प्रेमको आँसु गहिरो हुँदोरहेछ

भुइँमान्छेका कथा

प्रेमको आँसु गहिरो हुँदोरहेछ

 भुइँमान्छेका कथा -३ 

मुहारमा उदाशिनता देखिदैन कुनै पल। जतिखेर पनि हिमाल मस्कुराएझैं फ्याकिरहन्छ चेहराले मुस्कान। आत्मीयता उत्तिकै प्रकट गरिदिन्छन् उनी। असीऔं वसन्तमा प्रवेश गर्दै गरेका तुङ्गनाथ उपाध्यायको प्रेमिल व्यवहार र ठट्यौलोपनले तानिदिन्छ चुम्बकले फलाम तानेझैं कतिपय मनलाई नजिकमा। उनको कुरा गर्ने शैली नै मोहनी लगाउने खालको छ। सामान्य जीवन व्यतित गर्दै आएका उनीसँग कुराकानी गर्दै जादा लाग्थ्यो कुनै फकिरसँग कुराकानी गरिरहेछु जस्तो। अधिकांश समय नोस्ट्यालजिक बनिदिने मनका फकिर तिनै तुङ्गनाथसँग मिलेको थियो जुम्लाको गुठीजिउलामा करिव दुईघण्टा बात मार्ने अवसर। भेटघाटका क्रममा सुरुमै सोधेको थिएँ– ‘कस्तो लाग्छ विगत र वर्तमानका दिनहरू सम्झिदा ?’

‘जबतक बच्चे तबतक सच्चे। जबजब उसकी उम्र चढी झुठ और साँच कि खोजपडी भनेझैं के खाउँ के लाउँको मतलब थिएन। जवानी थियो जे खादा नि पच्थ्यो। घरमा चिन्ताको विषय अभिभावकको हो आफु त मस्त मौलाना। निकै नै आनन्ददायी थिए ती दिनहरू। बुढेशकाल लाग्यो। बूढो भएपछि त्यो मिठास पनि गैजादो रहेछ। अहिले बोली बिक्न छोड्यो। बिछ्यौनामा पल्टिएको बेला सम्झिन्छु ती दिन। झझल्को त आइनै रहन्छ’ –बिस्तारै बोले उनी। 

उसो त जिन्दगी आफैमा पनि एउटा झझल्को मात्रै न हो।  आखिर के नै लानु छ र जाने बेला मात्र अरुलाई झझल्को सुम्पेर जानु शिवाय। उनीलाई पनि सुम्पेर गए कैयौं मनले, कतिपय दृश्यले अनि समयका पल्लाहरूले जिन्दगीका मोडहरूले उही झभल्को। झझल्कोभित्रै बेरिए हर्ष, आँसु, विछोड पीडा लगायतका कुराहरू। सबैभन्दा बढी आँसु र एकान्तमा टोलाइरहने पनले शासन गरिदिन्छ झझल्को भित्र पनि। चाहे त्यो लौकिक होस् या अलौकिक नै किन नहोस् टोलाइरहने बनाउने त्यही प्रेम हो । बढीभन्दा बढी आँसु झार्न लगाउने पनि त्यही प्रेम हो। त्यसैले त उनी बताउछन् – ‘प्रेमकै आँसु प्यारो र गहिरो पनि  हुँदो रहेछ।’ विगतमा काम गर्दा नि गुनगुनाउँथे उनी गीतका पंक्तीहरू। हिजो आज कतै घुमघाम गर्न निस्किदा होस् या ओछ्यानमा पल्टिदा गुनगुनाउछन् गीतकै पंक्ती।

मनका पियार दैले लात्ती हाने शैय्या

अमनका रणकाले कोली हाले ऐया

(मनले रुचाएको आफ्नो प्रेमीले लातै हान्दा नि सहन गाह्रो हुन्न। तर मन नपरेकाले काखमै बिसाएर माया गर्न खोजे पनि भैदिन्छ पीडा। मुखबाट निस्किन्छ ऐया भन्ने शब्द )

‘मनको कुरा भन्न नसकेको कुनै अनुहार पनि त आउँदो हो नि सम्झनामा’ – फेरि उही प्रसङ्ग कोट्याउन खोज्छु म। उनी मेरो प्रश्नलाई थोरै लज्जामिश्रित मुस्कानका साथ तीन शब्दमै टारिदिन्छन् – ‘त्यो शब्दै पाउदिनँ।’

क्षणभरको मौनतालाई आफैले चिरेर प्रसङ्ग निकाल्छन् हुम्लाका सांसद छबिलाल लामाको।  एकपल्ट उनी लगायत केही साथीहरूले छबिलाललाई भाषण गर्न कर गरेछन्। तब छविलालले भाषण गर्दा भनेछन् – ‘मन तीन किसिमको हुन्छ। एउटा सिमित मान्छेसँग बोल्ने मन। अर्को बहिर सबैसँग बोल्ने हाइ हलो भन्ने मन। अनि तेस्रो कसैसित नभनेर आफुसितै मात्र भन्ने मन।’ उनको यो उदाहरण सुनिसकेपछि यो प्रसङ्गलाई किनारा लगाउनु शिवाय रहेन मसँग अरु उपाय।

उदार मन अनि संवेदनशिल हृदय भएका उनका कतिपय भोगाइहरू गहकिला काव्य जस्तै छन्। उसो त उनको आफ्नै जिन्दगी पनि एउटा ओजपूर्ण काव्य नै हो।  २०१५ सालमा बिहे भयो उनको। तीन छोरा जन्सिसकेका थिए। २०३४ सालमा श्रीमतीले छोडेर गइन। छोरा टुहुरा भए। उनी विधुर भए। आफैले काजकिरिया गरे। ‘पितृसत्तात्मक परिपाटिले जरो गाडेको समाजमा श्रीमती बितेको दोस्रो दिन अर्की ल्याउन मिल्छ भन्ने भनाइ नै छ। कति दिनसम्म पर्खिनु भयो दोस्रो बिहे गर्न’ –मैले सोधिहालेँ। ‘हाम्रो संस्कार अनुसार छोरो भए उसैले किरिया गर्नु पर्छ छोरो छैन अथवा छोराको ब्रतवन्ध भएको छैन भने आफैले किरिया गर्नु पर्ने हुन्छ। आफुले किरिया नगर्दा नि १० दिनसम्म नुन नखाने, सुरुवाल नलगाउने र वर्षदिनसम्म बिहे नगर्ने चलन हो।  मैले त अब बिहे गर्दैन यत्तिकै बस्छु भन्ने सोचेको थिएँ। फेरि हाँसो ठट्टा गर्नु पर्ने बाटोमा मेलापर्वमा कतै चिनेजानेका महिलाहरूसँग कुरा गरेको देख्दा ऊ हेर राणो महिलासँग लस्सिदै छ भनेर दाग लगाइ देलान् भन्ने कुरा मनमा खेल्न थालेपछि दोधारमा परिरहेँ। वर्षदिन पछि दाइले दाङमा केटी खोजेर बिहे गराइदिनु भयो’–उनले सबिस्तार सुनाए।

दाइ चीनप्रसादका छोराछोरी केही नभएपछि दाङ निवासी दाइका मितले खोजेछन् दोस्रो बिहे गर्नलाई केटी। केटी हेर्न जुम्लादेखि दाङ पुगेका उनीहरूलाई केटीका बुवाले भनिदिएछन् २० हजार रुपैया केटाकेटी दुबैको नाममा तीन दिन भित्र जम्मा गर्नाेस् अनि मात्रै सुम्पिन्छु छोरी। त्यतिबेला उनीहरूसँग २४० रुपैया मात्र रहेछ। सौकैडौ जुम्ली थिए दाङतिर व्यापार गर्न गएका। तिनैसँग मागेर जम्मा गरेछन् भनेबमोजिम पैसा। अनि भारतको अयोध्या गएर बिहे गरेछन्। पछि शसूरा बनेका तिनैले त्यो पैसाको ४ बिगाह जमिन किन्न लगाएछन् दाङमा। तिनकै कारण तुङ्गनाथका दाजुभाइहरूको पनि तराइमा जमिन हुन गयो। दाङमै बस्न थालेपछि उनका दाइले सुरु गरे घोडा पालन। ६० वटा सम्म घोडा पाले। घोडीका बच्चा किन्न भारतदेखि व्यापारीहरू आउने गरेको कुरा सुनाए उनले। कुराकानीकै सिलसिलामा ठट्टालु पारामा मैले भनिहालेँ–‘त्यतिका घोडा पाल्ने तराईको जमिनदार तपाई पनि ठालु परिवारकै त हुनुहँुदो रहेछ।’ उनले अलमल नगरी तुरुन्तै उत्तर फर्काए –‘घोडा चढ्ने ठालु हुन्। बेच्ने त व्यापारी पो त। हामी व्यापारी थियौं। जिन्दगी जिउन केही न केही पेशा त अपनाउनु नै प¥यो। अनि सुन्नु भएको छैन र गोठ हुत्तियाको दुनिया कोट हुत्तियाको राजा भन्ने उखान।’

उनले सुनाएको उखानको अर्थ थियो– गोठमा पशु नपाल्ने गोठ रित्तो पारि बस्ने दुनिया र कोट रित्तो भएको राजा बेकामी हुन्छन्। पछिल्ला दिनमा नयाँ नेपालका छोटेराजन बनिरहेकाहरूको पनि चाला उचित लागिरहेको छैन उनलाई। उसो त यिनको विकल्प पनि न देखिदा उदेक लाग्छ उनलाई। सम्झिन्छन् प्रजातन्त्रका लागि २०३६ सालमा बहुदलबादी बनेको, २०४६ सालमा काठमाडौं गई गणेशमानको घरमा भएको बैठकमा जुम्लामा आन्दोलन गर्न र जुम्लीका दुखका बारेमा केही कुराहरू राखेको।

२०४८ सालमा काँग्रेसी साथीभाइहरू सबैले हात जोडेर चुनाबमा उठाए। चुनाब जितेर पाँच वर्ष गाबिस अध्यक्ष बने। पछि ५ वर्ष जिबिस सदस्य पनि बने उनी। द्वन्द्वकालमा केही माओवादी केटाहरू आएर उनको घर लुटे। पुराना केही महत्वपूर्ण कागजातहरू बाहेक पुरै घर जलाइदिएको भए पनि उनी त्यति दुखित बन्दैन थिए जति स्वदेशी विदेशी अनुसन्धानकर्ताहरूका सहयोगी बन्दा जम्मा पारेका पुराना केही महत्वपूर्ण कागजातहरू नष्ट पारिदा भक्कानो फुट्ने गरेर भरिएर आयो गह। तुङ्गनाथ नराम्रो मान्छे हैन भन्ने कुरा थाहा पाएपछि माओवादीले आफुबाट गल्ती भएको महशुस गरेछन्। तर के गर्नु नष्ट पारिएका प्रमाणहरू फिर्ता आउने वाला थिएनन्। कैयौं रात तिनै कागजात सम्झेर कोल्टे फेर्दै अनिदोमै बितेछन्। अहिले पनि ती प्रमाणहरू झल्झली आइदिन्छन् आँखा अगाडी र भन्छन् –‘मलाई दशा लाग्यो। अहिलेसम्म दुई तीनवटा पुस्तक प्रकाशित भैसकेका हुन्थे। के गर्नु। कसैको एक मिटर जमिन र एक रुपैया खाएको छैन बरु उल्टै दान दिएको छु।’

४ ठाउँमा परिवारबाटै र २ ठाउँमा व्यक्तिगत जग्गा दान गरिसकेका छन्। दाङमा उनले दान गरेको १ कट्टा जमिनमा पोखरी बनेको छ। उनका अनुसार उक्त पोखरीको पानीले पाँचसय परिवारको जमिनमा सिंचाइ भइरहेको छ। आफ्नो हिस्साको केही जमिन बेचेर १० लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने उनको सोच रहेकोछ। दुई जना श्रीमती र आफ्नो गरी तीनै जनाको संयुक्त नामबाट स्थापना गरिन लागेको उक्त अक्षयकोषको वर्षेनी व्याज बाफत आउने रकमबाट पिछडिएका,दलित समुदायका केही जेहेन्दार छात्रछात्रालाई कपी किताव र नगद छात्रवृत्ति दिने योजना छदैछ। यसका अलावा पछिलो समयमा उनी लागिपरेका छन् कर्णाली चिनाउने पुस्तक लेखनमा।

कर्णालीबासीले भन्ने गरेको त्यही नेपाललाई दिन बाँकी नै छ उनले एउटा ओजपूर्ण पुस्तक– उनको जिम्मामा परेकैछ लेख्न बाँकी कर्णाली। त्यही नेपालबाट सत्यमोहन जोशीको नेतृत्वमा ५ जनाको समूह पुगेको हो जुम्ला। जसमा थिए विहारीकृष्ण श्रेष्ठ (गृहमन्त्रालय), स्थिरजंगबहादुरसिंह (बझाङ),चुडामणी बन्धु (त्रि.बि), प्रदीप रिमाल (चलचित्र संस्थान)। तिनै तुङ्गनाथको सहयोग र सत्यमोहन जोशीको संस्कृतिप्रतिको रुचिले बनाएको हो सत्यमोहनलाई सत्यमोहन।

एकजना जापनिज आए जसले जनजीवन सम्बन्धी अध्ययन गरे। २ वर्षसम्म उनकै घरमा बसे। अर्का फ्रन्सदेखि आए जसले दासदासीका बारेमा अध्ययन गरे। ती सबैका सहयोगी बने तिनै तुङ्नाथ। तिनै अनुसन्धाताहरूलाई सघाउँदै जाने क्रममा खोतल्ने अवसर पाए समाजका संस्कृतिका लुकेका पाटाहरू। अनुसन्धानकर्ताका सहयोगी बन्दा दासदासीका किसिम थाहा पाए उनले। तुङ्नाथका अनुसार दासदासी तीन किसिमका हुन्थे। लडाईबाट जितेर ल्याएका, नातागोतामा अवैध सम्बन्ध राखेकाहरू र ऋण तिर्न नसकेकाहरू। दासदासीका बारेमा बुझ्न खोज्दा उनले त्यतिखेरको चलन सविस्तार सुनाए–‘दासको हाट लाग्थ्यो त्यतिखेर। कसैबाट ५ रुपैया किनेर ल्याएको दासलाई हाटमा अरु कसैले दस रुपैया दियो भने बेचिदिने प्रथा पनि थियो। यसरी बेच्दा श्रीमान यौटाको दास र श्रीमती अर्कैको दास पनि हुन्थे। तीनका छोराछोरीलाई समेत साहुले बेच्न पाउँथे। १९७५ साल भाद्र २५ गते चन्द्रशमसेरले दास प्रथा हटाए तर पनि त्यसका अवशेषहरू अरु दश पन्ध्र वर्षसम्म रहे। अमलेखगञ्जमा सरकारले दासदासीलाई बस्ने व्यवस्था मिलायो। शाहुलाई पैसा बुझाई दियो। सरकारले यसरी पैशा बुझाउदा पशुपतिको ढुकुटी चलाएको थियो। पशुपतिको ढुकुटीबाट पैसा निकासा गरी शाहुलाई बुझाएर मुक्त गरिएको हुँदा दासदासीले आफ्नो थर शिवभक्ति लेख्न थाले। कसै कसैले जसका कमारा थिए उसैको थर पनि राख्न थाले।’

त्यतिखेर जारीप्रथा पनि निकै नै थियो गाउँघरतिर। गाउँघरतिर भात बाख्रो खाएर जारी मिलाउँथे। यसरी जारी मिलाउनेलाई मिजारी भनिन्थ्यो। यी सबैका साक्षीका रुपमा लिन सकिन्छ तुङ्गनाथलाई। उनी भन्छन् –‘म त बाहिरबाट सबैले देख्ने सुन्दर पूmल देखिएँ तर बिना बासनाको।’ उनले इङ्गित गर्न खोजेको त्यो पूmल थियो पलासको।  

लाटोसँग, ससाना केटाकेटीसँग प्रेम गर्न मन लाग्छ। केटाकेटीहरू जिस्केको कुरा गरेको खुब मन पर्छ। त्यस्ता दृश्य देख्दा अहिले पनि साइडमा बसेर अन्यत्र हेरे जस्तो गरी कुरा सुन्छन् उनी। रसिक मन। तँ यस्तो तँ उस्ती भनेर युवा युवतीहरूले बादविवाद गरेको सुन्न खुब रुचाउने तुङ्गनाथ दुखलाई नै जिन्दगीको साथी ठानेर भनिदिन्छन् –‘दुःख ही आपना साथी है। सुख आती है जाती है।’ अवोध बालबालिका, युवायुवतीहरूको फक्रेको जवानी, बगंैचामा फुलेका सुन्दर पूmलहरूको दृश्यले निकै नै रसिक बनाइदिन्छन् उनलाई। मनमा अनेक प्रकारका भावनाहरू खेलाउछन् उनी। त्यसैले त छुट्टिने बेलामा फोटो लिन खोज्दा देखाएका थिए उनले खोला किनारमा फुलेका पूmललाई। ती पूmलहरूकै आडमा उभिन लगाएर कैद गरेको हुँ उनको तस्बिर क्यामेरामा। उनीसँग छुट्टिए पछि नजरले भ्याएसम्म हेरिरहँे बसको झ्यालबाट घरि खोला किनारमा फक्रेका फूललाई घरि पूmलजस्तै हसिलो उनको चेहरालाई।

प्रकाशित मिति: Feb 26, 2020 17:22:30

प्रतिक्रिया दिनुहोस

सबै