५० लाखभन्दा बढी सुर्तिजन्य पदार्थसहित ३ जना पक्राउ

 ५० लाखभन्दा बढी सुर्तिजन्य पदार्थसहित ३ जना पक्राउ

प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौैलगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। 

महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरिघाटस्थित गोदामबाट सामानसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी मुकेश कुमार सिंहले बताए। 

प्रहरी उपरीक्षक सिंहले पक्राउ पर्नेमा काठमाडौंको सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षीय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षीय नारायण बोगटी, र काठमाडौंको गौरिघाट बस्ने भारत छपराका ४५ वर्षीय उदय भनिने शरण कुमार सिंह पक्राउ परेको बताए। 

उनीहरुले सुर्तिजन्य तथा पान मसला, कपडा, मोटर पार्टसलगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याई सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौंलगायत देशका विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक सिंहले बताए। 

‘देख्दा सानो तर, मूल्यवान हुन्छ सुर्तीजन्य तथा पान मसलाका प्याकेट,’ महाशाखाका एसएसपी सहकुल बहादुर थापाले भने, ‘त्यसैले पनि सजिलै विना भन्सार भारतबाट नेपाल सामानहरु ल्याउन सकिन्छ।’ 

उनीहरुको साथबाट रजनीगन्ध सिल्भर पेरिस लेखिएको प्याकेट २१५३ थान, रजनीगन्ध तुल्सी प्याकेट ३१६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशरयुक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मन्जनको प्याकेट २७५ थान, वि–१ तम्बाकु लेखिएको पोका ९० थान बरामद भएको छ। 

यस्तै, राजमा शर्मिला लेखिएको मिठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मिठा पान मसलको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा मान मसलाको बट्टा ४२९ थान बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताए। 

त्यस्तै उनीहरुबाट चुरोटको बट्टा ६७ थान, कथ्थाको प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाको बोटल ४४ थान, पान हनिको बट्टा ३१० थान, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्विट सुपारी प्याकेट ४००० थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली विडी २४ थान, कोल ट्याब्लेटको पोका थान १०, गुलको डिब्बा थान ८१२ डिब्बा, कालो सुर्नीको प्याकेट ४५५० थान समेत बरामद भएको छ। 

बरामद सामानहरुको बजार मूल्य ५० लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाउने तयारी भइरहेको समेत उनले बताए। 
 

प्रकाशित मिति: Jan 20, 2020 15:49:22

प्रतिक्रिया दिनुहोस

सबै