मङ्गलबार, ०५ अगस्ट २०२५

म्यान्मारका नेपाली साहित्यकारहरुको लकडाउन डायरी

जीवन डाँगी

जीवन डाँगी

टमू नगर, म्यान्मार
News Image
• • •

चीनको वुहानबाट सुरू भएको कोभिड–१९ (कोरोना) को त्रासमा अहिले विश्वका शक्तिशाली मुलुकदेखि नेपाल जस्ता मुलुकहरू पनि बाँचिरहेका छन्।

कोरोना संक्रमित देशहरुले आ-आफ्ना नागरिकलाई महामारीबाट जोगाउन मुलुक बन्दाबन्दी (लकडाउन) गरेका छन्। यद्यपी लामो समयसम्म मानिसहरू घरभित्रै बस्दा वाक्क दिक्क मानिरहेका छन्। बन्दाबन्दी तनाब मात्रै नभएर साहित्यकार, संगीतकार, गीतकारलगायतका लागि नयाँ श्रृजना खोजी गर्ने अवसरसमेत बनेको छ।

नेपालभन्दा टाढा रहेको म्यान्मार (बर्मा) नेपालीका लागि नयाँ नाम होइन। नेपाली भाषा, कला, साहित्य र संस्कृतिको जीवन्त मार्ग देखाउने म्यान्मारका नेपालीहरू नेपाली साहित्य जगतमासमेत उँचो छन्। बन्दाबन्दीको समयमा म्यान्मारका नेपाली साहित्यकारको दिनचर्या कसरी बितिरहेको छ। यसै विषयमा बिएल नेपाली सेवाका लागि जीवन सम्राटले उनीहरुको लकडाउन डायरी यसरी खोतलेका छन्।

विष्णु पन्थी – मेरो कोरोना डायरी

थियो धोको मेरो लेख्ने एउटा सटीक सायरी।

तर ‘उनको’ आग्रहमा लेख्न लागेँ म डायरी।।

खोजेँ मेरो कलम, कापि, मेच, कुर्सी उता–यता।

लोडसेडिङको अँध्यारोमा लड्खडाउँदै बसेँ म ता।।

सामान्यतः डायरी धेरैले बिना कारण नै लेख्छन्। तर समय, काल परिस्थितिवश कुनै दिन त्यो वाहियात मानिएको काम ऊ आफैंलाई या अन्य व्यक्ति, समाज या राष्ट्रलाई समेत अत्यन्तै उपयोगी आधारमूलक दस्तावेजमा परिणत हुनपुग्छ।

यीनै डायरीहरूको भरमा हजारौं पुस्तक लेखिन्छन्। यीनैको सहयोगले कतिपय रहस्यहरूको छर्लङ्ग खुलासा हुन्छ। त्यसैले इतिहासकारहरू र विभिन्न विषयका शोधकर्ताहरू पेशागतरूपमा यस्तै लुकेका डायरीहरूलाई ढुकेका हुन्छन्।

धेरैजसो बहुचर्चित डायरीहरू झ्यालखानामा, कारागारमा, दुस्साहसी कार्य गर्दा यात्रामा लेखिएको पाइन्छ। नेपालका आदिकवि भानुभक्त आचार्यले समेत आफू कारणवश कारावासमा रहनुपर्दा भानुकृत रामायणको केही भाग दैनिक कार्यको रूपमा लेखेको तथ्यलाई यहाँ प्रासंगिक मान्न सकिन्छ।

उदाहरणका लागि यस परिप्रेक्षमा केही विशेष व्यक्तित्वहरू सम्झनुपर्दा भारतका सर्वप्रथम प्रधानमन्त्री पं जवाहर लाल नेहरूले आफ्नी छोरी ईन्दिरा (पछि प्रधानमन्त्री ईन्दिरा गान्धी) लाई कारागृहबाट लेखेको पत्र–डायरी, ब्रिटेनका प्रख्यात उपन्यासकार जर्ज अर्वेलले म्यान्मामा उपनिवेशकाल छँदा लेखेको डायरी इत्यादि।

एक ताका विद्यार्थी जीवनकालमा डायरी लेख्ने रहर लाग्यो र केही वर्षसम्म लेखेको थिएँ मैले पनि। वास्तवमा डायरीको उपयोगिता विषय केही पुस्तक पढेपछि म धेरै प्रभावित भएको थिएँ। त्यसताका (सन् १९६०–७५) पुस्तक पढ्नु र चलचित्र हेर्नु नै मनोरञ्जनको मुख्य साधन हुनेगर्थ्यो। चाडबाडमा भने नाटक इत्यादिमा सहभागी हुन्थेँ। नाच्न गाउन पनि अग्रसर रहन्थेँ। सुन्दर सजिएका विभिन्न आकारका साना पाकिट साईजबाट पुस्तक साईजसम्मका डायरी सालाना ईस्वी नयाँ वर्ष ताका उपहारमा प्राप्त हुनेगर्थे। जाँगर हुनसम्म लेख्दै गएँ। पढेर आर्जन गरेका केही कुराहरूलाई कोरेर राख्ने बानी त छँदै थियो। व्यावसायिक जीवनमा प्रवेश गरेपछि डायरी लेख्ने बानी समयको अभावले कतिखेर आफैं उछिट्टिएछ थाहै भएन।

आज विज्ञानको विकासका साथै डायरी लेख्ने साधन र तरीकामा पनि ठूलो परिवर्तन आएको छ। आज मोबाइल फोनमा नै सोझै डायरीमा लेख्न सकिन्छ। आजको जीवन शैलीले पनि ठूलो फड्को मारिसकेको छ। नाडीमा हाते घडी लाउने, शब्दकोशको मोटो पुस्तक साथै राख्ने, पाकिट क्यालेन्डर गोजीमा राख्ने जस्ता कुरा आज पुरानिएर थन्किन पुगे। त्यो सबै काम आज मोबाइलले नै एक्लै गरिदिन्छ।

यसपटकको महामारी लकडाउन (मार्च २० ता. पछि आजसम्म) समयमा प्रातःको नियमित योगासन अथवा छोटो हिँडडुल र ततपश्चात नित्य पूजापाठ पछि मैले प्रथम दश दिनसम्म सामाजिक विषयलाई समय दिएँ। केही मैले घरैबाट गर्न सकिने अथवा मेरो सहयोगको अपेक्षा गरिएका कार्यहरूलाई केही हदसम्म हल गरेँ। त्यस पछि पढ्न रहेका केही अंग्रेजी, हिन्दी र नेपाली उपन्यासहरू टेबलमा तालिकाबद्ध टकारेर पालै सित पढ्ने क्रमलाई निरन्तरता दिएको छु। त्यसमा म्यान्माको दैनिक समाचार पत्र पनि समावेश गरिएको छ।

उपरोक्त दैनिक पठन कार्यक्रमको मुख्य बाधक हो मोबाइलबाट प्राप्त हुने लिंकहरू– कोरोनायुग हुनाले दैनिक अपडेट् हुने समाचारहरूप्रति चासो लिन अनिवार्य ठान्दछु। यसका साथै समसामयिक विषयहरूमा (विशेष रूपमा कोरोना सम्बन्धित) आफ्नो विचारहरूलाई अंग्रेजी र नेपाली भाषाहरूमा कविता, आत्मकथा, डायरी लेखनजस्ता विभिन्न विधाहरूमा बिएल नेपाली सेवा, सामाजिक सञ्जाल मार्फत नियमित टक्राइरहेको छु। यो क्रम कहिलेसम्म चल्ने हो कोभिड–१९को जो निगाह...

अहिलेको महामारीको लागि राष्ट्रियस्तरमा निर्देशित विश्रामकालले कहिलै नबिर्सने गरि हाम्रो मानसपटलमा छाप छाड्ने निश्चित छ। यसको त्रास समाप्त भएपछि एक दिन सबै पुनः आ-आफ्ना दैनिक काममा लाग्नेछन्। त्यतिबेला कहिलेकाहीं हामीलाई कोरोनाकालको सम्झना अवश्य आउने छ तर हामीमधे कतिपयले ती बितेको तीतो सत्यमाथि बहस गर्न अनावश्यक सम्झनेछौं भने कतिपयले दिक्दार गराएको हुनाले नजर अन्दाज गर्न खोज्नेछौं। तर चाहे पनि नचाहे पनि थाकिनेगरि विश्राम गर्नपरेको सम्झनाले त हाम्रो पीछा छोड्ला जस्तो लाग्दैन।

छाडेन यो कोरोनाले कुनै गाउँ कुनै शहर।

फैलिँदै छ तेजिलो भै संक्रामक रोगको कहर।।

गुहार पनि सुनेनन् खै दैव नै परे कि कतै।

शिव !! शिव !! भनेका छन् विश्वभरि जताततै।।

लक्ष्मण न्यौपाने – अहंपूर्ण भ्रमबाट हामी सबै ब्यूझिने छौँ

हुनत काम, व्यापार नियमित चलिरहेको दैनिक दिनचर्या सबै ठप्प भएपछि सुरुसुरुमा त एकदमै अत्तालिएको थिएँ। तर पनि आफू मात्र नभई विश्वभरी नै यहीँ दुःखद स्थिति भईरहेको आत्मसात गरेपछि, यस लकडाउनको समयलाई सदुपयोग गर्ने निश्चय गरेँ।

सर्वप्रथम त यो भयानक रोगको रोकथामका उपायहरूलाई यथासक्य सामाजिक सञ्जाल र फोन मार्फत प्रचार गरेँ र गरिरहेको छु। आफ्नो परिवारलाई पहिलाभन्दा धेरै समय दिएको छु र भाषा, साहित्य र संस्कृति संरक्षण कार्यलाई विभिन्न सञ्जाल मार्फत नै अझ् तिब्र गतिमा गरिरहेको छु। भर्खर हाम्रो गोर्खा हिन्दू धर्मसेवक संघ मार्फत साथीहरूसँग मिलेर अनलाईन सत्संग सञ्चालन गरिरहेको छु।

यस समयमा किताब पढ्ने मौका पाएँ र अध्ययन गरिरहेको छु। कविता लेख्दै छु र प्रसारण पनि गरिरहेको छु। पहिला बिहान व्यायाम गर्न जकिङ्ग जाने गर्थेँ। तर अहिले घरमै दिनको दुई पटक योगासन गर्ने गरेको छु। यसरी नै आफूलाई पहिला भन्दा पनि व्यस्त बनाएको छु। यस महामारीको अन्त्यपछि मलाई लाग्छ विश्वभरका साहित्यकर्मी र कलाकारहरूको मानवजीवन र मानवीय मूल्यप्रतिको दृष्टिकोणमा ठूलो परिवर्तन आउनेछ।

यस धर्तीमा हामी मानव जातिहरू सर्वश्रेष्ठ प्राणी हौं भन्ने अहंपूर्ण भ्रमबाट हामी सबै ब्यूँझिने छौँ। अब हाम्रा साहित्य र कलाहरूमा प्रकृतिसँग अझ नजिक र सहिष्णुता भएका सृजनाहरू देखा पर्नेछन्। हाम्रा पूर्खाहरूले हाम्रा लागि कतै धर्मको नाममा, कतै दस्तुरको नाममा, कतै परम्परा र संस्कृतिको नाममा राखिदिएका अथाह ज्ञानहरू जो आजको तथाकथित आधुनिक भनाउँदा शिक्षाहरूबिच हेय अवस्थामा विलिन हुनलागेको छ। ती पुरातन शिक्षाहरूलाई पुनः संस्कारित गराउनु नै  साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूको भूमिका रहेन छ जस्तो मलाई लाग्छ। र सबै जना घरमै बसौं, सुरक्षित रहौं।

देवेन्द्र रिजाल – मज्जाको अव्यवस्थित दिनहरु काटिरहेको छु

जीवन चक्र बनिसकेको मेरो दिनचर्या च्वाट्ट रोकिएपछि म पनि तपाईँ जस्तै घरमा लकडाउन गरेर बसेको छु। केही नगरि बसिरहँदा राष्ट्रलाई सेवा पुगेको छ भने यो भन्दा ठूलो देन के होस् अरू। यसै पनि आफू परियो राष्ट्रवादी त्यसैले बसेँ घरैमा।

विश्व नै ठप्प रोकिएको अवस्थामा म पनि काम दाम एकातिर थाति राखेर मज्जाको अव्यवस्थित दिनहरू काटिरहेको छु। घर पनि डेरा जस्तो भएको धेरै भएछ। बल्ल घर–घर जस्तो लाग्यो। मित्रहरुसँग भलाकुसारी गर्नु सामाजिक सञ्जाल चलाउनु, किताब पढनू, खाना खानु र ओछ्यानमा लमतन्न परेर सुत्नु नै आजका मेरा मुख्य कामहरू हुन् भन्दा तपाई पक्कै पनि दुई छक्क पर्नुहुने छैन।

न कामको चिन्ता न नामको चिन्ता। आलस्य भएर बस्न जान्नु पनि एउटा जीवनकला रहेछ भन्ने यतिका वर्षमा बल्ल थाहा पाउँदै छु।

नयाँ वर्ष २०२० ले आफ्नो पोल्टामा सुटुक्क बोकेर ल्याएको विषाक्त उपहार कोरोनाले आज त्राहिमम् बनाएको छ। चीनबाट अशुभारम्भ गरेको पापी कोरोना नामक यमदूतले आज सिङ्गो विश्व घुमिसकेर पनि थकाई मारेकै छैन। गाउँ जङ्गलदेखि सदरमुकामसम्म कुना काप्चा र फाँटहरुसम्म उसैको पदचाप देखिन्छ। उसैको चर्चा सुनिन्छ। मान्छेका सीमानाहरु भेदहरू परिधिहरु कुनैले पनि छेक्न सकेन। थेक्न सकेन यो असत्ति भाइरसलाई। धर्म, जात, लिङ्ग, वर्ग, शासक–शोषित, बच्चा, बुढो केही भन्दैन। सुरक्षाकर्मीको बन्दूकले छेक्न सकेन उसको प्रवेशलाई – न उच्च–उच्च पर्खालहरुले नै। आजसम्मको मान्छेको बल बुद्धि र आविष्कारलाई र पृथ्वी ध्वस्त नर संहारका लागि बनाएका अस्त्र शस्त्र जहरीला हतियारहरुलाई लोप्पा ख्वाउँदै हिँडेको छ।

वैज्ञानिकहरू मोरो बजिया कोरोनाको लीला बुझ्न व्यस्त छन्। बुझि नसक्ने अचिन्तेय बनेको, हरिको लिला झैं। अनेक रुप बदलिरहन्छ। अनेक चाल चलिरहन्छ। औषधिको अत्तो पत्तो नलागेर रहस्यमय बनेको छ। संक्रमितको संख्या बढेको बढ्यै छ। मृतकको संख्या बढ्दोछ। त्रासदी समय छ।

प्रत्येक समाचारले अशुभ खबर ल्याउँछ। बिहानै ओछ्यानबाट उठेदेखि रात ओछ्यानमा पुगुञ्जेलसम्मको रोनाको रोना – एक न एक त रोना रोना भएकै छ। विश्वको विशाल शक्ति सम्पन्न अमेरिकाको दुर्गति हेरौं त। लाचार भएको छ। यूरोपियन देशहरुको उहीँ छ गति – बरू चीनसँग लामो सीमाना जोडिएको मेरो देशमा भने कोरोनाले कसो–कसो बाटो बिराएछ।

अर्कापटी पर्यावरण स्वच्छ हुँदै आएको छ। चरा चुरुङ्गी पशु पंछी र जीवहरु मान्छेको आतंकबाट बचेका छन्। मान्छे आफैं खोरमा पसेपछि वायुमण्डल सफा भएको छ। नदी नाला सङ्लिएका छन्। धुलो मैलो र धुँवा देखिदैन। पृथ्वी सबैको साझा हो भन्ने कुरोको चुरो बल्ल सुन्न थालेको छ मान्छे।

मान्छे मान्छे बीचको रिस राग घटेर सद्भाव सद्विचार सुरु हुँदैछ। चारैतिर चकमन्न छ। कतै कोलाहल छैन। सादा जीवन उच्च विचारको पालन गरेका छन्। यति हो सबैको मुटुमा भय भने डक्क बसेको छ। मृत्युको कुरा न हो डर सबैलाई लागिहाल्छ नि।

कुसुम गौतम – बन्दाबन्दीको समय बनोस् अमूल्य

सन् २०१९ ले विश्वमा एउटा यस्तो सौगात छाडेर गयो..। फलस्वरुप आज मानव समाज, मानव सभ्यता र मानव सत्तामाथि एउटा ठूलो प्रश्न चिन्ह लागिरहेको छ। के हो यस्तो डरलाग्दो सौगात!

त्राहिमाम् त्राहिमाम् मच्चिरहेको छ। हाहाकार, डर, त्रास र आँशुको कुहिरोभित्र डुब्दै–डुब्दै कतै यो संसार नै विनास तर्फ ढल्किने त हैन! सन् २०१९ ले दिएको सौगात कोभिड–१९ (कोरोना) को नामले विश्व प्रख्यात भइरहेको छ। तर, त्यसको जन्म कसरी भयो भन्ने कुरा अझैसम्म थाहा भएको छैन।

कोरोना चीनको वुहान शहरबाट भन्ने थाहा भए पनि जन्मदाता को हो भन्ने कुरामा अनुसन्धान भइनै रहेको छ। वुहानबाट फैलिएर आज विश्व घुमिरहेको कोभिड–१९ को प्रकोपबाट बच्न वैज्ञानिकले अहिलेसम्म पत्ता लगाएको एक मात्र औषधी हो – घरमा बस्ने, सुरक्षित रहने।

आफू आफैंलाई र आफ्नो  परिवारलाई यो डरलाग्दो रोगबाट बचाउन बन्दाबन्दी (लकडाउन) मा बस्नु हामी सबैको दायित्व बनेको छ।

विश्व नै एउटा युद्वभूमि बनेको छ र घरहरु जेल जस्तो – मलाई लाग्छ। प्रकृतिले हामीलाई दिएको दण्ड हो यो। अर्कोतिर हेर्ने हो भने हामी लोभ, भोग, मोह, अहंकार, सत्ताको पछि दौडदाँ दौडदै आफ्नो र परिवारका लागि समय दिन छोड्यौँ।

‘कहिल्यै नटुङ्गिने सफर जिन्दगानी, अनन्त मृगतृष्णाको लहर जिन्दगानी’  भने झैँ हामी पनि बालुवाको कणलाई पानी सम्झेर पछि लागेको मृग झैँ भएका छौँ कहिल्यै नटुङ्गिने इच्छा आकाङ्क्षा लिएर। त्यसै कारण प्रकृतिले हामीलाई परिवारको साथमा समय बिताउन इशारा गरिरहेको पनि हुनसक्छ। हामी कुनै कुनै कुरालाई नकारात्मकबाट सकारात्मक सोँच तर्फ ल्याउन सके जीवन धेरै लाभदायक बन्न पुग्छ।

सोचिरहेकी छु – म यो बन्दाबन्दी समय कसरी सदुपयोगमा ल्याउने! मुहार पुस्तकमा कतिपय मान्छेहरु किताब पढेर समयको सदुपयोग गरिरहेका छन् भने कति स्वादिष्ट खाने कुरा पकाएर परिवारका साथ समय विताइरहेका छन्।

कोही जनकल्याणका लागि घरमा बसेर फेस मास्क बनाइरहेका पोस्ट गरेको देख्दा आफूभित्र पनि केही राम्रो काम अवश्य गर्नु नै पर्छ, यी समयहरु खेर नजाओस् भन्ने चेतना व्यूँझेर आउँछ। टिभिमा समाचार हेर्ने, हजुरआमाबाट लोक कथाहरू सुन्ने समय, किताब पढ्नका लागि प्रसस्त समय मिल्यो हामीलाई। तर अबसोस्! हाम्रो टमूमा एउटा पनि नेपाली पुस्तकालय नहूँदा पुराना किताबहरु नै दोहोर्‍याएर पढिरहेँ। धेरै समयदेखि मेरो मनमा कविता संग्रह प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने इच्छा लागिरहेको थियो।

पहिलो कविता संग्रह "सलबलाएका सपनाहरु" प्रकाशनपछि साहित्य जगतमा फेरि यस्तो कदम राख्न सकेकै थिइनँ। हुन त समयको अभावले मात्र त होइन यो काम पुरा गर्न नसकेको । मेरो अर्को इच्छा के छ भने दोस्रो कविता संग्रहमा गद्य कविता मात्र नभएर पद्य कविताहरू पनि समेट्न सकौं। तर पनि छन्दोबद्ध कविता सिक्ने समय मिलेको थिएन। व्यवसाय र घरको काम धन्दाले गर्दा त्यता तिर फर्किन सकेकी थिइनँ।

म्यान्माली नेपाली साहित्य समाजमा साहित्यको थप बिरुवा रोप्ने उद्धेश्यले म छन्द कविता लेख्ने प्रयास गरिरहेकी छु। त्यसै कारण यो बन्दाबन्दीको समय मेरो लागि अमूल्य रत्न भएको छ। म यो बन्दाबन्दीको समय आगामी कविता संग्रहको लागि छन्दबद्ध कविता लेख्ने प्रयासमा छु। कोभिड–१९ बाट सुरक्षित हुनका लागि घरमा बसेर विश्वको, देशको, समाजको, परिवारको र आफ्नो रक्षा गर्दै यो समयको सदुपयोग गरौं।

अमित घिमिरे- बन्दलाई मैले सही सदुपयोग गरिरहेको छु

जीवन एकोहोरो, एकनास रूटिनबाट विरक्त, आफूभन्दा शक्तिसाली समूहबाट सनातन प्रकृतिको विनाशलाई टुलुटुलु हेर्नुपर्ने वाध्यता,  बुझेर पनि चुप बस्नुपर्ने, अर्थलाई मात्र महत्व दिएको परिपाटीमा अनुभव, मौलिक ज्ञान र व्यवहारिकपन मौन बस्नुपर्ने समयमा कोरोना आयो।

मौलिक ज्ञान जोगायो। बनावटी र महत्वकांक्षीलाई भगायो। संसारलाई सनातन प्रकृतिमा चल्ने सन्देश दियो। जानमारा कोरोनाले विश्वलाई बन्दाबन्दी गरेको यो पल घरमै बसेर समयको सदुपयोग गर्नु बुद्धिमता हुनेछ।

म्यान्मारका शिक्षित परिवारहरूमा गनिने हाम्रो परिवार बिहान ११ बजेसम्म आ-आफ्ना दैनिकीमा सबै ब्यस्त हुन्छौं।

त्यसपछि सबै सदस्यहरूको जमघट हुने घर हाम्रो हो। हामी सबैकी आमा वा नेपालका साहित्यकार ऋषवदेव घिमिरेको चर्चित कविता ‘रमादेवीको कथा’ की पात्र ८९ वर्षीय हजुरआमाका वरिपरी हामी बस्छौं।

वर्तमानका तीता मिठा कुरा, सामाजिक उत्थानका कुरा, बर्मामा नेपाली साहित्यको अवस्था आदिबारे चर्काचर्की बहस गर्छौँ।

म घरका र छिमेकीका बालबच्चालाई दिनको दुई तीन घण्टा मातृ शिक्षा दिन्छु। साहित्यिक रचनाहरू सिकाउँछु। तयार भएका आफ्ना तीन वटा कविता संग्रहका पाण्डुलिपिलाई पून: सम्पादन गर्दैछु।

‘अगुल्टो’ लघुकथा संग्रहलाई अझ थप गर्दैछु। यी कार्यहरू गर्दा कहिलेकाहीँ मन निराश बन्छ। नेपाली साहित्य अध्ययन गर्ने पाठकको कमी, सरकारी तहमा प्रकाशनबारे समस्या र आफ्नो बोली भाषा साहित्यलाई हेर्ने सामाजिक दृष्टिकोणमा धमिलोपन आदिले उत्साह मरेर आउँछ।

भोलिको सुनौलो बिहानी पर्खेर भोलिका सन्ततीहरूका लागि आफ्ना पाण्डुलिपी दराजमा सुरक्षित राखिदिन अहिलेको बन्दाबन्दी समयलाई सदुपयोग गर्दैछु।

बालबालिकालाई आफ्नो बोली भाषा सिकाउनु, बालबच्चासँग बस्नु मेरो मुख्य रुची हो। शन्तुष्ट पनि हुन्छु। बन्दाबन्दीको सदुपयोग गर्दै कविता रचना गर्न सिकाउने क्रममा धेरै विद्यार्थीमध्ये एक जना विद्यार्थीले हिन्दीमा रचना गरेको निम्न कविता पढेपछि भने बन्दलाई मैले सही सदुपयोग गरेको महसुस भयो।

‘कोरोना’  (बाल कविता)

राधिका न्यौपाने-बर्मा

कोरोना

तु मुझे मत् रूलाना

संसारको मत् डराना

मुझ को मालुम हे

अगर हाम्

साबुन से हात धोएँ तो

तुम् भाग् जाते हो

हाम् माक्स लगाए तो

तुम् डर जाते हो

गरम् पानी से तो

तुम् जल् जाते हो

हाम् अगर सचेत रहे तो

तु सदा के लिए मर् जाते हो।

यसरी विश्वको यो दुःखत पललाई आफ्नै परिवारसँग बसेर आफूले जानेका कुरा सिकाउँदै, हजुरआमाका व्यवहारिक अनुभवहरू सुन्दै व्यथित गर्दैछौं।

मंगलबार, बैशाख ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)