११ वर्षकाे उमेरदेखि लुटिँदै आएकी याैनकर्मी भन्छिन्–परिवारका लागि घर बनाउने इच्छा छ (भिडियाे)

हिजोआज इटहरीमा उनी यौनकर्मी भनेर चिनिन्छिन्। उनको ग्राहक चौतर्फी छन्। जीवनमा उनले धेरै ठाउँमा आफ्नो शरीर बेच्नु पर्यो।

उनको नाम हो, सपना (परिवर्तित)। 

उमेरः २६ 

घरः सुनसरी। 

कालो अनुहार तर हिस्सी परेको। ठूला आँखामा लामो कपाल। समान्य मेकअपमा पनि उनी हिरोईन भन्दा कम लाग्दिनन्। 
त्यसैले काठमाडौं जस्तो ‘मेट्रोपोलिटन सिटी’ मा उनलाई ग्राहकको कुनै कमि छैन। उनी ग्राहकको माग पुरा गर्न विमानबाटै नेपालको विभिन्न शहर पुग्छिन्। 

समाजले उनलाई यौनकर्मीको बिल्ला भिराएको छ। तर उनी आफूलाई यौनकर्मीको अधिकारमा सक्रिय अभियन्ता भन्न रुचाउँछिन्। केही वर्ष यतादेखि उनी यौनकर्मीको हक र अधिकारको वकालत गर्दै पनि हिडिरहेकी छिन्।

समाजिक काम र पेशा दुबैलाई व्यवस्थापन गर्न उनलाई यति बेला धौ–धौ परिरहेको छ। तथापि उनी आफू जस्ता महिलाको अधिकारको मुद्धा उठ्यो कि देशभरी जता पनि कुदिहाल्छिन्।

यौन पेशाबाटै उनले आमाबुवा र बहिनीलाई पालेकी छिन्। राजधानीमा महिला अधिकारको विषयमा आयोजित कार्यक्रममा भाग लिन  आएकी उनले सबैको अगाडि भनिन्, ‘अधिकारको नाममा तत्कालिन माओवादी अथवा उहिलेको राज्य सत्ताले मलाई यौनकर्मी बनायो।’

माओवादी द्धन्दको बेला उनी कक्षा ४ मा पढ्थिन्। उनको काकाको छोरा आर्मीका जागिरे थिए। 

गाउँमा जति बेला पनि गोली पड्किन थालेपछि दाई विदेश हानिए। दाई त विदेश लागि हाले तर दाईलाई लुकाएको भन्दै माओवादीको एउटा जत्थाले उनको बुवालाई घरबाट घिसार्दै जंगलमा लग्यो। 

‘बुवालाई जंगलमा मर्ने गरि कुटपिट गरे। चोटकै कारण केही महिनापछि प्यारालाइसिस भयो। यसपछि घरको डिलमा ल्याएर फ्यालिदिए,’ उनले भावुक हुँदै भनिन्। 

त्यही वर्ष स्कुल जाने क्रममा माओवादीले उनलाई बीच बाटोबाटै समातेर जंगल पुर्‍यायो। 

‘त्यति बेला म सानी थिए। बाटोमा निकै चिच्याए। तर, सुन्ने कोही थिएनन्। केही वर्ष भान्से भएर उनीहरूसँग दिन बिताए,’ उनले भनिन्। 

जंगलबाट फर्केपछि    

जंगलबाट फर्किदा उनको हातखुट्टा चिरिएर जता त्यतैबाट रगत चुहिएला जस्तो हुन्थ्यो। घर फर्केर ऐना हेर्दा उनले आफैलाई चिनिनन्। शरीर दुब्लाएर कंकाल जस्तो भएको थियो। 

‘अरुभन्दा पनि माओवादीको चंगुलबाट फुत्किएपछि म निकै खुसी भएको थिए,’ उनले भनिन। तर, उनको खुसी लामो समय टिक्न सकेन। घर फर्किएको पर्सिपल्ट उनी दाउरा टिप्न छेउकै वन पुगेकी थिइन। 

एक जना अग्लो, कालो चश्मा लगाएको मान्छेले पछाडिबाट उनलाई च्याप्प समात्यो। उनले छुटकारा पाउने अनगिन्ती कोशिश गरिन्। तर, उसले सपनाको स्तनमा हात पुर्याएर कपडा फुकाल्न उर्दी लगायो। 

‘३५–४० वर्ष लाग्ने उसलाई मैले अंकल यो के गरेको भन्दै बिन्ती गरे। तर, उसले कसैलाई भनिस् भने मारिदिन्छु भन्दै मेरो कपडा तान्न थाल्यो,’ यो कुरा भनिरहँदा सपनाको अनुहारको रंग उडेको थियो। उनले भनिन्, ‘जंगलमा ३ वर्ष जोगाएको मेरो इज्जत त्यहाँ लुटियो।’

परिवारले यो कुरा लुकाउने हरसम्भव प्रयास गरेका थिए। तर, गाउँ न हो। खराब कुरा डढँेलो सल्किएझैं फैलिहाल्यो।

गाउँलेहरू घरै आइपुगे। र, आमाबुवालाई दबाव दिन थाले, ‘इज्जत लुटाएकी छोरीलाई गाउँमा राखे हाम्रा पनि छोरी बिक्दैनन्। घरबाट निकालिहाल।’

प्यारालाइसिस बाको आँखाबाट आँशुको बाँध फुट्यो। उनीसँग मुकदर्शक बनेर उभिनु बाहेक अन्य विकल्प थिएन। त्यही रात आफू घरबाट निस्किएर इटहरी पुगेको उनले सुनाइन। 

इटहरीमा पटक–पटक लुटिएको सपना 

इटहरीमा सपना एउटा घरमा भाडा माझ्ने काम गर्न थालिन्। दिन बित्दै गए। जंगलमा बस्दा कूपोषणको सिकार भएकी सपनाको अनुहारमा केही लाली खिल्न थाल्यो। तर, उनका लागि विस्तारै यो नै अभिसाप बन्यो। 

घर मालिकनी आन्टी एकदिन घरमा नभएको मौका छोपेर अंकलले  जबरदस्ती गरे। 

आफ्नो काम सकिएपछि अंकलले उल्टै धम्की दिए– कसैलाई भनिस् भने मारिदिन्छु।’ आन्टि घर फर्किएपछि उनले घटना सविस्तार सुनाइन्। उनलाई लागेको थियो, उनको लुटिएको जोवन नफर्किए पनि आफूलाई न्याय होला? तर, आन्टीले पनि चुप लागेर बस्ने उर्दी सुनाएपछि उनीसँग प्रहरीमा उजुरी गर्न जानु बाहेक अर्को विकल्प थिएन। 

उनले आक्रोस पोख्दै भनिन्, ‘प्रहरीका उजुरी हालेपछि कार्यवाही होला भनेको अंकलले कुरा मिलाए। उल्टै प्रहरीले मलाई गाली गर्यो।’

यसपछि उनको घर छोडेर अन्यत्र जाने बाहेक अर्को विकल्प रहेन। जहाँ गएपनि लुटिने डर देखेपछि उनले आफूलाई जोगाउन ज्यालादारीमा दिउँसो मात्र काम गर्ने ज्यामी काम खोजिन। 

मरेर दिनभरी काम गर्दा जम्मा ५० रुपैयाँ हुन्थ्यो। यहाँ पनि एकदिन उनलाई ठेकेदारले अवेलासम्म काम गर्नुपर्छ भनेर इट्टा थुपारिएको एउटा घरमा लग्यो र त्यही बलात्कार गर्‍यो। 

सपना १४ वर्षकै उमेरमा पटक पटक लुटिइन्। ‘म हरेक पटक विद्रोह गर्थे। उजुरी दिन्थे तर मेरो समाजले मेरो बालापनको फाईदा उठाइरहयो। ५० रुपैयाँ तिरेर अरुलाई लेख्न लगाएको उजुरी दर्ता गर्न प्रहरीले मानेन्,’ उनले भनिन्। 

उनलाई शरीर जोगाउनै हम्मे पर्यो। उनले विराटनगरको जोगवनी नाकाबाट चिनी र चियापत्तिको कारोवार पनि गरिन्। उनलाई त्यो काममा कसैले लुट्दैन भन्ने लागेको थियो। उनी जोगवनी नाकाबाट चियापत्ति किनेर ल्याउँथिन् र होटलमा सय–पचास बढी लिएर बेच्थिन्।

‘राम्रै कमाई हुन्थ्यो। पाँच सय रुपैयाँमा कोठा भाडामा लिएर बसेकी थिए। कमाउन थालेपछि आमाबुवालाई कोठमा ल्याएर राखे। सबै राम्रो चल्दै थियो। एकदिन फेरि मेरो शरीरमाथि नरपिचासको आँखा लाग्यो,’ उनले भनिन्। 

प्रहरीबाटै यौन सम्पर्कको प्रस्ताव 

जोगवनी नाकामा दुई जना प्रहरीले समान रोकिदिए। उनले रुँदै प्रहरीलाई गरिखान् दिन हात जोडिन्। तर, उनीहरूले दुईजना सँग शारीरिक सम्वन्ध राख्न दिए मात्र सामान छोडिदिने प्रस्ताव राखे। 

त्यो दिन उनलाई बुवाको लागि औषधी लानुपर्ने थियो। ग्यास सकिएर बिहानको छाक पनि नखाई उनी काममा निस्किएकी थिइन। 

प्रहरीको प्रस्तावको अगाडि उनीसँग अर्को कुनै विकल्प थिएन। उनी थचक्क भूइँमा बसिन्। प्रहरीले भन्सार नजिकैको होटलमा लगेर पालैपालो उनको देह लुटे। 

यस क्रममा उनी अनगिन्ती लुटिइन्। २०७३ सालमा एक्कासी विरामी भइन्। ‘मेरो स्तन एकदमै दुख्न थाल्यो। जचाउँन जाँदा स्तनमा ट्युमर पलाएको रहेछ। भरतपुर क्यान्सर अस्पतालले मलाई क्यान्सर भएको रिपोर्ट दियो। मसँग उपचार गर्ने पैसा थिएन,’ उनले दुःख सुनाइन्, ‘गाउँकै एकजना अंकलसँग उनले आर्थिक सहयोग मागिन्। उनले पनि एकरात आफूसँग बिताउने प्रस्ताव राखे। मसँग अर्को विकल्प थिएन।’

अंकलले यौन सम्पर्क राखेको भोलिपल्ट अस्पतालमा पुगेर १५ हजार रुपैयाँ तिरिदिए। ‘पैसाका लागि मैले सम्बन्ध बनाएको यो नै पहिलो यौन अनुभव थियो,’ उनले भनिन्। 

यौन पेशाबाट जम्मा भएको पैसाले नै उनी अहिले आफ्नो उपचार गराइरहेकी छिन्। ‘औषधीमा मात्र मेरो १५ हजार खर्च हुन्छ। बहिनीलाई पढाउन मासिक १० हजार र सबै खर्च गर्दा ४० हजार लाग्छ,’ उनले भनिन्। 

उनी अहिले यौन व्यवसायमा सक्रिय छिन्। तर, उनको वास्तविकता कसैले बुझदैनन्। हिजोआज इटहरीमा उनी यौनकर्मी भनेर चिनिन्छिन्। उनको ग्राहक चौतर्फी छन्। जीवनमा उनले धेरै ठाउँमा आफ्नो शरीर बेच्नु पर्यो।

उनको अबको सपना छ, इटहरीमा आमाबुवाका लागि सानो भएपनि घर बनाइदिने। यसका लागि उनले सानो टुक्रा जग्गा पनि किनिसकेकी छिन्। उनी बहिनीको सुन्दर भविष्यप्रति पनि आशावादी छिन्। आफू जलेर पनि परिवारका अन्य सदस्यलाई सहयोग गर्न सकेकोमा उनलाई सन्तुष्टी छ। तर, आफ्नो भविष्य के हुने हो? उनी अझै बेखबर र अन्जान छिन्।  
 
 

प्रकाशित मिति: : 2020-03-09 02:45:00

प्रतिकृया दिनुहोस्