कोरोनाकाे त्राशमा वीरगञ्ज सुनसान, लकडाउन उल्लंघन गर्ने प्रहरीद्वारा पक्राउ (भिडियाे)

विश्वब्यापी महमारीको रूपमा फैलिएको  कोरोना भाइरसको सङक्रमण कम गर्ने उदेश्यले सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन वीरगञ्ज पूर्णतया ठप्प भएको  छ।  

पहिलो दिन हिजो लकडाउनको प्रभाव आंशिक रुपमा देखिएपछि आज बिहानैदेखि सुरक्षाकर्मीले विशेष सक्रियता वीरगञ्ज पूर्ण रुपले बन्द भएको हो। बजारमा रहेका सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छन भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन्। 

बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ। जिल्लामा कुनै पनि  सवारी साधन चलेको छैन। मुख्य बाटोदेखि सहायक मार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्तीको गाडी मात्र देखिएको छ। लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भइरहेका छन्। 

वीरगञ्जको प्रतिमा चौक, घण्टाघर बसपार्कदेखी भन्सार नाका सम्मको सडकखण्ड सुनसान बनेको छ। एम्बुलेन्स, औषधीको गाडी र संचारकर्मीहरुलाई भने रोक लगाइएको छैन। आसपासको पोखरीया बजार, परवानीपुर बजार सम्पुर्ण बजार पूर्ण रुपमा बन्द रहेको छ। ग्रामिण भेगका बजार पनि ठप्प रहेका छन्। 

कोराना त्रासका कारण स्थानीयहरु घर भन्दा बाहिर निस्किन चाहेका छैनन्। अत्यावश्यक यातायातका साधन बाहेक अरु सबै सेवाहरु ठप्प रहेका जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। 

यता लकडाउनको घोषणालाई अवज्ञा गरेको भन्दै आज बिहान प्रतिमा चोकमा केही व्यक्तिलाई प्रहरीले लाठी चार्जसमेत गरेको थियो। ‘लकडाउनको समयमा अवज्ञा गर्ने नागरिकलाई प्रहरी परिचालन गरेर नियन्त्रणमा लिने, सम्झाउदा नमाने कानुनी कारवाही गरिनेछ,’ उनले भने। 

लकडाउनको अवहेलना गर्नेलाई कतिपय स्थानमा प्रहरीले सामान्य बल समेत प्रयोग गरेको छ। सुचना अधिकारी बस्नेतका अनुसार अत्यावश्यक खाद्य सामाग्री बिक्रि बितरणको लागि किराना पसलहरु बिहान ९ बजेदेखि साझ ५ बजेसम्म मात्र खोल्ने ब्यबस्था मिलाइएको छ। 

यसैबीच कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले हिजो १ सय ६ जनालाई पक्राउ गरेको छ। सो क्रममा नगरका विभिन्न स्थानबाट ४० वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो। ‘नियन्त्रणमा लिएका मोटरसाइकल जरिवाना तिराएर छाडिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने,‘पक्राउ परेका व्यक्तिहरुलाई पनि हिजो २ घण्टा नियन्त्रणमा लिएर छोडिएको छ।

यता सरकारको निर्णय अनुसार नाका आज पनि पुर्ण रुपमा बन्द रहेको छ। ‘भन्सार नाकाबाट दैनिक आपुर्तिका अत्याबश्यक सामाग्रि इन्धन,ग्यास बोकेका ट्याडकर तथा बुलेटहरु, खाद्य सामग्री बोकेका मालबाहक ट्रकहरुको भने आवागमन सदा झै सुचारु रहेका छौं,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डिप्रसाद निरौलाले भने। 

उता देशव्यापी लक डाउनको कारण वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह पूर्ण रुपमा ठप्प रहेको सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए। ‘यही अवस्था रहिरहयो भने अगामी दिनको समान आयात र राजश्व संकलनमा पनि असर पर्नेछ,’ उनले भने। 
 
यता वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महानगरको ३२ वटै वडामा अध्यक्षहरुलाई आफ्नो वडाको जनतालाई आवश्यक सरसामानको उचित व्यवस्थापन गर्न र बिना भीडभाड समान खरिदबिक्रीको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। साथै नगरवासीलाई घरभित्रै बसी लकडाउनको समर्थन गर्न स्थानीय संचारमाध्यमद्धरा आग्रह गरेका छन्। 

महानगरले सूचना निकालेर संक्रमण फैलिएमा शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राख्नुपर्दा विद्यालय भवनहरुलाई उपयोग गरिने जानकारी गराएको छ। वीरगञ्जमा माध्यमिक स्तरका निजी तथा संस्थागत गरी ५४ वटा विद्यालयलाई क्वारेन्टाइनका लागी तयारी अवस्थामा राखिएको महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-26 04:22:17

प्रतिकृया दिनुहोस्