घलेगाउँमा पर्यटकलाई निषेध

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सार्क नमूना गाउँको रुपमा विश्वभर चर्चा पाएको लमजुङको पर्यटकीय घलेगाउँमा पर्यटक आगमनमा रोक लगाइएको छ।

घलेगाउँ पर्यटन विकास समितिले आइतबारदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।

स्मार्ट भिलेजको अवधारणा सहित अघि बढेको घलेगाउँमा हालसम्म केहि मात्रामा पर्यटकहरु आउने गरेको तर विश्वव्यापी समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि अर्को सूचना जारी नभएसम्म आन्तरिक तथा बाह्य पर्यटकहरुलाई रोक लगाइएको स्थानीय पर्यटन व्यवस्थापन समितिका संयोजक दिर्घ घलेले बताए ।

पर्यटक आगमन नरोकिए पनि आइतबारदेखि आन्तरिक र बाह्य पर्यटकहरु आगमन पूर्णरुपमा रोक लगाउने निर्णय भएको घलेले जनाए।

कोरोना भाइरसको विश्वव्यापी त्रास बढेसँगै जोखिम न्यूनीकरणका लागि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा रोक लगाइएको समितिले जनाएको छ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको आग्रह अनुसार घलेगाउँले पनि सतर्कता अपनाएको घलेगाउँ पर्यटन विकास समिति अध्यक्ष प्रेम घलेले बताए।

अहिले विश्वव्यापी समस्याले गर्दा हामी पनि सतर्क हुन जरुरी रहेको भन्दै अध्यक्ष घलेले अर्को सूचना जारी नहुँदा सम्म पर्यटक आगमनमा रोक लगाएका बताए।

कोरोना संक्रमणको त्रास बढेसँगै जिल्लाका अन्य पर्यटकिय गाउँहरुमा पनि पर्यटक आगमन घट्दै गएको छ। दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने जिल्लाका पर्यटकिय गाउँहरुमा पछिल्ला दिनहरुमा पर्यटकहरुको आगमनमा कमी आएको हो ।

 

प्रकाशित मिति: : 2020-03-23 23:42:13

प्रतिकृया दिनुहोस्