जनता हुनुको योग्यता गुमाउदैनौं

जनता हुनुको योग्यता गुमाउदैनौं

फेरी अर्को फतफत सुरु गरेको छु। यी चिया पसलका गफ होइनन्। यी त विशुद्ध डायरीका फतफत हुन्। हामीलाई चिया गफ पो मिठा लाग्छन्। चार कप चिया अर्डर गरेर आठ वात मारे पो मज्जा आउँछ। यसै पनि नेपालीलाई ‘चाया (चिया) बादुर र राय बादुर’ भन्छन्। बादुर मतलब बहादुर। इन्डियनहरु भादुर पनि भन्छन्। ‘इदर आ भादुर। ए काम करो भादुर। ए नै हुवा भादुर। जल्दि कर भादुर।’ भादुर मतलव बहादुर होइन, निम्न स्तरको काम गर्ने एक ज्यामी मात्र।

भादुरको अपमान खाँदै देश धान्नेहरु घर फर्किन खोज्दा राज्यले समेत उस्तै उपेक्षा गर्‍यो। विश्व स्वास्थ्य संगठनले भनेजस्तै ‘जहाँ छौं, त्यहीँ सुरक्षित बसौं’ को मनसाय न भारत सरकारले बुझ्न सक्यो, न हाम्रो राज्य संयन्त्रले नै। फेरी पनि भादुरहरु अपमानित र उपेक्षित भइरहे।

हटेरुबाट माथि उक्लेर नागरिक हुन सकेनन्। भारत सरकारले, गल्ली र गल्छेडा समेत सफा गरेर आफ्नो देश बनाउने नेपालीलाई केही दिन पाल्न सकेन भने हाम्रो सत्ताले पनि परेको व्यहोरौंला तर हाम्रा नागरिक जहाँ छन्, त्यहीँ सुरक्षित बस्न देउ भन्न सकेन। दुबै राज्यले संकटभोगी रहेकालाई समेत बुझ्न सकेनन्। यस्तो समस्या अष्ट्रेलियमा बस्ने नेपालीमा पनि देखिएको छ। राज्यले राज्य हुनुको कर्तव्य भुलिरहेको छ।

हुनत हामी संसारभर वीर गोर्खालीको पहिचानमा गर्व गर्छौं। कोही आफन्त बेलायत या इन्डियन आर्मीमा भर्ती हुँदा नाक ठूलो बनाउछौं तर त्यही वीर गोर्खालीभित्र पनि भाडका टट्टुको गन्ध आउँछ। लखनउ विद्रोह दबाउने जंगबहादुरलाई कार्ल मार्क्सले बेलायती कुकुर भनेथे।

यसै पनि नेपाली सत्ता गोर्खा भर्तिमै आफ्नो सान सम्झिरहेको छ। सादय मार्क्स जिउँदै भएको भए, आफ्नो दर्शनलाई मार्गदर्शन मान्ने सत्ताधारीलाई पनि उसैगरी लतक लाउँदा हुन्। 

अहो ! आउट अफ ट्रयाक भएछु क्यार। हुन त म कुन चाहिँ ट्रयाकमा पो छु र? उही फतफतै त हो नी, जताबाट गरे पनि। बेस्वादिलो डायरीको फतफत। ताउलाको चामल पाकेर भात हुने बेला गरेको जस्तै रस नभएको फतफत। टिपेको महिनौं भएपछि रस सुकेका रेड स्याउ झैं। कसैकसैका त फतफत पनि रसिलै हुन्छन्। पाकेका स्याउ जस्ता। तर लेखनमा एक गास कम खाएको, एक भोटो फाट्न बाँकी म जस्तोको लेखन काचा नास्पाती जस्तै टर्रा छन्।

यत्तिकै स्मृतिमा आउँछन् गोविन्द वर्तमान र उनको कृति ‘हरियो साइकल’। पुस्तकमा उनी नारायण ढकालको वाक्य सापटी लिएर काचा सुन्तलाको स्वाद, सिकारु लेखकका रचनाको स्वादहीनतासँग दाँजिदिन्छन्। मलाई पनि उस्तै लाग्छ।

लकडाउनको तेह्रौं रात चौधौं दिनलाई भेटाउन कुदिरहेछ, भित्ते घडीको सुईमा। हजार माइलको यात्रामा निस्किए झैं सेकेन्ड सुईको गति उद्धेश्य अनुरुप छ तर तिब्र भने छैन। हुनत समयको आफ्नै रफ्तार छ। कोरोनाको रफ्तार भने बढेको छ। सुई घुम्ने गति उही हो भने गति बढ्ने सम्भावना शुन्य हो। सुईको गति घट्यो भने घडी बिग्रन्छ तर कोरोनाको गति बढ्यो भने मानव जीवन संकटमा पर्छ। ठ्याक्कै उल्टो। स्थिति संसारभर बिग्रिरहेको छ। 

नेपालमा तीन जनामा एकै दिन कोरोना देखियो। संख्या बढेर नौ पुग्यो।यो संख्या नबढोस् भन्ने कामना हो। बाँकी हामीले गर्न सक्ने के छ र ? सरकारले ‘लकडाउन’ लाई थप कडा बनाउने निर्णय गरेको छ। युरोपको लापर्वाही र अमेरिकी राजनीतिक नेतृत्वका कारण समस्या बढ्यो। ट्रम्पको मुडेबल संकट पहिचान गर्न नसक्नुकोे अयोग्यता शिवाय केही भएन। 

आज कोरोनाको ‘इपिसेन्टर’ मानिएको चीनको उहान भयमुक्त छ। युरोप र अमेरिकाको स्थिति बम पड्केपछि थर्कमान मान्छेको मुटु झैं भएकाे छ। 

यो दुई साता अत्यावश्यक काममा बाहेक बाहिर जान नपाएका मान्छेहरु अब विस्तारै बुझ्न थालेका छन्। बुझ्नु बाध्यता छ।‘लकडाउन’ वा जेसुकै होस् दिनभरी बजार डुल्नुपर्ने हामी ठिक ठाउँमा आएका छौं। आपतमा देशले गरेको निर्णय र आह्वान मानेर अनुशासन कायम गर्नु नै बुद्धिमानी हुने कुरा हामीले चीनबाट सिक्यौं। तर चिनियाँ भूमीमा भएको विकासलाई माआत्से तुङ्गको विचारधारा मान्ने हाम्रो नेतृत्वबुझ पचाइरहेछ।

सत्तामा बस्नेको नियत बर्षाको बेला झैं धमिलो छ। जसरी नदी देख्ने सबैले धमिलो पानी देख्छ, उसरी नै सत्ताको नियत जनताले देखिरहेका छन्। स्वास्थ्य सेवा प्रभावकारी बनाउन अत्यावश्यक सामग्री खरिद गर्दा समेत घोटाला हुन्छ। अब सत्ता र यसका नाइके आफ्नी आमाको लास जलाउने दाउरा किन्दा पनि कमिसन खान्छन् भनि पत्याउनलाई आइतबार कुर्नु परेन। यसले जनतामा कोरोना भाइरसको भन्दा शासकीय चरित्रको त्रास बढेको छ।

सत्ता कमिसन, भ्रस्टाचार, आसोपासेको सेवकभन्दा माथि उठ्न सकेको छैन। हालको सत्तासँग सबै खालका अयोग्यता छन् भने कुनै पनि खालका योग्यता देखिदैन। त्यसैले सत्ता, सत्ता हुन सकेको छैन तर जनताले जनता हुनुको योग्यता गुमाउनु हुँदैन। सत्ताले योग्यता गुमाएको देशमा जनताले पनि योग्यता गुमाउने हो भने सत्ता मात्र होइन देश नै नरहने सम्भावना हुन्छ। 

अब यस्तो लद्दु सत्ताबाट धेरै आश गर्नु पनि व्यर्थ छ। उसो भए आश कसको गर्नु त? अदृश्य शक्तिको? देउता को या प्रभु यशुको? यी शक्तिले सत्ताले भन्दा धेरै अगाडी आफ्नो योग्यता गुमाइसकेका छन्। यिनकै आयोग्यतामाथि प्रश्न गरेरै सत्ताको विकास भएको हो। जो आफै अयोग्य सावित भइरहेको छ भने यिनको पनि आश गर्नु कसरी?

संसारले लडिरहेको कोरोना भाइरसको माहामारीविरुद्धको लडाई हामी जनताको हो। हामीले कायम राख्ने अनुशासनले नै हामी विजयी हुनेछौं। यसै पनि कर्णालीबासीले थुप्रै माहामारीविरुद्धको लडाईं जित्दैं आइरहेकाे छ। 

भोकमरी, अनिकाल, खडेरी, पहिचान नभएका रोग, विफर, मातृशिशु मृत्यु, हैजा, भूकम्प लगायत थुप्रै महामारी र संकटसँग लड्दै विजयी प्राप्त गरेर नै कर्णाली यो अवस्थासम्म आइपुगेको हो। यो अवस्थामा आइपुग्न कर्णालीले धेरै गुमाएको छ। परिचय गुमाएको छ। पहिचान हराएको छ। कर्णाली जहिले पनि आभाव र भोकमरीको बिम्बको रुपमा अग्रपंत्तिमै छ। हामीले मानेका, पुजापाठ गरेका, मानो फूल चामल र मुठो ध्वजा चढाएकाहरु संकटको बेला आफै हाम्रो भर परिहेका थिए भने अब झन् तीनको किन आशभरोसा मान्नु?

संसारले भोगेका हरेक महामारीमा यिनको आश मानेर पाउनु नै के छ र? अब आश विज्ञानको हो, चिकित्सा विज्ञानको। त्यो भन्दा बढी भर आफ्नै हो। हामीलाई प्राप्त सहि सूचनाको आधारमा सुरक्षित रहने हो। जहाँ छौं त्यहीबाट लडाइँ लड्ने हो। यो लडाइँमा सामेल हुन हामीलाई अत्याधुनिक हतियार चाहिने छैनन्। परमाणु वा हाइड्रोजन कुनै पनि शक्तिशाली उर्जाको खाँचो पर्ने छैन। विश्वयुद्ध नै लडेजस्तो ताकत चाहिने पनि छैन भने दुई ध्रुबमा बाँडिनुपर्ने वा असंलग्न नीति अपनाउनु पनि छैन। विश्व युद्ध पछिको शीत युद्ध जस्तै लड्नुपर्ने पनि होइन। केवल घरभित्रै बसिदिए पुग्ने हो। 

यो एक विशिष्ट खालको लडाइँ हो। यसका लागि सामाजिक ऐक्यवद्धता कामय गर्दै व्यक्तिगत दूरी बढाए पुग्छ। धैर्यतालाई काबुमा राखेर तोकेको अवधि भित्र घरभित्रै बसे पुग्छ। सम्झनुुुस् यही नै सबैभन्दा ठूलो प्रतिरोध हो भने कोरोना पराजित बनाउने शक्तिशाली हाइड्रोजन बम पनि।  

यसले वातावरणमा त्रास घोलिएको भए पनि स्थिति तुलनात्मक रुपमा सहज बनाउने छ। विस्तारै हाम्रो विजय यात्राअघि बढ्नेछ। एक दिन हामी विजयी हुनेछौं। त्यो खुसीयाली हामीसँगै साँटौला। घरभित्र बस्दाबस्दै महामारीपछि मेरो भूमिका के हुने भन्नेसम्म पनि सोच्दै जाँउ। यहि नै जिम्मेवार नागरिकको कर्तव्य हुनेछ। राज्यसँग उसको गैरजिम्मेवारीको हिसाब गर्दै गरौंला।

अब त मेरो फतफत पनि सकिन लाग्यो। बन्द गर्नुभन्दा केही अगाडि एउटा कुरा सम्झिहाले घट आएको कुरा किन पेटमै राखौं। भारतीय चर्चित पत्रकार तथा एनडी टिभीका निर्देशक रविश कुमार भन्छन्, ‘टिभी हेर्ने दर्शक पनि जिम्मेवार हुनुपर्छ।’ त्यस्तै प्रिय पाठकहरु हामीहरु सबै जिम्मेवार हुनुपर्छ। अहिलेसम्मका मेरा फतफतै भएपनि जिम्मेवार भएर सुनिदिनुभयो धन्यवाद। सुन्नेलाई सुनको माला। 
 

प्रकाशित मिति: Apr 07, 2020 14:28:11

प्रतिक्रिया दिनुहोस