मङ्गलबार, ०५ अगस्ट २०२५

कोरोनाको संक्रमणले विश्वव्यापी महामारीको रुप लिनुमा चीनको मासु बजार जिम्मेवार: अस्ट्रेलियन प्रधानमन्त्री

News Image
• • •

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिनुमा चीनको मासु बजार जिम्मेवार रहेको बताएका छन्।

शुक्रबार चीनको मासु बजारविरुद्ध कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग अपिल गर्दै उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्री मोरिसनले चीनको मासु बजारबाट विश्व स्वास्थ्य र विश्वभरका मानिसका लागि गम्भीर खतरा रहेको बताए।

गएको डिसेम्बरमा चीनको वुहानमा कोरोनाको संक्रमण पहिलोपटक पुष्टि भएको थियो। जंगली जनावरको मासु बजारबाट सो भाइरसको संक्रमण मानिसमा फैलिएको बताइन्छ।

संक्रमण बिस्तार भएपछि वुहानमा रहेको वुहान सिफुड होलसेल मार्केट गएको जनवरीमा बन्द गरिएको थियो। प्रधानमन्त्री मोरिसनले स्थानीय रेडियोसँगको अन्तर्वार्ताको क्रममा मासु बजार जहाँ रहे पनि स्वास्थ्यका लागि गम्भीर जोखिम हुने बताए।

चीनमा जंगली जनावरको मासुमा प्रतिबन्ध लगाइएको छ। यस्तै हालै शिन्चेन शहरले जंगली जनावरसँगै घर पालुवा बिरालो तथा कुकुरको मासुमा पनि प्रतिबन्ध लगाएको छ।

शनिबार, चैत्र २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)