गायिका आस्था राउतले विमानस्थल सुरक्षाको ड्युटीमा रहेका प्रहरी अधिकृतमाथि असभ्य व्यबहार गरेर सामाजिक मर्यादाको परिधि नाँघेकै हुन् । उनले सुरक्षा जाँचका क्रममा उठेको सामान्य विवादलाई नागरिक अनुशासनको दायराभित्रै रहेर सल्टाउनुको सट्टा जसरी प्रहरीको जातलाई नै होच्याउँदै 'तँ' 'डण्ठे' 'प्युसो' जस्ता शब्दहरूले सम्बोधन गरिन् त्यो सर्वथा अनुचित थियो । हस्की, सेक्सी स्वरमा गीत गाउने ती लोकप्रिय गायिकाले काठमाडौैं विमानस्थलको प्रस्थान कक्षमा त्यस दिन प्रदर्शन गरेको अहंकार उनले आफ्नो व्यक्तित्वको आफैंले गरेको अधिमूल्यनको परिणाम थियो शायद । कथित सेलिब्रिटीहरूको जीवनको एउटा पक्ष नै बनेको कुरो हो यो ।
नेतागिरी, मनोरञ्जनको संसार, पत्रकारिता, रङ्गमञ्च, गायन, नृत्य, हास-परिहास, खेलकूद आदि क्षेत्रमा लागेका र नाम चलाउन अनि दाम कमाउन सफल भएका व्यक्तिहरूले किन हो, आफूलाई अन्य क्षेत्रमा काम गर्ने मानिसहरूभन्दा 'विशेष' ठान्ने गर्छन् । कतिपय हिसाबले यिनीहरूलाई केही विशेष त मान्नैपर्ने पनि हुन्छ । पक्कै कुरो हो, यिनका अनुयायी, स्रोताहरू वा दर्शकहरू हुन्छन् । कसैका धेरै होलान् कसैका थोरै तर हरेक नेता, कलाकार वा अन्य क्षेत्रका स्थापित प्रतिभाका प्रशंसकहरू पनि हुन्छन् । जहिले पनि मिडियाको फोकसमा रहिरहने हुनाले यिनीहरूको अनुहारलाई धेरै जनाले ठम्याउँछन् पनि । यिनीहरूसँग बसेर सेल्फी खिच्न मन लाग्छ धेरैलाई । यिनका बारेमा पत्रपत्रिकामा लेखिन्छ । यिनको फोटो बारम्बार छापिन्छ । अहिले खूबै चल्तीमा रहेको काँचको सानो पर्दामा यिनीहरू दिनैपिच्छे जस्तो देखिन्छन् (कतिपयको त आफ्नै पत्रिका वा टीभी च्यानल हुन्छ) । यिनीहरूको त्यस्तो साधनसम्पन्नता र विशेष शिप देखेर आफूमा कुनै त्यस्तो साधन वा उल्लेख्य प्रतिभा नभएका सर्वसाधारण मानिसहरू यिनीहरूसँग दकस खान्छन् । कतिपय त नतमस्तक हुन्छ्न् ।
यी सबैको नै मिलिजुली परिणाम हो यी कथित विशिष्टहरूले गर्ने आफ्नो व्यक्तित्वको अधिमूल्यन र यिनले हर्दम बोकिरहने आफ्नो महत्ताको स्वनिर्मित भारी । नक्कली विशिष्टताको भारी बोकेर फुलेल मुद्रामा सार्वजनिक स्थानहरूमा देखिने यिनीहरूले बेलाबेलामा प्रदर्शन गर्ने मूर्ख्याइँका कारण समाजमा कतिपय अप्रिय घटना हुने गर्दछन् । धेरैजसो मामिलामा फजिती भने यिनीहरूको नै हुन्छ । यिनीहरूको वाहियात टाइपको ठस्सा देखेर लोकले गिल्ला गर्न शुरू गर्दछ । एकछिन अघिसम्मको आराध्य नायक वा नायिका निन्दाको पात्र बन्दछ/छे र प्रशंसक उतिर वचनको जुत्ता प्रहार गर्न थाल्दछ । आस्था राउतका मामिलामा पनि भएको त्यही हो ।
वास्तवमा यी कथित अतिमहत्वपूर्ण व्यक्तिहरू प्राज्ञिक रूपले प्राय: निम्छरा हुन्छन् । यिनीहरू स्थान, समय र परिस्थितिको वस्तुगत आँकलन गरेर सोही अनुसार प्रस्तुत हुनुपर्ने सामान्य व्यबहारगणितको पनि हेक्का राख्न सक्दैनन् । कसैप्रति पनि व्यक्त हुने आदरको भावना परस्परमा विनिमय भएपछि मात्र सार्थक हुन्छ भन्ने कुरा पनि यिनीहरूलाई थाहा हुँदैन वा थाहा पाएर पनि बुझ पचाइरहेका हुन्छन् । हाम्रो जस्तो लोकतान्त्रिक संस्कारको जग बस्न नसकिरहेको समाजमा कथित विशिष्टहरूको अहमत्याइँ आफ्नो सम्पूर्ण कुरूपताका साथ छताछुल्ल भइरहन्छ कहिले यहाँ र कहिले उहाँ । गायिका आस्था राउतको अनपेक्षित व्यबहारलाई त्यस्तै घटनाहरूको शृङ्खलाको एउटा कडी मान्नु पर्दछ ।
हाम्रो जस्तो लोकतान्त्रिक संस्कारको जग बस्न नसकिरहेको समाजमा कथित विशिष्टहरूको अहमत्याइँ आफ्नो सम्पूर्ण कुरूपताका साथ छताछुल्ल भइरहन्छ कहिले यहाँ र कहिले उहाँ । गायिका आस्था राउतको अनपेक्षित व्यबहारलाई त्यस्तै घटनाहरूको शृङ्खलाको एउटा कडी मान्नु पर्छ ।
आस्था राउतले त्यस दिन एअरपोर्टमा गलत व्यबहार गरेको कुरालाई स्वीकार गर्दागर्दै पनि उनलाई पक्राउ गरी कारबाही चलाउने नेपाल जनपद प्रहरीको पछिल्लो निर्णयलाई भने सही भन्न सकिंदैन । वास्तवमा प्रहरीको यो कारबाही सरासर निन्दनीय छ । यो, प्रहरीको रेजिमेण्टेड शक्तिको दुरुपयोग बाहेक केही होइन । कानूनको राज्यमा अपराध र दण्डका बीच उचित सन्तुलन हुनु पर्दछ । अपराधको ओजन र त्यसले समाजमा पार्ने असरको गम्भीरताका आलोकमा अपराधीमाथि गरिने कारबाहीको निर्धारण गरिनु पर्दछ । आस्था राउतले ड्युटीमा खटिएकी प्रहरी कर्मचारीमाथि दुर्वाच्य व्यक्त गरेको अपराधको ओजन कति हो ? उनलाई दिइने दण्ड त्यसै अनुसार तोकिनु पर्ने होइन र ? एउटी प्रतिष्ठित कलाकारको अपमान हुने गरी ती प्रहरी कर्मचारीले शुरूमा आस्थालाई ' तँ ' भनेर सम्बोधन गरेकोमा चाहिँ तिनमाथि कुनै कार्बाही हुने कि नहुने ? आस्थाको त्यस अशोभनीय व्यबहारलाई लिएर प्रहरीले तत्काल नै आस्थामाथि कानून अनुसार जे कारबाही गर्नुपर्ने हो, गरिहाल्नु पर्ने थियो कि थिएन ? जस्ता तमाम प्रश्नहरू प्रहरीतिर तेर्सिएका छन् ।
त्यस दिन विमानस्थल परिसरभित्र आफूद्वारा भएको गलत व्यबहारप्रति आस्था राउतले पश्चाताप व्यक्त गरेकी छिन् । उनले आफ्नो गतिछाडा व्यबहारले निम्त्याएको प्रतिक्रियाबाट गतिलै पाठ पढेको जस्तो बुझिन्छ । आस्थाले गल्ती स्वीकार गरेको परिप्रेक्ष्यमा प्रहरी विभागले पनि यसलाई सकारात्मक रूपले लिएर यो अप्रिय मामिलालाई यहीँ टुङ्ग्याइदिनु पर्दछ । कुनै विशेष क्षणमा आवेशमा आएर गरिएको गल्तीलाई टिपेर त्यस्तो गल्ती गर्ने व्यक्तिलाई हदैसम्मको सजाय दिन उद्यत भएको प्रहरीको दृष्टिकोणको समर्थन गर्न सकिंदैन । यो अपराध र सजायको सन्तुलन सम्बन्धी विश्वव्यापी मान्यताको पनि सरासर बर्खिलाप जाने विषय हो ।
नेपाल प्रहरी लामो समय बितिसक्दा पनि निर्मला पन्त बलात्कार / हत्याकाण्डको ठिक ढङ्गले अनुसन्धान गरेर टुङ्गोमा पुग्न सकेको छैन । अर्कोतिर आइजीपी सर्वेन्द्र खनालको नेतृत्व भएका कम्तीमा पनि ४ वटा इन्काउण्टरका मामिलामा प्रहरीले गैरन्यायिक किसिमले हतियार प्रयोग गरी मानिसहरूको ज्यान लिएको आरोप लाग्दै आएको छ । प्रख्यात उद्योगपति/व्यापारी रूपज्योति तुलाधरलाई अन्यायपूर्ण तरिकाले पक्री रकम असुल गरेको निन्दनीय घटनाका सन्दर्भमा पनि प्रहरीको भूमिका प्रश्नको घेरामा आएको छ । फौजी प्रकृतिको हतियारबद्ध त्यस संस्थालाई आकण्ठ भ्रष्टाचारमा लिप्त रहेको भनी खुलेयाम आरोप लगाउनेहरू पनि धेरै छन् । फोर्सका ४ भूतपूर्व प्रमुख लगायत दर्जनौं वरिष्ठ अधिकारीहरू भ्रष्टाचारको अभियोगमा जेल गएको घटनाले पनि त्यस संस्थाको छविका बारेमा अनुमान लगाउन सकिन्छ ।
त्यस्तो मटमैलो छवि भएको नेपाल प्रहरीले आस्था राउतको वचनको उद्दण्डन्ताको तिल जत्रो सानो मामिलालाई पूरै फोर्सको अस्मिताको प्रश्न जस्तो विशाल पहाड बनाउने काम गरेको बिलकुलै सुहाएको छैन । आफूलाई डण्ठे वा प्युसो भनेको रिसको झोकमा आस्थालाई पक्राउ पुर्जी जारी गरेको प्रहरीका सामु अदालतमा जानेबित्तिकै ती कलाकारलाई थुनामा राख्नुपर्ने कुराको औचित्य प्रमाणित गर्ने चुनौती आउनेछ । प्रहरीले आस्थालाई कानूनको दायराभित्रै रहेर पक्रिएको कुरा साबित गर्न सक्नेछैन किनभने यो बढीमा 'ड्युटीमा रहेको प्रहरीमाथि दुर्वाच्य प्रयोग गरी गाली बेइज्जती गरेको' मुद्दा लाग्न सक्ने घटना मात्र हो । यसलाई चियाको कपमा उठेको आँधी बनाएर प्रहरीले किन आफूसँग नभएको बहादुरी देखाउन खोजेको हो बुझ्न नसकिने पहेली भएको छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया