एशिया हेर्ने एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स काठमाडौंमा

 मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को युरोप, एशिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणका क्रममा काठमाडौं आएका छन्।

अमेरिकी अनुदान सहयोगअन्तर्गत एमसीसीसँग भएको सम्झौताका विषयमा नियमित परामर्शका लागि सहायक उपाध्यक्ष ब्रुक्स शुक्रबार काठमाडौं आएका हुन्।

काठमाडौंमा रहँदा उनले एमसीसी र मिलेनियम च्यालेञ्ज अकाउण्ट नेपाल (एमसीए नेपाल) पदाधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङसहित सरकारी अधिकारीसँग भेटवार्ता गर्नेछन्।

एमसीसी परियोजना विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित रहेको छ। विद्युत्‌को लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य हो।

सन् २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पूरा गर्ने देशहरुलाई आर्थिक वृद्धिमार्फत् गरिबी न्यूनीकरण गर्नका लागि अनुदान दिँदै आएको छ।

नेपाल र अमेरिकाबीच २०७४ भदौ महिनामा ५० करोड अमेरिकी डलरको अनुदान सहमतिमा हस्ताक्षार भएको थियो।
 

प्रकाशित मिति: : 2020-02-08 19:42:08

प्रतिकृया दिनुहोस्