काेराेना भाइरस नियन्त्रणमा दक्षिण काेरियाली सूत्र

कालिका न्याैपाने

सिओल (दक्षिण काेरिया)

काेरोना भाइरसको ‘इपिसेन्टर’ मानिएको चीनकाे हुवेइ प्रान्तकाे उहानमा संक्रमण नियन्त्रणमा आएसँगै यसले अवलम्बन गरेको रणनीति र यसबाट पाएको सकारात्मक शिक्षा अन्य मुलुकका लागि पनि गतिलो पाठ बनिरहेको छ। चीन यति बेला इटालीलगायत युरोपका अन्य मुलुकमा आफ्नो सहयोग बिस्तार गरिरहेको छ।

चीनपछि दक्षिण कोरिया पनि कोरोना संक्रमित राष्ट्रको सूचिमा दोश्रो नम्बरमा थियो। तर,  दक्षिण कोरियाले पनि कोरोना भाइरस संक्रमण दरलाई नियन्त्रणमा राखेकाे छ र कोरियाले अवलम्बन गरेको रणनीतिकाे विश्वस्तरमै सर्ह्रना भइरहेको छ । प्रबिधिको आधुनिक विकास र कडा मिहिनेत गर्ने कोरियाली संस्कारका कारण याे सम्भव भएकाे हाे।

काेरियाली सरकारले चीनमा  कोभिड–१९को संक्रमण फैलिएसँगै आफ्नो देशमा पूर्व तयारी थालिसकेको थियो। यहाँको सरकारले आफ्ना देशका मेडिकल उपकरण उत्पादक कम्पनिलाई  टेस्ट किट्स उत्पादन बृद्धी गर्न सहयोग गर्यो  र उत्पादक कम्पनिले त्यही अनुसार उत्पादनकाे क्षमता बढाएर सम्भावित उच्च जाेखिमलाई न्युनिकरण गरेका थिए। फलस्वरुप अहिले एकैदिनमा २० हजारलाई कोभिड–१९ परीक्षण गर्न सक्षम देखिन्छ काेरिया ।

कोरोना संक्रमण महामारीकाे रुपमा फैलिएपछि यसलाई नियन्त्रणमा राख्न कोरियाले देखाएको प्रसंसनिय काम विश्वशक्ति राष्ट्रका लागि पनि उदाहरणीय बनेकाे छ।

अहिले शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई यस भाइरसबाट आफ्ना नागरिकको संरक्षण कसरी गर्ने टाउको दुखाईको बिषय बनेको छ। अमेरिकामा पर्याप्त मात्रामा टेष्टिङ किट्स तथा  संक्रमितको उपचारको लागि आवश्यक भेन्टिलेटरको अभाव छ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले व्हाइट हाउसबाट टेलिफोन सम्पर्कमा दक्षिण कोरियाली राष्ट्रपति मुन जे–ईनसँग  मेडिकल किट्सको आपूर्तिका लागि तत्काल सहयोग मागेको कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु–हाउसले जानकारी दिएको छ।

दक्षिण कोरियाली बायोटेक कम्पनी सिजेन टेकले  अमेरिकाको लस एन्जेल्स काउन्टीलाई  कोभिड–१९ को २० हजार टेस्ट किट्स पठाउन सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ भने राष्ट्रपति मुनले पनि आफ्ना समकक्षी ट्रम्पलाई सक्दो सहयोग गर्ने बचन दिएका छन्।

अमेरिका, इटाली, फ्रान्स, जर्मनीलगायत कोरोना प्रभावित देशमा छरिएका कोरियाली  नागरिकसमेत अहिले  कोरिया फर्कन आतुर देखिन्छन्। इटाली तथा अमेरिकाबाट कोरिया फर्कने कोरियालीको संख्या ह्वात्तै बढेको छ । इटालीबाट  आफ्ना नगारिक स्वदेश ल्याउन आगामी मार्च ३१ र अप्रिल १ तारिखका दिन सरकारले चार्टर्ड फ्लाईट गर्न लगेको छ।

कोभिड–१९ संक्रमणको सुरुवाती दिनमा यसलाई राजनीतिक रङ दिन खाेजिएकाे थियाे। विश्वशक्ति राष्ट्रबीचकाे टकरावको रूपमा काेराेना भाइरसकाे बिश्लेषण गरेकाे पनि देखियाे । तर आम मानिसको बुझाइ र बिश्लेषण विपरित भाइरसको न कुनै राष्ट्रियता देखियाे न कुनै भूगाेल ।न यसमा कुनै राजनीतिक दाउपेच देखियाे, न कुनै शक्ति सन्तुलन नै। 

भाइरस भाइरस नै हो। यसले विश्व आक्रान्त भएको छ। चीन तथा कोरियाले आ–आफ्नै रणनीतिबाट कोरोना भाइरसलाई लगभग नियन्त्रणमा लिइसकेका छन्। यी राष्ट्रको अनुभव र थप अनुसन्धान एवम् विश्व सहकार्य नै कोभिड–१९ बिरुद्ध अचुक ‘एन्टिबायोटिक’ बन्न सक्छ ।  

प्रकाशित मिति: : 2020-03-26 20:35:09

प्रतिकृया दिनुहोस्