के तमीसँग कर्णालीको नक्सा छ ?

के तमीसँग कर्णालीको नक्सा छ ?

एकाबिहानै सम्झनामा आइदिन्छ एउटा अनुहार। औँला अग्रसर भैदिन्छन् तुरुन्तै नम्बर डायल गर्न। सुनिन्छ एक मधुर अनि सुस्ताएको बोली। ‘के भो स्वर अर्कै छ त’ –जिज्ञाशापूर्वक सोध्छु। ‘बिमारी भएर नेपालगञ्ज हस्पिटलमा धाइरहेको छु सञ्चो छैन्’ –विस्तारै उत्तर फर्काए उनले। करिव दुई महिना अघि मुगुको गमगढीमा भेटेको थिएँ उनलाई।

बाहिरबाट हेर्दा नपत्याउदा, सामान्य ढंगले दिनचर्या चलाइरहेका भित्र गहिरो संवेदना बोकेका प्रतिभावान ती मनुवा थिए सुमन मल्ल। यतिखेर उनी थलिएका छन् सुगर र प्रेसरले। उनले लेखेको–परिकल्पना गरेको नाटक सुइना कर्णालीका हेर्दाका दिन सम्झिँदै कुराकानी गर्ने क्रममा मित्र राधेश्याम मल्लले भनिदिए – ‘आफ्ना कुरा राख्न एन्टिकरेन्ट बन्नै पर्छ। सहजतामा जीवनको सफलता खोज्ने सर्जक हुँदैन मात्र अनुयायी हुन्छ। अनुयायीहरुले परिचय गुमाउछन्।’ 

म निकै बेर घोत्लिएँर सोच्न थालेँ –‘ठिक भने राधेश्यमले। उकाली ओरालीको अनुभव बटुल्न गोरेटोमा हिँड्नै पर्ने हुन्छ। जुझ्नसक्नु पर्ने हुन्छ हरेक मोडमा हरेक परिस्थितिसँग।’ जीवनका कैयौं असहजताभित्र लड्दै भिड्दै कामप्रति समर्पित भएर बनाएका हुन् सुमनले आफ्नो परिचय। उनी परिचयकै लागि पनि निस्केका थिएनन्। केही गरौं भन्ने सोचले देखापरेका हुन् नाट्य क्षेत्रमा। तर नाटकको दुखान्त दृश्यझैं देखापरे उनको आफ्नै जीवनमा कतिपय मोडहरुमा। 

‘जति खेती हुँदा नि पुग्दैनथ्यो वर्षभरि खानलाई। जुम्लाबाट आलु, सिमी किनेर ल्याउनु पथ्र्यो। यसरी किनेर ल्याउनुलाई बेसा ल्याउनु भनिन्थ्यो। त्यतिखेरको समाजमा बेसा ल्याउनु त्यति राम्रो मानिदैनथ्यो। घरमा नभए पछि बाँच्नु त पर्‍यो। हिउँदमा सिमीको एक कचौरा झोल र जौ, फापर, कोदोका दुई रोटी खाएर छाक टार्ने गरिन्थ्यो’  – विगतका दिन सम्झे उनले। अनि पारिपट्टि देखिने डाँडाँ देखाउँदै भनेका थिए – ‘घन्टौ हिँडेर ल्याइन्थ्यो दाउरा।’ 

खेतीयोग्य जमिन भएको र राम्रो उब्जनी समेत हुने कर्णालीको जुम्ला नै हो। त्यतै भएको मानिन्छ खसभाषाको उत्पत्ति पनि। त्यही जुम्ला चेपुवामा पर्‍यो। एकातिर कालीकोटका डरलाग्दा भीर अर्कोतिर मुगुका भीर। पुगेन समयमा कर्णालीतिर बाटो। पुगेन सिंहदरबारको दृष्टि। माओबादी आन्दोलन भइरहदा भविष्यको स्मृद्ध कर्णालीको सपना देखेका कर्णालीवासीमध्ये कसैले त्यो स्मृद्धि देखे भने त्यही नाटक सुइना कर्णालीकामा देखे। राज्य संचालकहरुले त सधैभरी केवल सपना मात्रै त देखाए। 

राष्ट्रिय प्राथमिक विद्यालय भारेकोटमा पाँच कक्षासम्मको अध्ययन गरेका मल्लले २०५७ सालमा  १२ कक्षा पास गरे महाकाली अच्च माबिबाट। माओवादी आन्दोलन चर्किसकेको थियो। घरघरमा आइपुग्थे माओवादीहरु र कन्भेन्स गर्न थाल्थे सेनामा भर्ना हुन्। गाउँमा बस्न कठिनाइ भएपछि आश्रय खोज्न हिडे नेपालतिर। जहाँ बिभिन्न ठाउँमा काम गर्दै निरन्तरता दिन थाले पढाइलाई पनि। एक मनले त राजनीतिमा होमिन नखोजेका हैनन्।

तर उनले देखिसकेका थिए राजनीतिक क्षेत्रका दृश्यहरु। त्यसैले राम्ररी सोची निस्कर्ष निकालेछन् –‘नेपालमा पहुँच पैसा र शक्ति हुने पो गर्छन् राजनीति। मजस्तो त्यस्तो केही नभएको भावुक मान्छेका लागि कहाँ सहज हुन्छ र।’ हटाइदिएछन् दिमागबाट राजनीति भन्ने शब्द नै। त्रिचन्द्र कलेजमा बिएमा अध्ययनरत छदा एउटा साहित्यिक समूह बनेछ। जसको काम हुन्थ्यो शुक्रबारका दिन १२ बजे पछि कविता वाचन गर्ने। त्यही दौरानमा उनी नजिक भए सुकुम शर्मासँग। सुकुम शर्मा त्रिचन्द्रमै प्राध्यापन गर्थे। तिनै सुकुम शर्माले उनलाई सल्लाह सुझाव दिइरहे।

एक दिन सुकुमले उनीसँग बीपीको दोषी चश्मा कथालाई खस भाषामा अनुवाद गर्न भनेछन्। पुरै कथासङ्ग्रह त होला नि ठानेर उनी लागिपरेछन् अनुवाद कार्यमा। ३ महिना लगाएर पुरै कथासङ्ग्रह अनुवाद गरी देखाएछन् सुकुम सरलाई। सुकुम सर निकै खुसी भएछन् र पुस्तक प्रकाशित गर्न वीपीका उत्तराधिकारी खोज्न सुझाव दिएछन्। उनले शशाङ्क र शेखर कोइरालालाई भेटे पछि थाहा भएछ उक्त पुस्तकको उत्तराधिकार साझा प्रकाशनसँग रहेको कुरा।

त्यसपछि धाउन थालेछन् सुमन साझाप्रकाशनको कार्यालयमा। साझामा निवेदन दर्ता गराएछन्। केही दिनमा बसेछ बोर्डको बैठक। सुमन र सुकुमको आशा निराशामा परिणत हुन गएछ। साझाको बोर्ड बैठकले खस भाषामा प्रकाशित गर्ने कुरा सीधै अस्वीकर गरिदिएछ। त्यहाँ पनि उनले महसुश गरेछन् पहुँच नपुगेको। अनि मनमनै सोचेछन् – यो त नेपाल हो म कर्णालीको मान्छेलाई कहाँ हेर्थ्याे र नेपालले। त्यसपछि अनुवाद गरिएको पाण्डुलिपि र उनले लेखेका थुप्रै कविताहरु थन्किए त्यतिकै।

 मतलब राखेनछन् त्यतातिर। सुकुम शर्माकै सुल्लाह र सुझावलाई मनन गरी उनले पाइला टेके पत्रकारीता क्षेत्रमा। कुमार श्रेष्ठको ए.एन.ए (एशोसिएट न्यूज एजेन्सी) भन्ने एउटा संस्था थियो जहाँ उनी काम गर्थे। अफिसकै कम्प्युटरमा टाइप गरेर राखेका थिए। दुर्भाग्य अहिले उनीसँग रहेन त्यो पाण्डुलिपि र ती कविताहरु कुनै पनि। ए.एन.ए बन्द भयो। त्यसका संचालक पनि कता विदेशतिर छन् भन्ने सुनिन्छ। अब ती कहाँ गए। मात्र सम्झनामा बोकेका छन् उनले ती दिनहरु र त्यो अनुवादित पाण्डुलिपि। 

काठमाडौंमा निकै हण्डर खाए उनले। दौडिरहे सडक किनारमा कहिल्यै रिपार्टर बनेर त कहिल्यै अरु नै कामका लागि। यसैमा एकदिन खवर पाएछन् घरमा बुवा बिमारी छन् भन्ने। ०६२–०६३ को आन्दोलन चर्किरहेको थियो। घर जान सजिलो थिएन। प्लेन समेत बन्द भएका थिए। घरको खवरले चिन्तित तुल्याइरह्यो उनलाई। केही दिनपछि गणतन्त्र घोषणा भयो।

बाटो खुल्यो। उनी पनि हिडेछन् मुगुतिर। घरपुगेर बुवालाई काठमाडौं लैजाने सोच बनाएछन् तर बुवाले मेरे नि यतै मर्छु काठमाडौं जान्न भनी अड्डी कसिदिए पछि उनीसँग रहेन दिन गन्नु शिवाय कुनै विकल्प। त्यसको दुई दिन पछि उनी गमगढी बजारतिर गएको बेला चाडो घर आउन खवर पठाइछन् दिदीले। बीस पच्चिस मिनेटको दूरी थियो उनको घरबाट सदरमुकामसम्मको। हतारिदै घरपुगेका सुमनले परैबाट देखेछन् आँगनमा बाको लास। अनि त्यतिखेरै महशुस गरेछन् जिन्दगीको एक अध्याए सिद्धिएको।

आँसुको भल बगाउँदै सेतो बस्त्रधारण गरेर पुकारेछन् अन्तिमपल्ट बालाई। नाटकीय ढंगले बाटोलागे बा पनि। काजक्रिया सकेर उनी फर्किए पुनः काठमाडौं। त्यही काठमाडौंले दुखाइरहन्थ्यो उनलाई हरदम। घरको अवस्था बिग्रेको थियो। ०६४ दसैंमा घर फर्किएका सुमनलाई दवाव आउन थालेछ बिहेको।

जुम्लाको सिंजा निवासी उनका मावली पट्टिकाले केटी खोज्न थालिसकेछन्। दसैपछि घरबाट उनलाई पठाइयो मावली गाउँ। उनलाई केटीहरु त देखाइयो तर ती सबै प्रन्ध्र वर्ष मुनिका रहेछन्। द्वन्द्वकालमा माओवादीले सेनामा लैजान्छन् भन्ने त्रासले सानैमा बिहे गरिसकेका थिए अधिकांशले। १५ वर्ष माथिका केटीहरु भेटिने सम्भावना पनि थिएन।

२७ वर्षिय सुमनले मन गरेनन् १५ वर्ष नै नपुगेकी केटीसँग कुरा गर्न। त्यसपछि पुगे उनी फुपूको घरमा। जहाँ बहिनीले (फुपूको छोरीले) प्रसङ्ग निकालिछन् बिहेकै। समूह बनाएर हिडिरहेका पाँच छ जना केटीहरुमध्ये एउटीलाई देखाएर उनले भनिदिएछन् – ‘भएपछि ऊ त्यो लिन्छु नत्र केही नाइ।’ दिउँसो उक्त केटीलाई बहिनीले आफुसँगै वनतिर स्याउला लिन लगिछन्। कन्भेन्स गरिछन् र बेलुकी भेट्ने कुरा मिलाइसकिछन्। साँझपख तीन जना बसेर एकान्तमा कुरा गर्न थालेछन्।

जतिकुरा गर्दा नि केटी (गंगा)को स्वरै सुनिएन छ। सुमनले भैहाल्यो भनेर उठ्न खोज्दा अन्तमा बोलिछन् गङ्गा र भनिछन् – ‘हुन्छ म जान्छु।’ अनि टुङ्गो लगाएछन् मंसिर ६ गते भागेर जाने कुराको। उनले मंसिर पाँच गते पुनः सिंजा पुगी भगाएर ल्याएको कुरा सुनाइरहदा मैले बीचमै प्रश्न सोधिहाले– ‘किन भगाएर ? बिहे नै गरेर ल्याउन सकिदैन थियो र ?।’ 

‘सुरुसुरुमा तानी बिहे हुन्थ्यो। केटीले मन नपराउदा नि बलजफ्ती तानेर ल्याउँथे। मागी बिहे नि हुन्थ्यो। पछिल्लो समयमा भागी बिहे गर्ने चलन बढी छ। चलन नै त्यस्तै हो’ –उनले अलिक लजालु मुस्कानका साथ बताए। बाजा बजाएर गङ्गालाई भित्र्याउने कुरा मनमा खेलाउँदै घर पुगेका उनले पाएनन् बाजा बजाएर जीवनसाथी गंगालाई भित्र्याउन। घरपुग्नै लाग्दा सुनेछन् गाउँमा रुवाबासी  । एकजनाको मृत्यु भएको थियो त्यही दिन। जुठो नलाग्ने भए पनि गाउँमा मान्छे मरेको दिन बाजा बजाउन उचित हुने कुरै भएन। त्यतिकै भित्र्याएछन् गङ्गालाई घरमा। हप्तादिन पछि मन्दिरमा गएर सामान्य ढंगले गरेछन् बिहे। 

मुगुमै केही गर्ने सोच पलाउन थाल्यो उनीभित्र। मुगुमा नयाँ पत्रिकाको रिपोर्टर थिएन। उनले कृष्णज्वाला देवकोटालाई फोन गरेर मुगुबाट रिपोर्टिङ गर्ने इच्छा व्यक्त गरेछन्। काठमाडौं छदै नयँपत्रिकामा आर्टिकल छापिएको थियो उनको। देवकोटाले सुरुमै भनिहालेछन् –‘तपाई आर्टिकल लेख्ने मान्छे के पत्रकारिता गर्नु होला।’ सुमनले तीब्र इच्छा जाहेर गरेपछि बनाइदिएछन् देबकोटाले नयाँपत्रिकाको लागि मुगुको रिपार्टर। त्यसपछि जिल्लामा सक्रिय पत्रकारका रुपमा देखापर्न थालेछन् उनी। ६ वर्षसम्म बनेछन् नयाँपत्रिकाको रिपोर्टर।

त्यसपछि बजारमा देखापर्‍यो नागरिक पत्रिका। नागरिकले जिल्ला रिपोर्टरको भ्याकेन्सी खोल्यो। उनले पनि निवेदन दिएर छानिएछन् नागरिकका लागि। त्यस दिनदेखि अहिलेसम्म नागरिककै लागि रिपोर्टिङ गरिरहेका छन् उनी। सँगसँगै बीचमा ३ वर्ष रेडियो मुगुको स्टेसन म्यानेजर भएर पनि काम गरेछन्।

प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सव २०६० मा पहिलो पटक राजधानीको मञ्चमा रत्नाकर देबकोटाको पैकेलो कथामा अभिनय गरेका मल्लको नाम सुन्यो राजधानीले कर्णाली दख्खिन बग्दो छ नाटकमा अभिनय गर्दा ताका  । त्यसपछि सुन्यो  सुईना कर्णालीका नाटक प्रस्तुत गर्दा। उनी सुनिए केवल गुरुकुलमा नाटक देखाउन्जेलसम्म।

त्यसपछि उनी गुमनाम भए राजधानीबाट। उनी जिन्दगी जिउने कला भएका, आर्थिक अभावले सताइएका सोझा र इमान्दार स्रष्टा हुन्। बाहिरबाट हेर्दा ठकुरी भन्ने बित्तिकै सम्पन्न नै होलान् भन्ने अडकल .लगाइन्छ तर भित्रको व्यथा कसलाई के थाहा। उसो त सबै ठकुरीहरु सम्पन्न हुन्छन् भन्ने पनि कहाँ हुन्छ र। आर्थिकस्थिति अलिकति राम्रो हुनेहरु बसाईसराई गरेर पुगे तराईदेखि नेपाल अर्थात काठमाडौंतिर।

उनले पढाइका क्रममा केही समय काठमाडौंका गल्लीमा फिजाए संघर्षका पाइला। पढाइ सकिएपछि रोजे उनै बाल्यकालमा नापेका गोरेटा। खोज्न थाले जन्मभूमितिरका तिनै गोरेटामा जिन्दगीको लय। त्यही लय खोज्ने क्रममा अचेल उतैतिर सुसेलीरहेका छन् जिन्दगीका सुस्केराहरु। 

२०६४ मा संविधान सभा सम्बन्धी सडक नाटक देखाउँदै हिडे मुगु र जुम्लाका विभिन्न ठाउँमा। ०६५मा मुगुबाट १६ जनालाई बोलाएको थियोे गुरुकुलले तालिममा सहभागी हुन। वरिष्ठ अभिनेता तथा निर्देशक सुनिल पोख्रेलले निशुल्क तालिमको व्यवस्था मिलाएका थिए सबैको लागि।

जेठदेखि साउनसम्म बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म तीन महिना नियमित सिकिरहे अभिनय। तालिम सकिनै लाग्दा पोख्रेलले दिए समूहलाई गृहकार्य। त्यो गृहकार्य थियो उनीहरुले नाटक देखाउनु पर्ने। सामुहिक छलफलबाट तयार पारिए सिनहरु। जसमा पुरुष जति कामको सिलसिलामा भारततिर गएपछि गाउँमा कोही बित्दा महिलाले लास उठाउनु परेको दृश्य निकै मार्मिक थियो। उक्त परिकल्पना उनैको थियो।

त्यो दृश्यका बारेमा सुनाए उनले – ‘हिउँदका महिना सबैजना भारत छिर्छन्। सानोमा मामाघर जादा सिंजामा त्यस्तै दृश्य देखेको थिएँ। त्यो छाप मेरो मनमा छदै थियो। कहिलेकाही सोच्ने गथेँ –यतिहुँदा नि हेर्न सकेन सरकारले। वर्षेनी भारत पुग्छ कर्णालीको श्रम।’ तीन महिनासम्म चल्यो गुरुकुल र कर्णाली थिएटरको संयुक्त प्रस्तुतिमा तयार पारिएको नाटक कर्णाली दख्खिन बग्दो छ। सफलता हासिल गरे सबै कलाकारहरुले।   

गुरुकुलमा नाटक देखाएर घर फर्किन लाग्दा पाएछन् उनले पहिलो पटक ससुराली पक्षले दसैंमा टीका थाप्न पठाएको निम्तो। मुगुबाट उनकी जहान गङ्गा पनि आइसकेकी थिइन माइतिघर। सडक नाटक देखाउँदै जुम्ला सदरमुकाम पुगेका उनले समूहका साथीहरुसँग बिदामागी गुरुकुलका प्रशासन अधिकृत जिवेश रायमाझीलाई  सिंजा भ्याली देखाउन अर्को बाटो चुनेछन्।

ससुराली गाउँ पुग्दा थाहा पाएछन् छोरीलाई गरगहना लुगापाटो ल्याएर भारतबाट आएका शसुराको जुम्ला नपुग्दै बाटोमा लास मात्रै भेटिएको कुरा। घटना घटेको चार दिन भैसकेको रहेछ। सकेनछन् उनी त्यहाँ बस्न। भक्कानिन थालेछ मन। गङ्गालाई त्यतै छोडी पाइला चलेछन् मुगुतिर।  

मुगुदेखि गुरुकुल पुगेका कलाकारहरु एकसे एक थिए। दर्शकले निकै मन पराएका थिए सबैको अभिनय। दुर्भाग्य मुगु पुगेर विभाजित हुन गयो कर्णाली थिएटरको समूह। मुगुसँग सम्बन्ध चिस्सिन गयो गुरुकुलको। अन्तराष्ट्रिय नाटक सम्मेलनमा देखिएन मुगुको प्रस्तुति। पुनः २०६७ मा गुरुकुलसँग सम्बन्ध जोडिएछ मल्लको समूहको। सुनिल पोखे्रलले मुगुमा नाटकघर बनाउन जग्गा खोज्न दिएछन् सल्लाह। अनि गठन हुन गएछ कर्णाली नाट्य समूह।  

केही दिनपछि पोख्रेल पुगेछन् मुगु। उनको स्वागतमा बजार परिक्रमा गर्दै बाजागाजासहित निकालिएछ ¥याली। त्यतिबेलै गरिछन् सुमनकी आमा मुगाले नाटकघरका लागि सदरमुकाम नजिकैको जग्गा दान गर्ने घोषणा। नामाकरण गरेछन् बिर्ख बहादुर मल्ल नाटकघर। निर्णय भएछ प्राङ्गणमा बिर्ख बहादुरको शालिक समेत राख्ने। मुगुबाट फर्किने बेला पोख्रेलले भनेछन् –आउने फेस्टिवलमा तपाईहरुले नाटक देखाउन दसैं लगत्तै काठमाडौं आउनु पर्छ। अनि कर्णाली दख्खिन बग्छको ठिक विपरित गर्नु है। दसैं पछि पुगेछ मल्लको समूह गुरुकुल। पोख्रेलले मल्लतिर हेरेर सोधेछन् – ‘खै नाटक ?’ 

खल्तीबाट एउटा पाना निकालेर दिएछन् उनले। त्यो पानामा कोरेका रहेछन् कर्णालीको नक्सा। अँ भन्दा अलङ्कार बुझ्ने पोख्रेलले उक्त पानामा निकैबेर घोत्लिएर भनेछन् –‘अब सिन क्रियट गर्नोस्।’  अनि फटाफट गरेछन मल्लले सिन क्रियट। जुर्न गएछ नाटकको नाम सुईना कर्णालीका। सुरुकै शोले बढाइदिएछ हौसला। त्यो नाकट पनि निकै नै चर्चित हुन गएछ। विभिन्न क्षेत्रका उच्च ओहदाका मानिसले समेत हेरेछन् नाटक। पुनः एकपल्ट हल्लाएछ कर्णालीले नेपाललाई।

नाटकमा जति जीवन्तता र सत्यता अरु केहीमा नभएको ठान्ने मल्लले सुनिल पोख्रेललाई सम्झिदै भनेका थिए भेटमा– ‘आफ्नै धुनमा व्यस्त। अदभूत क्षमता भएको मान्छे। चाडै मनोविज्ञान बुझेर तपाईले यो भन्न खोज्नु भएको है भनिदिने। म सुनिल सरबाट निकै प्रभावित भएँ।’ कर्णाली नाटकघरका विषयमा कुराकानी हुँदा नाटकघरका अध्यक्ष लक्ष्मण रोकायासँग सल्लाह भइरहेको र चाडै नै नाटकघरको काम अघि बढ्ने कुरा पनि बताए उनले।  

त्यसपछिका दिनमा उनी चुपचाप छन्। मुगुमा नाटकघरको लागि दिइएको जमिनको बीचबाटै सडक गइदियो। सानो टुक्रा जमिन बचेको छ। त्यसैमा नाटकघर बनाउने सुईना देखिरहेकै छन् उनी। यसका अलावा पुस्तक प्रकाशन गर्ने तयारीमा छन्।

कोेमलो मनका धनी मल्लसँग आँसुको कुरा गर्दा टलपलाएका नयन झुकाउँदै भनेका थिए–‘बल गरेर आँसु लुकाउनु पर्दा निकै गाह्रो हुन्छ। पुन्न बहादुर विश्वकर्मा बन्दा बल गरेरै लुकाएको हुँ आँसु। अहिले पनि त्यो दृश्य सम्झिदा भक्कानिन्छु। यसलाई यो भुमिका सुहाउछ। यसले गर्न सक्छ भनेरै दिए होलान् सुनिल सरले त्यो जिम्मेवारी। मैले दलितको भुमिकामा अभिनय गर्दै गर्दा दलितले भोग्नु परेका पीडा सम्झिदै आँसु छचल्किन्थे। सुनिल सरले नै मलाई यत्तिको बनाउनु भयो। विद्यालयस्तरमै नाटक खेले तापनि आवश्यक कुराको ज्ञान र निखारता ल्याउन सकिएको हो सुनिल सरकै शिक्षाले।’ 

उनले कर्णालीका दुख मनन् गरेर लेखे कविता। गाए गीत। अभिनयका माध्यमले देखाए मनको दुखेको पाटो। उनले सोचे जस्तो खोजेजस्तो हुन सकेन कर्णाली। कुनै तन्त्र आउदा पनि पाएन कर्णालीले पाउनु पर्ने न्याय। ठुलाबडा र पहँुचवालाकै बाहुल्यता चलिरहेको छ अहिले पनि। सुमन मल्लहरु एक किनारबाट परिकल्पना गरिरहेकै छन् नयाँ नाटकको।

सपना देखिरहेकै छन् समृद्ध कर्णालीको। तर दुर्भाग्य केवल नाटकमै सिमत हुन पुगिरहेछन् सपना पनि। नाटककै रुपमा हेरिदिन्छन् कर्णालीलाई यो देशका शासकहरु। आखिर कर्णालीबासीले खेती गर्नु नै त छ आशा र सपनाको। भन्नेले त सजिलैसँग भनिदेलान हिजोको भन्दा त केही सुधार भइरहेकैछ। तर त्यो सुधार गहिरिएर हेर्नु पर्ने एक मसिनो सामान्य धर्सो मात्र न हो। कतै साच्चै विकासको डोरी बाटिएको सपना देख्दा सुमनहरुले नाती पनातीको समयको कल्पना गर्नु पर्ने त हैन। कर्णालीले कतै अझै पर्खिनु पर्ने त हैन सयौं वर्षसम्म। एक मनन्योग्य प्रश्न छदैछ कर्णालीसँग। अनि सुमन मल्लसँग।

जति घुष खाए पनि अघाएनन् विगतमा कर्णाली पुगेका कतिपय कर्मचारी। अघाएनन् कतिपय नेताहरु। त्यो दृश्य देखे सुनेका सर्जक हुन् उनी। भोक लागिरहन्छ हरदम उनलाई पनि। तर त्यो समाजका विकृति बिसङ्गति अभाव र नेपालले कर्णालीप्रति देखाएको हेपाहापन माथि सिर्जना गरेर उत्कृष्ट प्रस्तुति गर्ने सोचको भोक हो उनको। उनका भोक छटपटिमै सल्बलाइरहेका छन्। म शब्द बोल्छु तिमी अर्थ बुझ्नु भनेझैँ खोजिरहन्छन् उनी खसभाषाका कतिपय शब्दहरु।

अर्थ बुझेर मनन् गरिदिने कोही छन् कि छैनन् थाहा छैन् त्यो पनि। माकुराले जाल बुनेझैं बुनिरहेकै छन् कल्पनाको जालो। सकेका छैनन् मुगुमा एउटा नाटक घर समेत बनाउन। कहाँ बुझ्थ्यो र पूर्वजका पालादेखि नै टाढा भएको नेपालले। पक्षपाती बनिरहेका हरेक समयका सरकारले। त्यसैले त नेपालको गुरुकुलमा प्रदर्शन गरिएको नाटकको प्रस्तुतिका क्रममा सम्झिदै राज्यले गरेको सौतेनो व्यवहार भनेका थिए उनले – म मुगुबासी पुन्नबहादुर विश्वकर्मा। नढाटीकन भन त हजुर के तमीसँग कर्णालीको नक्सा छ ? 

यो पनि हेर्नुहोस्

 राजा हेर्न गएकी आमा मलाई देखेर रोइन्

डेउडा गाइकन सुख हुन्या नाई

आँट गरेरै गएँ तर कुरा गर्न सकिनँ

भैंंसीका पुच्छर बाँधेको त्यो दिन

तुङ्गनाथ अर्थात् लोकसाहित्यका माली 

हातकि मेहदी तेरी होली मेराइ रगतकि

प्रकाशित मिति: Feb 12, 2020 13:05:47

प्रतिक्रिया दिनुहोस

सबै