिर निस्किँदै गर्दा भेटिएका थिए तुङ्गनाथ। मेरो साथमा थिए जीवन साथी लक्ष्मी शर्मा, जुम्लाका पत्रकार महेश नेपाली र उनकी जहान पुष्पा। तुङ्गनाथसँग भेट हुँदा महेश मेरो कानमा फुस्फुसाए– ‘दाइ प्रश्नहरु लेखेर ल्याउनु भएको छ ? बुढा त त्यतिकै कुरा गर्न मान्दैनन् रे नि।’ 

मेरो सिधा उत्तर थियो – ’म त्यस्तो अन्तवार्ता लिन सक्ने सिपालु मान्छे त हैन तथापि मैले आजका मितिसम्म कसैलाई लिखित प्रश्न दिएर उत्तरको प्रतीक्षा गरेको छैन्। जतिखेर जस्तो अवस्था सिर्जना हुन्छ त्यस्तै प्रश्न गर्छु भाइ। नो प्रोब्लम।‘  छेउमा यति कुरा हुँदै गर्दा परिचयकै क्रममा तुङ्गनाथले भनिहाले – ’प्रश्नहरु लेखेर ल्याउनु भएको छ ?‘

छैन, मैले टाउको हल्लाएँ।    

पुनः मतिर तेर्सियो उनको प्रश्न – के कुरा गर्नु छ मसँग ?  

तपाईका जिन्दगीका पाटा लेख्न मन लागिरहेको छ– कुनै भूमिका नबाँधिकन मैले ठाडँो उत्तर दिएँ। 

किन ? के गर्नु हुन्छ मेरो बारेमा लेखेर ? – बाघ गर्जेझैं गर्जिए उनी। 

तपाईको सहयोगकै कारण कतिपयले विभिन्न पुरस्कार पाए, पीएचडी उपाधि हासिल गर्न सफल भए। कति लेखक बने, कति इतिहासकार बने।

ठूल्ठूला पुरस्कार पाए। तपाई जहाँको त्यही। अनि किन नलेख्ने तपाईको बारेमा। अब जवाफ रहेन उनीसँग। उनी गफगाफ गर्न तयार भए।

दिपेन्द्रले आफ्नो स्टेसनरी पसलको माथिल्लो तलामा बस्ने व्यवस्था मिलाइदिए। नेपाली विषयमा लिखित परीक्षा उत्तीर्ण गरेका दिपेन्द्र त्यतैको लोकगीतमा थेसिस लेख्ने योजनामा रहेछन्। 

उनैले लगे माथि एकान्त कोठामा। घाम अस्ताउँदै थियो। अँध्यारोको आगमन हुन थालिसकेको थियो। बिस्तारै भुमिका बाध्दै राख्न थाले मैले उनीसामु प्रश्न। निकै फुर्तिला अनि रसिक भएर उनले सम्झिन थाले आफ्नो विगत। जब म संस्कृतिविद् तुङ्गनाथ उपाध्यायसँग कुरा गर्न थालें तब महेश नेपाली र दिपेन्द्र न्यौपानेले मोबाइल फोनमा हाम्रो कुराकानी सुटुक्क रेकर्ड गर्न थालिहाले।   

‘तुङ्गनाथसँग भेट हुँदा जुम्ली पत्रकार महेश नेपाली मेरो कानमा फुस्फुसाए– ‘दाइ प्रश्नहरु लेखेर ल्याउनु भएको छ ? बुढा त त्यतिकै कुरा गर्न मान्दैनन् रे नि।’ जब म संस्कृतिविद् तुङ्गनाथ उपाध्यायसँग कुरा गर्न थालें तब महेश नेपाली र दिपेन्द्र न्यौपानेले मोबाइल फोनमा हाम्रो कुराकानी सुटुक्क रेकर्ड गर्न थालिहाले।’

परिहासपूर्ण बनिरहने तुङ्गनाथसँग हाँसोमै आँसु लुकाउन सक्ने खुबी छ। युवा युवतीसँग संगत गर्न रुचाउँछन् उनी। भित्र कति भावुक छन् भन्ने बाहिरबाट हेरेकै र सामान्य कुराकानीकै भरमा अनुमान गर्न त्यति सजिलो पक्कै पनि छैन्। धेरै कम मान्छे हुन्छन् यस्ता दुःख लुकाएर हाँस्न सक्ने क्षमता भएका। बाहिरबाट हेर्दा कुनै हैकमवादी सोचका मान्छेझैं व्यक्तित्व भएका। गहिरिएर बुझ्दै जाँदा देखिन्छ उनको उदार, रसिक, संवेदनशील, रहयोगी अनि काव्यिक व्यक्तित्व। 

हाम्रो समाजका अपवाद मध्येमा एक थिए उनी। भावुक अनि संवेदनशील हृदय भएका ती मनुवासँग कुरा गर्दै जाँदाको अनुभूति अविष्मरणीय रह्यो मेरा लागि। उनीसँग खस भाषा, इतिहास र संस्कृतिका लेख्न बाँकी थुप्रै पाना छन्। विगतका सुन्दर अनि रोचक घटना छन्। मायाप्रितीका यादगार गरा छन्। उट्पङ्याङ गरेर छाडेका समयका पल्ला छन्। दुःखका गाग्रीहरु छन्। पश्चातापका कारण चर्किएका आफ्नै मनका भित्ता छन्।

आत्मालोचना गर्न सक्ने सामथ्र्य  । पारदर्शी मुटु छ। अनि डेउडा गीतका गहकिला र भावपूर्ण पंक्ति छन्। तिनै पंक्ति बेलाबखत गुन्गुनाइरहन्छन् उनीः 

जून बुडी तिरपाया राम्रा, लौरी रुख छायाँ 
निन् खोज्दैन ओछ्यानय, जात खोज्दैन माया। 

गीतका हरफसँगै सम्झिन्छन् उनी पुराना दिन। कुन बेलादेखि सुरु भयो जातीय प्रथा। कसले बनाइदियो जातभात भन्ने कुरा त्यो एकातिर छ। अर्को महत्वपूर्ण प्रश्न छ दिउँसो जात खोज्ने मान्छे राती बिजातको भनिएकी तरुनीसँग किन जान्छ रमाउन ? किन मान्दैन भित्री मनले छुट्टिन ? यस्तै कुरा मनन् गरिरहन्छन् र त गीतका माध्यमबाट व्यक्त गरिदिन्छन् कयौं स्रष्टाहरुले आफ्ना मनमा उब्जेका भावनाहरु। जुन भावनाले यथार्थतालाई आत्मसाथ गरिरहेका हुन्छन्। निद्रा लाग्दा ओछ्यानको मतलब नभएझैं सच्चा माया प्रेमले पनि मतलब गर्दैन कुनै जातभातको। तुङ्गनाथहरुका लागि वेदका ऋचाझैं बनिदिन्छन्। डेउडा गीतका यस्ता घतलाग्दा पंक्तिहरु।

तुङ्गनाथको समयमा टिपी बिबाह अर्थात् अपहरण शैलीमा केटी भित्र्याउनेदेखि प्रेम विवाह अनि मागि बिबाह गर्ने चलन थियो। मागी बिबाहमा चिना हेर्ने केटाकेटीको जुडमेल नहुँदा बिबाह नगर्ने चलन थियो। जो केही मात्रामा हिजो आज पनि छदैछ गाउँघरतिर। त्यसरी जुडमेल नभएर छुट्टिनु पर्दाका वा भाग्यवादमा विश्वास गर्नेहरुका लागि भाग्यमा नअटाएका, माया पिरती हुँदाहुँदै पनि बिभिन्न कारणवश बिछोड हुनु परेका अनुहारसँग कहिकतै गौणे भेट भैहाल्दाका बखत निस्किन्थे यस्ता खाले भावनाः

राइसुवा कर्मौदा भया चिना लेखिँदा हौ
पुण्णा जाऊ (परजाऊ) पराया माल किन देखिंदा हौ 

अन्तर मनको जलन बढाउने विगतको सिङ्गै पाटो छ मनभित्र। संवेदनशिल, भावुक मनका लागि सबै कुरा र प्रसङ्गले आफुसँग मेल नखादा नि दुख्छ मन। अरुका रोचक घटनाले पनि चिमोट्छ मनको पाटो। कालीदासका काव्यकृतिबाट निकै प्रभावित भएका तुङ्गनाथका विगतका अनगिन्ति रात छोट्टी अर्थात् केटीहरुसँग डेउडा खेलेरै बिते। सुरुमा दाइसाथीहरुको पछि लागेर गए त्यो माहोल हेर्न र गीतका सवालजवाफ सुन्न। पछि आफ्नै छिमलका साथीभाइसँग पनि गए। 

राति खाना खाइसके पछि सबै जना सुति सकेपछि वा अरु कसैकोमा सुत्न जाने बहानामा निस्किन्थे केटाकेटाकेटीहरु घरबाट। दिउँसै भइसकेको हुन्थ्यो भेट्ने स्थानको चयन। सबैजना जम्मा हुने त्यस्तो निश्चित ठाउँलाई थल् राख्नु भनिन्थ्यो। थल राख्नु भनेकै तोकिएको ठाउँमा जम्मा हुनु हो। एक अर्काप्रति विश्वास नहुँदा कतै बेइमानी पो गर्छ कि भन्ने ठानेर औंठी, जाले, पछ्यौरी, जस्ता चिजबस्तु बयाना लिने गरिन्थ्यो। कथमकदाचित केटीहरु नआइदिए भने त्यो बयाना पच गरिन्थ्यो। तुङ्गनाथका अनुसार गीत सुरु गर्दा केटा र केटी मध्ये जसको क्षेत्रमा जम्मा भइयो उसै पक्षकाले गीतको उठान गर्नु पर्ने हुन्थ्यो। गीतमा सवाल जवाफ गर्दा गर्दै छर्लङ्ग रात बित्थ्यो। 

उनी सुनाउँछन् – त्यतिबेला छिटो खाना बनाइदिए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो। कसै कसैले खाना खाएर आइसकेको संकेत पाइन्थ्यो। लार्ज र लुर्कु गााउँका केटाकेटीका बीच सवाल जवाफ हुँदाका पंक्ति सम्झनामा आउँछन् अहिले पनि। 

वारि लुर्कु पारि लार्ज माझका दियार (द्यारको काठ)
दैको (प्रिय मान्छेको) भूमि मेरो पाइलो सप्रिजाउ खियार 

खस भाषामा भनिने खियारलाई ख्यारो पनि भन्ने गरिन्छ यदाकदा। किसानहरुले बाली लगाउँदा दिन जुराएर वा राम्रो दिन हेरेर सुरु गर्ने चलन छ मध्य तथा सुदूरपश्चिममा। यसरी दिन हेराउदा पण्डित वा ज्योतिषहरुले कतै भोलिको दिन शुभ दिन छैन। एक हप्तासम्म नै राम्रो दिन छैन् भनिदिए भने राती नै किन नहोस् आजकै शुभ साइत छोपेर उतिखेरै एक मुठी बीउ गराको कुनामा छर्केर कुटो कोदालोले अलिकति माटो खोस्रेर त्यो सिजनको बाली रोप्ने सुरुवातीको कार्यलाई अर्थात त्यो माटो खोस्रने कार्यलाई खियार वा ख्यारो गर्नु भनिन्छ। शुभ दिन शुभ साइत हेरेर अन्न बाली रोप्दा राम्रो फल्छ। सप्रिन्छ भन्ने मान्यता आजका दिनसम्म पनि उस्तै छ। 

डेउडामा गज्जबका बिम्बहरु प्रयोग भएका पाइन्छन्। शुभ साइत हेरेर बाली रोप्न गरेको खियार सप्रेझै हाम्रो पिर्ती पनि सप्रिदेओस् भन्ने कमना गरेका छन् यहाँ केटा पक्षले। जसको उत्तरमा आउछ केटी पक्षबाट ः 

बाहिर लाइने घम्बु खुओ भित्र लाइने बखु 
दैको भूमि मेरो पाइली आजै सिन्के रोपु
शुभकार्यमा विलम्ब नै किन। पिरतीको इतिहास नै रचिदिउँ। 

तुङ्गनाथ भन्छन् –पुराना र अहिलेका गीतहरुको तुलनै गर्न मिल्दैन। अहिले जताततै राजनीति हावी भएको छ। जसबाट डेउडा क्षेत्र पनि अछुतो रहन सकेको छैन्। अहिलेका राजनीतिक रंग पोतेका गीतमा अर्थ छैन्। जुम्लाको भाषा, संस्कृति र लोकसाहित्यको क्षेत्रमा अनुसन्धानको सिन्के रोप्ने तुङ्गानाथलाई नेपालले चिन्न सकेन कहिल्यै पनि। 

तुङ्गनाथले पिरतीको खेल खेले। जुम्ला जिल्ला र त्यस आसपासका जिल्लामा खेलिने विगतका दिनका त्यस्ता खेलकोे अध्ययन गरे। कतिपय विदेशीलाई अनुसन्धानमा सघाए। मनमौजी बनेर जिन्दगी विताए। तिनै तुङ्गनाथको सहयोगले कतिपयले मोटा मोटा ठेलीहरु तयार पारे। अधिकांश विदेशीहरु वर्षौसम्म उनको घरमै बसे। त्यहाँबाट फर्केर गएपछि अधिकांशले ओजपूर्ण पुस्तक प्रकाशित गरे। उनले मसुस्क मुस्कुराउँदै आउनेलाई स्वागत र जानेलाई बिदाई गरिरहे। तर उनी आफु चाही ज्यूँका त्यूँ रहिरहे। थुप्रै छन् उनका अनुभूतिका पाटाहरु जो आउने नै छन् आगामी लेखमा।

सबै कन घाम लाग्याको मकन बादल (भिडियोसहित)

नेपालका अपाङ्ग कन राज्य सेल(शितल) गर्दैन, जुग कैका जमाना कैका बिकाल मर्दैन

प्रकाशित मिति: Jan 20, 2020 13:51:01

प्रतिक्रिया दिनुहोस

सबै