आस्थाले गरेको गल्तीमाथि प्रहरीको महागल्ती

गायिका आस्था राउतले विमानस्थल सुरक्षाको ड्युटीमा रहेका प्रहरी अधिकृतमाथि असभ्य व्यबहार गरेर सामाजिक मर्यादाको परिधि नाँघेकै हुन् । उनले सुरक्षा जाँचका क्रममा उठेको सामान्य विवादलाई नागरिक अनुशासनको दायराभित्रै रहेर सल्टाउनुको सट्टा जसरी प्रहरीको जातलाई नै होच्याउँदै 'तँ' 'डण्ठे' 'प्युसो' जस्ता शब्दहरूले सम्बोधन गरिन् त्यो सर्वथा अनुचित थियो । हस्की, सेक्सी स्वरमा गीत गाउने ती लोकप्रिय गायिकाले काठमाडौैं विमानस्थलको प्रस्थान कक्षमा त्यस दिन प्रदर्शन गरेको अहंकार उनले आफ्नो व्यक्तित्वको आफैंले गरेको अधिमूल्यनको परिणाम थियो शायद । कथित सेलिब्रिटीहरूको जीवनको एउटा पक्ष नै बनेको कुरो हो यो । 

नेतागिरी, मनोरञ्जनको संसार, पत्रकारिता, रङ्गमञ्च, गायन, नृत्य, हास-परिहास, खेलकूद आदि क्षेत्रमा लागेका र नाम चलाउन अनि दाम कमाउन सफल भएका व्यक्तिहरूले किन हो, आफूलाई अन्य क्षेत्रमा काम गर्ने  मानिसहरूभन्दा 'विशेष'  ठान्ने गर्छन् । कतिपय हिसाबले यिनीहरूलाई केही विशेष त मान्नैपर्ने पनि हुन्छ । पक्कै कुरो हो, यिनका अनुयायी, स्रोताहरू वा दर्शकहरू हुन्छन् । कसैका धेरै होलान् कसैका थोरै तर हरेक नेता, कलाकार वा अन्य क्षेत्रका स्थापित प्रतिभाका प्रशंसकहरू पनि हुन्छन् । जहिले पनि  मिडियाको फोकसमा रहिरहने हुनाले यिनीहरूको अनुहारलाई धेरै जनाले ठम्याउँछन् पनि । यिनीहरूसँग बसेर सेल्फी खिच्न मन लाग्छ धेरैलाई । यिनका बारेमा पत्रपत्रिकामा लेखिन्छ । यिनको फोटो बारम्बार छापिन्छ । अहिले खूबै चल्तीमा रहेको काँचको सानो पर्दामा यिनीहरू दिनैपिच्छे जस्तो देखिन्छन् (कतिपयको त आफ्नै पत्रिका वा टीभी च्यानल हुन्छ) । यिनीहरूको त्यस्तो साधनसम्पन्नता र विशेष शिप देखेर आफूमा कुनै त्यस्तो साधन वा उल्लेख्य प्रतिभा नभएका सर्वसाधारण मानिसहरू यिनीहरूसँग दकस खान्छन् । कतिपय त नतमस्तक हुन्छ्न् । 

यी सबैको नै मिलिजुली परिणाम हो यी कथित विशिष्टहरूले गर्ने आफ्नो व्यक्तित्वको अधिमूल्यन र यिनले हर्दम बोकिरहने  आफ्नो महत्ताको स्वनिर्मित भारी । नक्कली विशिष्टताको भारी बोकेर फुलेल मुद्रामा सार्वजनिक स्थानहरूमा देखिने यिनीहरूले बेलाबेलामा प्रदर्शन गर्ने मूर्ख्याइँका कारण समाजमा कतिपय अप्रिय घटना हुने गर्दछन् । धेरैजसो मामिलामा फजिती भने यिनीहरूको नै हुन्छ । यिनीहरूको वाहियात टाइपको ठस्सा देखेर लोकले गिल्ला गर्न शुरू गर्दछ । एकछिन अघिसम्मको आराध्य नायक वा नायिका निन्दाको पात्र बन्दछ/छे र प्रशंसक उतिर वचनको जुत्ता प्रहार गर्न थाल्दछ । आस्था राउतका मामिलामा पनि भएको त्यही हो ।

वास्तवमा यी कथित अतिमहत्वपूर्ण व्यक्तिहरू प्राज्ञिक रूपले प्राय: निम्छरा हुन्छन् । यिनीहरू स्थान, समय र परिस्थितिको वस्तुगत आँकलन गरेर सोही अनुसार प्रस्तुत हुनुपर्ने सामान्य व्यबहारगणितको पनि हेक्का राख्न सक्दैनन् । कसैप्रति पनि व्यक्त हुने आदरको भावना परस्परमा विनिमय भएपछि मात्र सार्थक हुन्छ भन्ने कुरा पनि यिनीहरूलाई थाहा हुँदैन वा थाहा पाएर पनि बुझ पचाइरहेका हुन्छन् । हाम्रो जस्तो लोकतान्त्रिक संस्कारको जग बस्न नसकिरहेको समाजमा कथित विशिष्टहरूको अहमत्याइँ आफ्नो सम्पूर्ण कुरूपताका साथ छताछुल्ल भइरहन्छ कहिले यहाँ र कहिले उहाँ । गायिका आस्था राउतको अनपेक्षित व्यबहारलाई त्यस्तै घटनाहरूको शृङ्खलाको एउटा कडी मान्नु पर्दछ ।

हाम्रो जस्तो लोकतान्त्रिक संस्कारको जग बस्न नसकिरहेको समाजमा कथित विशिष्टहरूको अहमत्याइँ आफ्नो सम्पूर्ण कुरूपताका साथ छताछुल्ल भइरहन्छ कहिले यहाँ र कहिले उहाँ । गायिका आस्था राउतको अनपेक्षित व्यबहारलाई त्यस्तै घटनाहरूको शृङ्खलाको एउटा कडी मान्नु पर्छ ।


आस्था राउतले त्यस दिन एअरपोर्टमा गलत व्यबहार गरेको कुरालाई स्वीकार गर्दागर्दै पनि उनलाई पक्राउ गरी कारबाही चलाउने नेपाल जनपद प्रहरीको पछिल्लो निर्णयलाई भने सही भन्न सकिंदैन । वास्तवमा प्रहरीको यो कारबाही सरासर निन्दनीय छ । यो, प्रहरीको रेजिमेण्टेड शक्तिको दुरुपयोग बाहेक केही होइन । कानूनको राज्यमा अपराध र दण्डका बीच उचित सन्तुलन हुनु पर्दछ । अपराधको ओजन र त्यसले समाजमा पार्ने असरको गम्भीरताका आलोकमा अपराधीमाथि गरिने कारबाहीको निर्धारण गरिनु पर्दछ । आस्था राउतले ड्युटीमा खटिएकी प्रहरी कर्मचारीमाथि दुर्वाच्य व्यक्त गरेको अपराधको ओजन कति हो ? उनलाई दिइने दण्ड त्यसै अनुसार तोकिनु पर्ने होइन र ? एउटी प्रतिष्ठित कलाकारको अपमान हुने गरी ती प्रहरी कर्मचारीले शुरूमा आस्थालाई ' तँ ' भनेर सम्बोधन गरेकोमा चाहिँ तिनमाथि कुनै कार्बाही हुने कि नहुने ? आस्थाको त्यस अशोभनीय व्यबहारलाई लिएर प्रहरीले तत्काल नै आस्थामाथि कानून अनुसार जे कारबाही गर्नुपर्ने हो, गरिहाल्नु पर्ने थियो कि थिएन ? जस्ता तमाम प्रश्नहरू प्रहरीतिर तेर्सिएका छन् ।

त्यस दिन विमानस्थल परिसरभित्र आफूद्वारा भएको गलत व्यबहारप्रति आस्था राउतले पश्चाताप व्यक्त गरेकी छिन् । उनले आफ्नो गतिछाडा व्यबहारले निम्त्याएको प्रतिक्रियाबाट गतिलै पाठ पढेको जस्तो बुझिन्छ । आस्थाले गल्ती स्वीकार गरेको परिप्रेक्ष्यमा प्रहरी विभागले पनि यसलाई सकारात्मक रूपले लिएर यो अप्रिय मामिलालाई यहीँ टुङ्ग्याइदिनु पर्दछ । कुनै विशेष क्षणमा आवेशमा आएर गरिएको गल्तीलाई टिपेर त्यस्तो गल्ती गर्ने व्यक्तिलाई हदैसम्मको सजाय दिन उद्यत भएको प्रहरीको दृष्टिकोणको समर्थन गर्न सकिंदैन । यो अपराध र सजायको सन्तुलन सम्बन्धी विश्वव्यापी मान्यताको पनि सरासर बर्खिलाप जाने विषय हो ।

नेपाल प्रहरी लामो समय बितिसक्दा पनि निर्मला पन्त बलात्कार / हत्याकाण्डको ठिक ढङ्गले अनुसन्धान गरेर टुङ्गोमा पुग्न सकेको छैन । अर्कोतिर आइजीपी सर्वेन्द्र खनालको नेतृत्व भएका कम्तीमा पनि ४ वटा इन्काउण्टरका मामिलामा प्रहरीले गैरन्यायिक किसिमले हतियार प्रयोग गरी मानिसहरूको ज्यान लिएको आरोप लाग्दै आएको छ । प्रख्यात उद्योगपति/व्यापारी रूपज्योति तुलाधरलाई अन्यायपूर्ण तरिकाले पक्री रकम असुल गरेको निन्दनीय घटनाका सन्दर्भमा पनि प्रहरीको भूमिका प्रश्नको घेरामा आएको छ । फौजी प्रकृतिको हतियारबद्ध त्यस संस्थालाई आकण्ठ भ्रष्टाचारमा लिप्त रहेको भनी खुलेयाम आरोप लगाउनेहरू पनि धेरै छन् । फोर्सका ४ भूतपूर्व प्रमुख लगायत दर्जनौं वरिष्ठ अधिकारीहरू भ्रष्टाचारको अभियोगमा जेल गएको घटनाले पनि त्यस संस्थाको छविका बारेमा अनुमान लगाउन सकिन्छ ।

त्यस्तो मटमैलो छवि भएको नेपाल प्रहरीले आस्था राउतको वचनको उद्दण्डन्ताको तिल जत्रो सानो मामिलालाई पूरै फोर्सको अस्मिताको प्रश्न जस्तो विशाल पहाड बनाउने काम गरेको बिलकुलै सुहाएको छैन । आफूलाई डण्ठे वा प्युसो भनेको रिसको झोकमा आस्थालाई पक्राउ पुर्जी जारी गरेको प्रहरीका सामु अदालतमा जानेबित्तिकै ती कलाकारलाई थुनामा राख्नुपर्ने कुराको औचित्य प्रमाणित गर्ने चुनौती आउनेछ । प्रहरीले आस्थालाई कानूनको दायराभित्रै रहेर पक्रिएको कुरा साबित गर्न सक्नेछैन किनभने यो बढीमा 'ड्युटीमा रहेको प्रहरीमाथि दुर्वाच्य प्रयोग गरी गाली बेइज्जती गरेको' मुद्दा लाग्न सक्ने घटना मात्र हो । यसलाई चियाको कपमा उठेको आँधी बनाएर प्रहरीले किन आफूसँग नभएको बहादुरी देखाउन खोजेको हो बुझ्न नसकिने पहेली भएको छ ।  

प्रकाशित मिति: : 2020-01-20 13:00:54

प्रतिकृया दिनुहोस्