भारतीय र नेपालीलाई जाेडेकाे दार्चुलाकाे जगेनी जात्रा (फाेटाे फिचर)

जात्राबाट फर्किने जाे काेही यादगार स्मरण लिएर फर्किन्छन्। त्यसैले उनीहरु एक पल्ट जगेनी जात्रामा उपस्थिति भएपछि दाेहर्याएर आउन खाेज्छन्। ब्रम्ह देवाताले पनि आफू कहाँ आउनेकाे मनकामना पुरा गर्ने गरेकाे जनस्तुति छ। 

भारतीय र नेपालीलाई जाेडेकाे दार्चुलाकाे जगेनी जात्रा (फाेटाे फिचर)

कला, संस्कृति तथा सभ्यतामा धनि मानिने सुदूरपश्चिमकाे दार्चुला जिल्लास्थित हुति गाउँमा परापूर्वकालदेखि मानिदै आएको एक ठूलो पर्वको नाम हो, जगेनी जात्रा। यसको ठूलाे धार्मिक तथा संस्कृतिक महत्व छ। पश्चिम–उत्तर दार्चुलाकाे अन्तिम ब्यास गाउँपालिकामा पर्ने हुतिस्थित ब्रम्हमाण्डाैंमा मंसिर र पुष महिनाको शुक्लपक्षदेखि तीन दिन चल्ने याे जात्रा हेर्न लाखौ भक्तजनको घुइँचो लाग्ने गरेकाे छ। 

दार्चुला राजधानी काठमाडाै‌ंबाट करिब एक हजार किलाेमिटरकाे दुरीमा पर्छ। र जगेनी जात्रा हुने ब्रम्हमाण्डाैं मन्दिर दार्चुला सदरमुकामबाट १३ किलाेमिटरकाे दुरीमा रहेकाे छ। यसकाे शीरमा मलिकार्जुंन मन्दिर छ भने मन्दिरसँगै जोडिएको दक्षिणी भागमा सुन्दर डाँडो दाम्दाकोट बसेको छ।

पहाडको यही सुन्दर शृंखलामुनि हरियो गैरी रानीवनकाे समथल भागमा विराजमान छन्, ब्रम्ह महाराजको पावन वासस्थान ब्रम्हमाण्डौं। यही मन्दिरको मुनि हुति गाउँ बसेकाे छ। गाउँको तल बग्ने महाकाली नदीले नेपाल–भारतको सिमाना मात्र छुट्याएको छ, भाषा, संस्कृति र जीवनशैलीलाई हाेइन। नेपाल र भारतीय गाउँको रहनसहन संस्कृति र बोलीचालीको भाषाले दुबै देशकाे गाउलेबीचकाे सम्बन्ध अझ प्रगाढ बनाएको छ। यहाँका गाउँमा बिहेबारीदेखि मर्दापर्दा सबै काममा वारिपारिका मानिस लामो समयदेखि सहकार्य गर्दै आइरहेका छन्। 

ब्रम्हमाण्डौंमा हुने जात्रामा भारतीय गाउँ जुमा, स्याकुरी, राथी, रप्ली र खेलाका वासिन्दा सहभागी हुनैपर्छ। यस जात्रामा भारतीय गाउले सहभागी नभए देवता रिसाउँछन भन्ने मान्यता छ। त्यति मात्रै नभएर मन्दिरमा पुजाआजाको लागि छिमेकी गाउँ धौलाकोट र हिकिलाका मानिस सहभागी हुनैपर्ने चलन पुरानो हो। पुजाको बेला हुति बाहेक तीन गाउँ धौलाकोट, हिकिला साथै भारतीय गाउँ जुमाका वासिन्दाकाे उपस्थिति भएन भने जगेनी जात्रा नै अपुराे र अधुरो मानिन्छ। 

कहिले देखि सुरु भयाे जगेनी जात्रा

जानकारहरु पौराणिक कालमा ब्रम्ह देवता कैलाश मानसरोवर तिर्थयात्राबाट फर्किदै गर्दा ठूलै संकटमा परेकाे र  धौलाकोटस्थित स्याकुमा पर्ने दुर्गा भगवतिले उनलाई संकटबाट बचाएको बताउँछन्। त्यसैले उसै दिन ब्रम्ह देवताले दुर्गा भगवतीलाई बचन दिँदै यति ठूलो संकटबाट बचाएकाेमा ४ देखि ६ वर्षको बीचमा उनकाे नाममा भोजभतेर गरेर पुजा लगाउने आश्वासन दिएका थिए। दुर्गा  भगवतिलाई खुशी पार्न ब्रम्हमाण्डौंमा त्यहि बेलादेखि जगेनी जात्राको थालनी भएको बताइन्छ। 

हुतिस्थित लायर भन्ने ठाउँमा रहेको ब्रम्ह देवताको मन्दिरलाई रानी स्थान र छिमेकी गाउँ हिकिलामा रहेको ब्रम्हमाण्डौंलाई राजा स्थान समेत भन्ने गरिन्छ। हुतिमा रहेको रानीथान शक्तिशाली ब्रम्हमाण्डाैंलाई महिला भएकै कारण शक्तिपीठ मध्येकाे एक मानिन्छ। 

यसरी मनाइन्छ जगेनी जात्रा 

ब्रम्हमाण्डौं मन्दिरमा भट्ट र बिष्ट थरका पण्डित छन्। कुँवर थरका एकजना धामीझाँक्री र भराण राख्ने दुई जनाका साथै पाँच काछाका पाँच जना र बम थरका हुन्छन्। जसको उपस्थितिमा पुजाआजाका साथै जगेनी जात्रा सञ्चालन हुने गरेको पाइन्छ। ब्रम्ह देवताको पुजामा मुख्यभूमिका बम थरका एकजना जिम्मावाल र रजवाराकाे समेत हुन्छ। कूल देवता मान्ने कुँवर, भट्ट, बम , बिस्ट, भाट, खत्री, भण्डारीका साथै टमटा, भुल, लुहार र दमाई हुन्छन्। 

त्यसो त पुजाआजामा सहभागी र  सहकार्यका लागि स्थानीय खाती, धामी, बडु, कार्की, लोथ्याल थरको पनि उतिकै भूमिका हुन्छ। जगेनी जात्रा हुनु भन्दा एक वर्ष अगाडिनै सबै गाउलेको पंचभलादिमी बसेर छलफलमा सबै कुराकाे टुंगो लाग्छ। 

जगेनी जात्रा हुनुभन्दा एक महिना अगाडी गाउँमा रहेको दम्फा (सार्वजनिक पुजा गर्ने स्थल) मा कुँवर थरको भरडेको घरबाट सबै गाउलेको सहभागितामा चाँदीको ठूलो बाकस, जुन २५–३० किलोकाे हुन्छ। घण्टि, नेजा त्रिसुल, शंख, इत्यादि पुजा सामाग्री राखेर स्थानीयद्वारा दमाह बजाएर निकाल्ने परम्परा छ।

दम्फामा ल्याइसकेपछि एक महिनासम्म स्थानीय महिला भाराणलाई बीचमा राखेर रातभरी जाग्राम बस्छन्। राति बस्दा देवताका भजन, जसलाई स्थानीय भाषामा झोडाजागर भनिन्छ, गाएर बस्ने गर्छन् । एक महिनाको समय सकिएपछि सुक्लपक्षका दिन धौलाकोटबाट दुर्गा भगवतिका भक्तजन रोड्यामर्या (जिउदै बाच्छीको छाला निकालेर बनाएको साधन) जसलाई पुजाआजाको सामानले छोपेर हजारौको संख्यामा दम्फा आइपुग्छ। हजारौ वर्ष अगाडी बनाएर राखेको त्यो चिजलाई रोड्यामड्या भनिन्छ। देवतालाई चढाएकाे याे सामान आजसम्म सुरक्षित रहेको स्थानीय बताउँछन्। 

एउटा गाउँबाट अर्को गाउँ बाजागाजाका साथ आउने ठूलो संख्यालाई गर्खाल भन्ने चलन छ। यसलाई दैविय शक्ति नै मान्नु पर्ला, अहिले पनि त्यो गाउँबाट आउने हरेक बालकदेखि बृद्धा झाँक्री झैँ काम्दै हुति गाउँ आइपुग्छन्। जबसम्म हुति गाउँका धामीझाँक्रीले चामलको अक्षता ती सबैलाई छर्किदैनन्, त्यो बेलासम्म कामिनै रहेका हुन्छन्। 

धौलाकोटबाट आएको त्यो गर्खाल अक्षताको काम सकेपछि बल्ल काम्न बन्द हुन्छन्। त्यस पछि भने दम्फाबाट त्यो चाँदीको बाकससहित माथि ब्रम्ह देवताको मन्दिरमा हुति र धौलाकोटका मानिस मिलेर सँगै मन्दिर गएर पुजाआज्ञा आरम्भ हुन्छ।

उसो त् मन्दिरमा हजारौको संख्यामा ४५ –५० गर्खाललाई निम्तो गरिएको हुन्छ तर पहिलो गर्खाल भने धौलाकोट कै हुनुपर्ने भनाइ छ। गएको जगेनी जात्रामा करिब एक लाख श्रद्धालु भक्तजन मेला भर्न आएको स्थानीय जगेनी जात्राका संयोजक तथा धामी गजेन्द्रसिंह कुँवर बताउँछन्। जिल्लाभरिका मानिस ३ दिनसम्म पबित्र मनले भगवानको शरणमा पुगी पुजाआज्ञा गर्नाले मनले चिताएको पूर्ण हुने विश्वास छ। रातिदेखि बिहानसम्म देखिने गर्खालको भीड र श्रद्धाभक्ति देख्दा लाग्छ–ब्रम्ह देवता हुतिस्थित लायर मन्दिरमा विराजमान छन् र आफ्ना भक्तलाई आशिर्वाद दिइरहेका छन्। 

आउने हरेक गर्खाल ४–५ घण्टाको बाटो ४०–५० धार्नीको ठूलो ताम्रको दमाह बजाउदै, नाच्दै र आरती गाउदै ब्रम्ह देवताको प्राङ्गणमा आइपुग्छन्। भोलिपल्ट सम्पूर्ण गर्खाललाई आयोजकले दाल, चामल, नुन, खुर्शानी, दाउरा र भाडाकुडाको व्यवस्था गरि खाना खाइसकेपछि आ–आफ्नो गाउँ फर्काइन्छ। यसका लागि आयोजक गाउँ हुतिले हरेक परिवारबाट एक कुइण्टल चामल,दाल र त्यो सँगै चाहिने दाउराको बन्दोबस्ती एक महिनाअघि नै गरिसकेको हुन्छ। गाउलेहरुले सम्पूर्ण आगन्तुकलाई खाने व्यवस्था गर्दा चार टन चामल उठेको कुरा मन्दिरका पुजारी, भट्ट र भारदे कुँवरलाई जानकारी गराइसकेका हुन्छन्। 

रातभरि पुजाआजा सकिएपछि बिहान मन्दिरको प्राङ्गणमा देखिने देउडा नाच र दमाहाको बाजासँगै नाच्नेको लहरले धर्म संस्कृति जगेर्ना गर्नुका साथै संरक्षणमा जुटेको प्रस्ट हुन्छ। धेरै टाढाबाट जात्रामा आउने श्रद्धालु भगवानकाे दर्शनले आफ्ना सबै दु:खकष्ट र समस्या निराकरण भएको बताउँछन्।

जात्राबाट फर्किने जाे काेही यादगार स्मरण लिएर फर्किन्छन्। त्यसैले उनीहरु एक पल्ट जगेनी जात्रामा उपस्थिति भएपछि दाेहर्याएर आउन खाेज्छन्। ब्रम्ह देवाताले पनि आफू कहाँ आउनेकाे मनकामना पुरा गर्ने गरेकाे जनस्तुति छ। 

प्रकाशित मिति: Feb 23, 2020 13:36:20

प्रतिक्रिया दिनुहोस

सबै