पृथ्वीनारायण शाह राज्य एकीकरण गर्न हिँडेको बाटो, अहिले छ बेहाल (भिडियाे)

राष्ट्र निर्माता पृथ्वीनारायण शाह र धादिङ जिल्लाको सल्यानटारस्थित कोशढुंगाबीच ऐतिहासिक सम्बन्ध छ। पृथ्वीनारायण शाहले गोरखाबाट सुरु गरेको नेपाल एकीकरणको अभियानका लागि कुनै बेला कोशढुंगामा समय बिताएका थिए। 

नुवाकोटलाई गोरखा राज्यमा मिलाउन उनी बुढीगण्डकी तरेर कोशढुंगा पुगेका थिए। 

यो स्थानमा ठूलो ढुंगा थियो। त्यति बेला युद्ध लड्न हिडेको पृथ्वीनारायणको फौज कोषको हिसाबले हिड्ने गर्थे र फौजको बस्ने ठाउँ नै यही ढुंगा भएको स्थान हुन्थ्यो। 

‘पृथ्वीनारायण शाहको फौज गोरखाबाट युद्धका लागि यहाँ आउँदा बस्ने ठाउँ नै यही ढुंगा भएको स्थान हुन्थ्यो। सेनाहरु कोषको हिसाबले हिड्ने भएको हुनाले दुबै शब्दलाई मिलाएर यो ठाउँको नाम कोशढुंगा रहन गयो,’ स्थानीय ५८ वर्षीय बाबुराम श्रेष्ठ भन्छन्। 

बाबुरामको घर पृथ्वीनारायण शाह र उनको सेना हिड्ने बाटोमै पर्छ। उनी भन्छन्, ‘काठमाडौंबाट कोशढुंगा हुँदै गोरखा जिल्लाको दरबारसम्म पुग्न ३० कोषको दुरी पर्छ।’

राजधानी काठमाडौं र गोरखाको ठिक्क बीचमा पर्ने कटुन्जेभन्दा केही वर पृथ्वीनारायण शाहको सेना दिनमा १५ कोष हिड्ने गर्थे। त्यसैले यो स्थानको नाम नै पन्द्रकोश रहन गयो। 

कटुन्जे वरको यो स्थान काठमाडौंबाट १५ र गोरखाबाट १५ कोषको दुरीमा रहेको छ। तर, यति बेला राष्ट्र निर्माता पृथ्वीनारायण शाह हिडेको यो ऐतिहासिक बाटोको अवस्था राम्रो छैन। बल्ल तल्ल ग्राबेल गरेको भेटिन्छ। ‘धुलो र धुँवा उडेर बस्न सकिदैन। सँगै रहेको रानी पोखरीको हाल पनि उस्तै छ,’ उनी भन्छन्। कुनै बेला खाली खुट्टा पृथ्वीनारायण शाहले प्रयोग गरेको यो बाटोमा अचेल ट्याक्टरदेखि साना गाडीहरू धुलो उडाउँदै हिड्ने गर्छन। 

ऐतिहासिक मानिएको यो सडक निर्माणका लागि स्थानीय सरकार केही हदसम्म सक्रिय देखिएपनि त्यो पर्याप्त लाग्दैन। 
वर्षोदेखि कच्ची बाटो प्रयो गर्दै आएका स्थानीय भन्छन्, ‘समयमा सडकको स्तरोन्नती भए मात्र यो क्षेत्रको भविष्य सुनिश्चित गर्न सकिन्छ। राष्ट्र निर्माता हिडेको बाटो भएको हुनाले यहाँ आन्तरिक र बाह्य पर्यटकको समेत ठूलो सम्भावना छ,’ यहाँका स्थानीय बताउँछन्। 


 

प्रकाशित मिति: : 2020-03-14 10:37:13

प्रतिकृया दिनुहोस्