साउदीको जेलमा टाउकोमा करेन्ट लगाउँथे: उमेश यादव (भिडियोसहित)

३० लाख दिने कुरामा सहमति जुटेपछि लतिफको परिवारले मुद्दा फिर्ता लिन स्वीकार गर्‍यो। अन्ततः साउदी अदालतबाट ३० लाख ‘ब्लड मनी’ मा उमेश १८ जनवरीमा जेल मुक्त

सन् २००६ मा साउदी अरेबियामा वैदेशीक रोजगारीका लागि जाँदा उमेश यादव निकै प्रफुल्लित थिए। परिवारका अन्य सदस्यका लागि राम्रो लगाउने र मिठो खाने वातवरण तयार पार्न उनी पहिलो पल्ट विदेश जाँदै थिए। 

तर दूर्भाग्य, वैदेशीक रोजगारीमा साउदी पुगेको १२ दिन नबित्दै उनी जेल परे। घरको बिचल्ली भयो। 

साउदीमा उनको काम थियो, घरको पाइप र मिटर हेर्नुपर्ने। काम गर्ने सिलसिलामा एकदिन उमेशको ड्युटी थियो, सिढी दह्रोसँग समात्ने र पाकिस्तानी नागरिक मोहम्मद लतिफ बल्डिङ माथि काम गर्ने। 

काम गरिरहेकै बेला पाकिस्तानी नागरिक लतिफ एक्कासी माथिबाट भूइँमा झरे। उनको नाक फुट्यो। भनिन्छ नि, बिपत बाजा बजाएर कहिल्यै आउँदैन। यस्तै भयो उमेशलाई। भूइँमा झरेर सामान्य घाइते भएका लतिफले उमेशसँग निहुँ खोजे। उनले उमेशमाथि सिढी दह्रोसँग नसमातेको आरोप लगाए। 

हेर्दा हेर्दा बहसले झगडाको रूप लियो। रिसको आवेगमा उमेशले लतिफमाथि रड प्रहार गरे। उमेश अतालिए। विश्वको सबैभन्दा कडा कानुन भएको साउदीमा अब के सजाय भोग्नु पर्ने हो? भनेर उमेश भागे। घटनाको ४ दिनपछि लतिफलाई अस्पताल पुर्याइयो। तर घटनाको १५ दिनमा लतिफले अस्पतालमा दम तोडे। 

यसपछि साउदी प्रहरीले उनलाई धुईधुई ती खोज्यो। १७ दिनमा उनी पक्राउ परे र कारागारमा थुनियो। 

उनले यो अवस्था आउछ भनेर कहिल्यै सोचेका थिएनन्। तर, के गर्ने? हुने कुरा दैवले पनि टार्न सक्दैन। २६ वर्षको उमेरका उनलाई २७ वर्षका लतिफको हत्याको अभियोग लाग्यो। अदालतले ८ बर्ष जेल सजाय सुनायो। लाफितको परिवारलाई अदालतको फैसला चित्त बुझेन।

उनले विगत सम्झिए,‘ ३ वर्ष म होसमा थिइन। यसपछि मात्र मैले घरपरिवारसँग कुरा गर्न पाए।’ उनी रोजगारीका लागि जाँदा कान्छो छोरा जन्मिएको १७  दिन मात्र भएको थियो। ‘अहिले त उ ठूलो भयो होलारु’ १३ वर्ष जेलको सजाय भोगेर बुधबार नेपाल फर्किएका यादवले बिएल नेपाली सेवासँग भने। 

लतिफको परिवारको असन्तुष्टीपछि उमेशलाई अदालतले पुनस् ११ वर्षको जेल सजाय र ११ सय कोर्राको सजाय सुनाएको थियो। साउदीको जेलमा हुँदा उनको दिमागमा करेन्ट लगाइन्थ्यो। पिटाईको कुरा छोडैं। सानो खाटमा ४ जनासम्म सुत्नु पर्ने बाध्यता थियो। 

२०७५ सालमा लतिफकै परिवारको निवेदनको आधारमा यादवलाई मृत्यु दण्डको सजाय सुनाइयो। यतिबेला उनले पहिलो पल्ट हरेश खाए। यद्धपि उनले परिवारलाई यसको सुईको लाग्न दिएनन्। नेपालका एक सामाजिक अभियन्ता सरोज रायको सहयोगले उनी मृत्युको मुखबाट फर्किए। 

‘सरोज जी मेरो लागि देउता भएर आउनु भयो,’ उनले भने। यादवलाई मृत्यु दण्ड दिएको घटना थाहा पाएपछि सरोजले साउदी कानुनको अध्यन गरेका थिए। उनले दया याचनामा मात्र सजायबाट मुत्त हुने देखेपछि उनी लतिफको परिवारलाई मनाउन पाकिस्तान गए। उनले घटना जानीजानी नभएको भन्दै भवितब्य घटनामा माफी दिन आग्रह गरे। लतिफको परिवार गरिब थियो।

३० लाख दिने कुरामा सहमति जुटेपछि लतिफको परिवारले मुद्धा फिर्ता लिन स्विकार गर्यो। अन्तत साउदी अदालतले पनि ३० लाख ‘ब्लड मनी’ मा उमेशलाई १८ जनवरीमा जेल मुत्त गर्ने निर्णय गर्यो। ‘प्लेन नचढ्दासम्म नेपाल फर्किन्छु भन्ने  लागेको थिएन,’ उनले भने। उनी आफू रिहा भएपछि १४ वर्ष साउदी जेलमा रहेका बिवेक दाहाललाई छुटाउन परराष्ट्र मन्त्रीसँग कुरा राख्ने बताए। उनको अबको योजना छ, धनुषा पुगेर दोकान खोल्ने। 
 

प्रकाशित मिति: : 2020-01-25 06:54:24

प्रतिकृया दिनुहोस्