क्यानडामा मासिक दुई हजार डलरको राहत प्याकेज घाेषणा

राहत पाउन के के गर्नुपर्छ?

यम घिमिरे

क्यानडा

क्यानेडेली सरकारले कोभिड–१९ बाट प्रभावित भएर काममा जान नसकी आम्दानी गुमाएका आफ्ना जनतालाई ४ महिनासम्म मासिक दुई हजार डलरकाे दरले राहत सहयोग उपलब्ध गराउने भएको छ। यसका लागि सरकारले ६ अप्रिलदेखि नै आवेदन फर्म खुला गरेकाे छ भने राहत १५ मार्चदेखि उपलब्ध गराउने बताएकाे छ।

क्यानेडेली जनताले यसका लागि आवेदन अनलाइन वा स्वचालित टेलिफोन सेवाबाट भर्नसक्ने छन्। सन् २०१९ मा वा आवेदन दिनुभन्दा ठिक १२ महिनाअगाडी काम भएकाे र पाँच हजार डलर वा त्याेभन्दा माथिकाे आम्दानी भएकाे व्यक्तिलाई सरकारले याे राहत प्याकेज उपलब्ध गराउँदैछ। विदेशबाट आएकाकाे हकमा १५ वर्षदेखि क्यानडा बसेकाे हुनुपर्ने जनाएकाे छ।हाल क्यानडामा ३० हजारकाे हाराहारीमा नेपाली रहेका छन्। 

काेभिड–१९ बाट प्रभावितले आवेदन दिँदा १४ दिनदेखि बेराेजगार र आम्दानीविहीन भएको पुष्टी गर्नुपर्ने छ। सरकारबाट राहत सुविधा पाउने व्यक्तिले चार महिनाको अबधिभित्र कुनै पनि श्रोतबाट आम्दानी नगरेको हुनेपर्ने सर्त अगाडी सारिएकाे छ। राहत सुविधा बेरोजगार भत्ता (इ.आइ.) वा बिरामी भत्ता पाउन योग्य ठहरिएकाले पनि पाउने छन् तर यी दुईमा एक राेज्नु पर्नेछ।

घरबाटै काम गरिरहेका वा काम गर्ने समयमा कटौती भई नियमित आम्दानी घटेकाले सुबिधा पाउने छैनन्। सरकारको केन्द्रीय राजस्व बिभाग (सिआरए) को अनलाइन खाता खोलेर त्यहाँबाट आवेदन भर्नुपर्ने र स्वचालित टेलिफोन सेवाको टोल फ्रि नम्बर 1-800-959-2019 मा डायल गरेर आवेदन भर्न सकिने बताइएकाे छ।

सरकारी सूचनाअनुसार सिधै बैंकमा डिपोजिट गर्ने गरी आवेदन दिए ३–५ दिनभित्र खातामा पैसा आइपुग्छ। चेक सिधै नआएकाे खण्डमा पनि हुलाकबाट १० दिनभित्रमा चेक घर आइपुग्ने छ। 

बेराेजगार भत्ताका लागि आवेदन दिएका र योग्य ठहरिएकाकाे हकमा स्वत् केन्द्रीय राहत सुबिधामा परिणत हुनेछ।

कोभिड–१९ का कारण जागिर रोकिएका वा गुमाएका, बेराेजगार भत्ताका लागि योग्य भएका, कोभिड–१९ का कारण करार सम्झौता भंग भएका, स्वतन्त्र ढंगले काम गर्ने ‘फ्रिलान्सर’ जसको आम्दानी कोभिड–१९ कै कारण रोकिएकाे भए, यी सबैले राहत पाउने छन्।

राहत सुबिधा पाउन आवेदनमा उल्लेख गरिएका सूचना सही र सत्य भएकाे प्रमाणित आफैंले गर्नुपर्ने छ। सरकारले कोभिड–१९ को महामारी सकिएपछि सबै दाबी र सूचनाको सबुतप्रमाण केलाउने र आवश्यक परेमा प्रमाण पेश गर्न लगाउने बताएकाे छ। 

 

प्रकाशित मिति: : 2020-04-07 09:17:21

प्रतिकृया दिनुहोस्