भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या चार पुग्याे, १७७ जना संक्रमित

कोराना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बिहीबार पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो।

मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन्। ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको पाइएको छ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा कोरोना भाइरसका कारण बिहीबार बेलुकासम्म १७७ जना संक्रमित भएका छन्। तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी रहेका छन्।

स्वास्थ्य अधिकारीका अनुसार संक्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन्। 

विश्वभरीमा ८ हजार ९७० को मृत्यु

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार संसारभरी २ लाख १९ हजार ३५७ जना कोरोना भाइरस संक्रमित भएका छन्। 

संक्रमित व्यक्तिहरुमा ८५ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन्। एक लाख २४ हजार ६११ व्यक्ति हाल संक्रमित रहेका जनाइएको छ। कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १७६ वटा देशमा देखा परिसकेको छ। 

प्रकाशित मिति: : 2020-03-20 11:09:00

प्रतिकृया दिनुहोस्