उद्योग क्षेत्रको विकासमा उल्लेख्य ध्यान दिन सरकारलाई सांसदहरुकाे आग्रह

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्बिर

मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिइएको उद्योग क्षेत्रको विकासमा उल्लेख्य ध्यान दिन सरकारलाई सांसदहरुले आग्रह गरेका छन्। 

राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले सरकारकै लगानीमा रहेका कतिपय उद्योग रुग्ण अवस्थामा रहेको भन्दै तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए। बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नन्दा चपाईंले उद्योग कलकारखानालाई आर्थिक विकासको मेरुदण्डका रूपमा मानिएको भए पनि पछिल्ला दिनमा धेरै उद्योग कलकारखाना रुग्ण अवस्थामा रहेकाले तत्काल ती उद्योग सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।

नेकपाका हरिचरण शिवाकोटीले सुविधासम्पन्न पूर्वाधार निर्माण गरेर चिकित्सा शिक्षा अध्ययन गर्ने उद्देश्यले सञ्चालनमा आएका अस्पताललाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराए। नेकपाकै रामलखन चमारले भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सरकारले धार्मिक क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए। उनले जनकपुर, त्रिवेणीधाम, लुम्बिनीलगायत क्षेत्रलाई जोड्ने गरी पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’  पारित गरेको छ।  बैठकले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ। बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही माघ १४ गते अपराह्न १ बजे बस्नेछ।
 

प्रकाशित मिति: : 2020-01-21 04:52:21

प्रतिकृया दिनुहोस्